शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु

चार शिक्षक प्रहरी नियन्त्रणमा



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राति मृत्यु भएको हो ।

मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणि जोशीले शिक्षककै कुटाइबाट भाञ्जाको मृत्यु भएको दावी गर्नुभएको छ । उहाँका अनुसार डडेलधुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगञ्जको शिक्षण अस्पताल हुँदै तीन दिनअघि मात्रै कलौनीलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । विद्यालयबाहिर साथीभाइसँंग झैझगडा गरेको विषयलाई लिएर विद्यालयका प्रध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएको छ ।

कक्षा ९ मा अध्ययनरत कलौनीलाई १३ असार (शुक्रबार) विद्यालयमै कुटपिट गरेको उनका बाबु वृहस्पति कलौनीले बताउनुभयो । मृतक कलौनीका बाबुले प्रधानाध्यापकसहितका शिक्षकको कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँ खुट्टा भाँचिएको यसअघि नै जानकारी गराउनुभएको थियो ।

‘मेरो छोरोलाई शिक्षकले विद्यालयमै सामूहिक रुपमा कुटपिट गरे, ‘उहाँले भन्नुभयो, ‘उतिबेला छोराले डरले हामीसंँग भनेन, पछि मात्रै कुटपिट गरेको थाहा भयो’ १५ असार (आईतबार) प्रधानाध्यापक जोशीले आफूलाई टेलिफोन गरेर विद्यालयमा बोलाएर छोरालाई जिम्मा लगाइदिएको उहाँले विवरण दिनुभयो, ‘तपाईको छोराले ठूलो गल्ती ग¥यो, लैजानुहोस् भने, नाबालक छोरा भएकाले प्रहरीमा उजुरी नदिनुहोस् भनेर सिकाए पनि ।’

विद्यालय प्रशासनका अनुसार कलौनीले विद्यालयका अन्य साथीभाइसंँग पनि कुटपिट गर्ने झै–झगडा गर्ने र खुकुरीसमेत प्रहार गर्नेजस्ता कृयाकलाप गरेकाले उनलाई विद्यालयले निकाला गरिदिएको हो । विद्यालयलले उनलाई बाबुको जिम्मा लगाउँदै उनको (टिसी) ट्रान्सक्रिप्ट सर्टिफिकेट र (सिसी) क्यारेक्टरसर्टिफिकेटसमेत दिएर विद्यालयबाट विदाइ गरिदिएको थियो ।

परिवारले पहिला उनलाई डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार गरायो । त्यहाँ उनको खुट्टामा प्लास्टर गरेर थप उपचारका लागि महाकाली अञ्चल अस्पतालमा उपचारका लागि दगियो । त्यहाँ पनि उनको उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित शिक्षण अस्पताल हुँदै भारतीय राममूर्ती अस्पताल पु¥यायो ।

कलौनीको परिवार अहिले शोकमग्न छ, साथै उनलाई कुटपिट गर्ने शिक्षकहरुप्रति आक्रोशित पनि भएको छ् ।

प्रतिक्रिया दिनुहोस्