शौचालय विहीन क्याम्पसमा स्नातक तहसम्मको पढाई



सरिता चलाउन, सल्यान ।
सल्यानको दार्मा गाउँपालिकाको मुकाम फारुलामा रहेको फारुला बहुमुखी क्याम्पस शौचालय विहीन बनेको छ । त्रिभुवन विश्व विद्ययालयबाट सम्बन्धन प्राप्त गरी २०७० सालमा स्थापना भएको फारुला क्याम्पस अहिले मा.वि. फारुलाको जमीनमा रहेका भवनबाट संचालन हुँदै आएको विद्यालयमा शौचालय नहुँदा समस्या भएको छ ।

क्याम्पसको नाममा २ आना जमिन मात्र रहेको छ । क्यामपसमा शौचालय नहुँदा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई समस्या हुने गरेको हो ।

सबैजसो सार्वजनिक निकायमा लैङगिक मैत्रि शौचालय हुनुपर्ने बहस भैरहँदा शैक्षिक जागरण फैलाउने थलो रहेको क्याम्पसमा सामान्य शौचालय नहुँदा आफँुहरुलाइ निकै समस्या पर्ने गरेको क्यामपसमा अध्यनरत विद्यार्थीहरुले गुनासो गरेका छन् ।

क्यामपसमा शौचालय निर्मानका लागि ध्यानाकर्षण गराउँदासमेत शौचालय निर्माण नभएको क्याम्पसका स्ववीयु सचिव दीक्षायात्री केसीले बताउनुभयो । वीएड तह सम्मको पढाई हुने यस क्याम्पसमा स्थापना कालदेखि नै शौचालय नभएको र आर्थिक समस्याका कारण बन्न नसकेको क्याम्पस सहायक प्रमुख दिपक शर्माले बताउनुभयो ।

यता दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले क्याम्पस र मावि एउटै कम्पाउण्डमा भएकाले अर्को छुट्टै शौचालयको त्यति धेरै महत्व नभएको बताउनुभयो । उहाँले माविकै कम्पाउण्ड भित्रैबाट क्याम्पस चलेको र माविकै शौचालय प्रयोग भैरहेको बताउनुभयो ।

तर क्याम्पसको लागि शौचालय बनाउन गाउँपालिकाले बजेट छुट्याइसकेको उहाँले बताउनुभयो । अहिले ७ लाखको एउटा शौचालय बन्दै गरेको र प्रावि पनि त्यहि कम्पाउण्डमा ल्याएर छिट्टै अर्को शौचालय बनाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्