भारत र अमेरिकाका फिल्मकर्मीले पटकथा लेख्न सिकाउने



भारतका रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले नेपाली फिल्मकर्मीलाई पटकथा लेख्न सिकाउने भएका छन्। नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँग मिलेर गर्न लागेको पटकथा लेखन कार्यशालाका लागि स्रोत व्यक्तिका रूपमा रोबिन र जेफ नेपाल आउने भएका हुन्। एकेडेमीका अध्यक्ष केपी पाठकले आगाममी भदौमा हुने कार्याशालाका लागि दुवै जना नेपाल आउन तयार रहेको जानकारी गराएका छन्।

७२ बलिउड फिल्म लेखेका रोबिन भट्ट महेश भट्टका नातेदार हुन्। उनले महेशका धेरैजसो फिल्मसँगै बाजीगर, ओमकारा, कृष, चलते चलते, चेन्नइ एक्सप्रेसजस्ता फिल्म लेखेका छन्। जेफ भने अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन्। रोबिन भट्टले नेपाल आउन आफँ उत्साहित रहेको बताएका छन्। ‘नेपाल आउने रहर पहिलादेखि नै थियो। मेरो लेखनयात्रा नेपालका लेखकसँग बाँड्न म साँच्चिकै उत्सुक छु।’ –उनले भनेका छन्। जेफसँगै मिलेर रोबिनले पटकथा लेखनको शैली र व्याकरण सिकाउनेछन्। एकेडेमीका अध्यक्ष पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला गर्न लागेको बताए। ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो। वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा छ।’ –पाठकले भने।

कार्यशालाको संयोजन लेखक सम्पदा मल्लले गरिरहेकी छिन्। उनले कार्यशाला बिल्कुलै सिकारुका लागिभन्दा पनि कम्तीमा एउटा छोटो फिल्म बनाएका लागि लक्षित गरिएको बताइन्। उनले कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइन्। ‘उत्कृष्ट हुने पटकथाले १ लाख नगद पाउनेछ।’ –मल्लले भनिन्। कार्यशालामा सहभागी हुन इच्छुकले असार मसान्तसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएका छन्। कार्यशाला भने भदौको ४ देखि १० गतेसम्म मकवानपुरमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्