भूमरीमा सरकार



दुई तिहाइको बलमा उभिएको सरकारले गरेको र भनेको भन्दैमा मात्र ती निर्णय एवं बोलीहरु परिपक्व नहुने रहेछन् । सरकारको गराइ र भनाइ सबैको आक्रोशको तारो बनिरहेको छ । यत्रो ‘शक्तिशाली’ सरकार पनि आफ्नो निर्णयबाट कैयौं पटक पछि हट्नुपरेको अवस्था सरकारको अपरिपक्वताको परिचायक हो । आफ्नो अपरिपक्वतालाई आत्मसात् गर्न नचाहने सरकारी हठलाई दुर्भाग्यपूर्ण नै मान्नुपर्दछ ।

पछिल्लो पटक विषादीयुक्त तरकारी र फलफूल रोक्ने निर्णय सरकारको लागि निकै भारी पर्दै गएको छ । सरकारको लागि मात्र नभई उहाँको दलको लागि समेत महँगो पर्दै गएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते सीमा नाकामा तरकारी तथा फलफूल विषादी परीक्षणपछि मात्र भित्र्याउने निर्णय ग¥यो । सो निर्णय कार्यान्वयनमा आएको तीन साता नबित्दै गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय फिर्ता लिएको छ ।

यसलाई भान्सामा विष भित्र्याउने सरकारी अनुमोदनको रुपमा लिइएको छ । यस निर्णयलाई लिएर संघीय संसद्को दुवै सदनमा सरकारको तीव्र विरोध भएको छ । भारतीय पक्षको दबाबमा सो निर्णय फिर्ता लिनुले सत्ता टिकाउने स्वार्थको निम्ति जनताको जीवन खेलबाड गर्न रत्तिभर पनि हिचकिचाउँदैन भन्ने देखाएको छ । सरकारको भारत विरोधी राष्ट्रवादी छविलाई यस निर्णयले उदांगो पारिदिएको छ । सरकारको कथित राष्ट्रवादी र स्वाभिमानको छविलाई यसले प्रश्नको घेरामा राखेको छ । दुई तिहाइ हुँदैमा बुद्धि नपुग्ने रहेछ भन्ने फेरि पुष्टि गरिदिएको छ ।

यस निर्णयले सरकारका निकायहरुबीच समन्वय र पर्याप्त छलफल नभएको देखाउँछ । आपूर्ति मन्त्रालयले विषादी परीक्षणपछि मात्र भित्र्याउने निर्णय ग¥यो । यस निर्णय गर्नुअघि परीक्षण गर्ने कृषि मन्त्रालयसँग समन्वय गरिएन । परीक्षण गरिने भने पनि कृषिसँग पर्याप्त जनशक्ति र प्रविधि थिएन । परीक्षण थालेपछि मन्त्रिपरिषद्ले ठाडंै रोक्यो । सरकारभित्र नै समन्वयको अभावले गर्दा यस्तो अवस्था निम्तिएको हो ।

पछिल्लो समय ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । आइफा अवार्ड, गुठी विधयेक, मिडिया काउन्सिल विधयेक, वन विधेयक, पेट्रोलियम पदार्थ मूल्यवृद्धिको निर्णयलगायत निर्णयहरु निकै विवादित भएपछि कतिपय निर्णयहरु फिर्तासम्म लिनुपरेको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालमा पनि सरकारको निकै आलोचना भइरहेको छ । यस यथार्थलाई सरकारले स्वीकार गर्न नै चाहिरहेको छैन ।

यसले गर्दा विरोधी जम्मै सामन्ती, सरकार विरोधी, सरकार ढाल्ने डिजाइन भन्ने हौवा फैलाएर समस्या समाधानबाट झन्–झन् टाढा हुन खोजेको देखिन्छ । यसले गर्दा सरकार आफैंले खडा गरेको भूमरीमा क्रमशः फस्दै गएको छ । दुई तिहाइको हठ र अहंकारले सरकारलाई क्रमशः खोक्रो बनाउँदै लगेको छ । यसको चाल नपाउनु नै समकालीन राजनीतिको सर्वाधिक ठूलो विडम्बना मान्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्