जात्रै जात्राले मनायो प्रदर्शनको ५१औं दिन



गत जेठको ३ गतेबाट अल नेपाल रिलिज भएको फिल्म जात्रै जात्राले देशका विभिन्न ७ हलमा प्रदर्शनको ५१औं दिन पार गरेको छ। यस अवसरमा फिल्मको टिमले शनिबार राजधानीको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा कार्यक्रमको आयोजना गरी सफलताको खुसीयाली मनाएको छ।

कार्यक्रममा फिल्मका कलाकार, प्राविधिकका साथै वितरक, प्रदर्शक र सञ्चारकर्मीलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो। रवीन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको फिल्मको निर्माण युनिटले कार्यक्रममा नायिका तथा निर्मात्री श्वेता खड्काले आफू र नायक तथा निर्माता पति स्व. श्रीकृष्ण श्रेष्ठको नाममा सञ्चालन गरेको श्वेताश्री फाउन्डेसनलाई १ लाख ११ हजार रुपियाँ सहयोग गरेको छ। अभिनेत्री खड्काले फिल्मको युनिटबाट पाएको मायाले काम गर्न अझै हौसला मिलेको बताइन्।

निर्देशक प्रदीप भट्टराईले फिल्मले पाएको यो सफलताबाट आफूलाई राम्रो फिल्म बनाउन चुनौती बढेको बताए भने कार्यकारी निर्माता बाँनियाले फिल्म टिमको साथ सहयोगका कारण सफलता चुम्न सकेको बताए। जात्रै जात्राको ५१औं दिनको सफलतासँगै निर्देशक प्रदीप भट्टराईले फिल्म निर्देशनमा ५१ दिन प्रदर्शनकै ≈याट्रिक गरेका छन्।

उनले यसअघि निर्देशन गरेको जात्रा र शत्रु गतेले पनि ५१ दिन प्रदर्शनको रेकर्ड कायम गरेको थियो। जात्रै जात्राले हिन्दी फिल्मको अवरोधका बीच ५१औं दिन प्रदर्शनको रेकर्ड बनाउने सफलता पाएको हो। जात्रै जात्राले सलमान खानको फिल्म भारत आउँदा समेत दर्शक पाएको थियो। यो फिल्मले रिलिजकै दिनबाट लगातार हाउसफुलको रेकर्डसमेत राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्