नन्दमायालाई ठाडो भाका साम्राज्ञीबाट सम्मान गरिने



लमजुङ, (नेस)। लमजुङको पहिचान तथा पर्यायका रूपमा रहेको ठाडो भाकामा ख्याति प्राप्त गायिका नन्दमाया दुरालाई ठाडो भाका साम्राज्ञीको उपाधिले सम्मान गरिने भएको छ। ठाडो भाका लोककला प्रतिष्ठान नेपालले दुरालाई सो उपाधि यही असार २७ गते प्रदान गर्ने भएको हो।

ठाडो भाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको दोस्रो अधिवेशनका अवसरमा बेंसीशहरमा आयोजना हुने शुभारम्भ समारोहमा सो उपाधिसहित नन्दमाया दुरालाई उक्त सम्मान प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका महासचिव रूपीन्द्र प्रभावी जोशीले बताए। उनका अनुसार १२÷१३ वर्षको उमेरमै ठाडो भाका गाउन थालेकी उनले आजका दिनसम्म गाइरेहकी छिन्। दुरा ६८ वर्षको उमेरमा पनि उत्तिकै कर्णप्रिय गायन प्रस्तुत गर्छिन्।

शुरूका दिनमा लमजुङकै कुन्छाका ठकुरी थरका व्यक्तिसँग गाउने गरेको र पछि भेडीखर्के साइँलाका साथमा गाएको उनले बताइन्। उनले गाएको ठाडो भाका गीत २०४८ सालमा पहिलो पटक रेडियो नेपालले रेकर्ड गरेको दुराले बताइन्। त्यतिबेला पाण्डव सुनुवार र युक्त गुरुङको सहयोगमा त्यो गीत रेकर्ड गराएको उनले जानकारी गराइन्। त्यसपछि तीन पटक रेडियो नेपालमा गएर गीत गाएको सम्झना रहेको उनले बताइन्।

महासचिव जोशीका अनुसार सो उपाधि प्रदान गर्न प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतरूपमा निर्णय गरेको हो। समाजसेवी नरेन्द्रराज ढुंगानाले आफ्नी आमाको नाउँमा स्थापना गरेको अक्षयकोषको ब्याजबाट सो सम्मान प्रदान गरिने भएको हो। तत्कालका लागि उक्त सम्मानको राशी सम्मानपत्र, दोसल्ला र ५ हजार ५ रुपियाँ नगद रहेको छ।

आफ्नो सिंगो जीवन कला, संगीत तथा संस्कृतिका संरक्षण प्रवद्र्धनमा खर्चिएका अग्रजहरूको सम्मानका लागि नागरिकस्तरबाट प्रदान गरिने यस्तो सम्मानलाई नगदसँग तुलना गर्न नहुने प्रतिष्ठानका अध्यक्ष पहाडीले बताए।

प्रतिक्रिया दिनुहोस्