रोहितको पाँचौं र वार्नरको तेस्रो शतक



लन्डन, (एजेन्सी)
इंग्ल्यान्डमा जारी क्रिकेट विश्वकपमा भारतीय ओपनर रोहित शर्माले पाँचौं र अस्टे«लियन ओपनर डेविड वार्नरले तेस्रो शतक प्रहार गरेका छन् ।
शनिबार भएको खेलमा रोहितले श्रीलंकाविरुद्ध १ सय ३ रन बनाएका हुन् । यो खेल भारतले जितेको थियो । १५ अंकसहित शीर्ष स्थानमा रहेको भारतले सेमिफाइनलमा चौथो स्थानमा रहेको न्युजिल्यान्डविरुद्ध बिहीबार खेल्नेछ ।

जारी प्रतियोगितामा रोहितले एकै विश्वकपमा ५ शतक प्रहार गर्ने नयाँ कीर्तिमान बनाए । यसअघि २०१५ को विश्वकपमा श्रीलंकाका कुमार सांगकाराले ४ शतक लगाएर कीर्तिमान राखेका थिए । उनले एउटै विश्वकपमा सबैभन्दा रन बनाउने नयाँ कीर्तिमान बनाउन अग्रसर छन् । उनले ८ खेलबाट ५ शतक र २ अर्धशतकसहित ६ सय ४७ रन बनाइसकेका छन् ।

यसैगरी वार्नरले दक्षिण अफ्रिकाकाविरुद्ध १ सय २२ रनको शतक प्रहार गरे । तर उनको शतकबावजुद अस्टे«लिया दक्षिण अफ्रिकासँग २७ वर्षपछि विश्वकपमा पराजित भयो । वार्नरले प्रतियोगितामा तेस्रो शतक प्रहार गरेसँगै ९ खेलबाट ६ सय ३८ रन बटुलिसकेका छन् । बुधबार हुने सेमिफाइनल खेलमा वार्नरले इंग्ल्यान्डविरुद्ध नयाँ कीर्तिमान रच्न सक्नेछन् ।

एउटै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान भारतकै सचिन तेन्दुलकरको नाममा छ । उनले २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए । हाल उनको कीर्तिमान तोड्न रोहित र वार्नर निकट छन् ।

ताहिर र डुमिनीको संन्यास
दक्षिण अफ्रिकाले जितबाट जारी विश्वकपको यात्रा टुंग्यायो । यो विश्वकप दुई खेलाडीका लागि अन्तिम रह्यो । यो जितसँगै दक्षिण अफ्रिकाका सफल स्पिनर इमरान ताहिर र ब्याटसम्यान जेपी डुमिनीले वानडेबाट संन्यास लिएका छन् । ताहिरले यो विश्वकपमा ९ खेल खेले । जसमा उनले ११ विकेट हात पारेका थिए । उनले वानडे करिअरमा १ सय ६ खेलबाट १ सय ७२ विकेट लिएका छन् ।


यसैगरी डुमिनीको लागि यो विश्वकप त्यति खास रहेन । उनले अन्तिम वानडे खेलमा १४ रन बनाएर जारी विश्वकपमा कूल ५९ रन मात्रै बटुल्न सकेका थिए । उनले दक्षिण अफ्रिकाका लागि १ सय ९८ वानडेमा ५ हजार १ सय ३ रन बनाएका छन् । साथै उनले बलिङमा ५९ विकेट लिएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्