‘छौडा’को मिसाइल आक्रमण



आइतवार बिहानै पीएम ओलीका मुख्य राजनीतिक सल्लाहकारको ‘छौडा’ आतंकले सामाजिक सञ्जालमा ठूलै हल्ली खल्ली भयो । देशभर अविरल वर्षाका कारण बाढीपहिरोको खतरा मचाई रहेका बेला कम्रेड रिमालको ‘छौडा’ मिसाइलले फेरि एकपटक नराम्रोसँग तर्साएको छ ।

रिमालले प्रहार गर्न खोजेको ‘छौडा’ गुलेली कोप्रति लक्षित थियो भन्ने स्पष्ट नभए पनि धेरैलाई ‘छौडा’को मट्याङग्राले त्रसित बनाएको धरहराको दुरविनबाट प्रष्टै देखिएको छ । अरु त अरु आफ्नै पार्टी निकटका नेता कार्यकर्तासँग समेत असाध्यै असहिष्णु तरिकाबाट प्रस्तुत हुने रिमालको शब्दबाण प्रधानमन्त्रीको भारदारी परिषद्को पछिल्लो ‘छौडा’ प्रहारले कस्का ‘छौडा’ कति सक्रिय रहेछन् भन्ने कुराको स्पष्ट सन्देश दिएको पाइएको छ ।

हुन त यसपटक ‘छौडा’ छोड्ने काम एकाबिहानै भएको छ । किम्वदन्तीअनुसार ‘छौडा’ रातिमा छोड्ने बताइन्छ । यसपटक रातिमा ‘छौडा’ छोडिएको भए त्यतिको चर्चा नहुन सक्थ्यो । विहान छोडिएकाले ‘अरिंगाल’ र ‘हरेउ’ जस्तै ‘छौडा’ ले पनि दीर्घकालीन चर्चा पाउनेछ । कहिले काहीँ ‘अरिंगाल’, ‘हरेउ’ र ‘छौडा’ जस्ता शब्द सिर्जनाले ‘पाडो लाटो भएर दूध खान्छ, काग बाठो हुँदा दिसा खान्छ’ भन्ने उखानलाई चरितार्थ पार्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्