विश्व सम्पदा सूचीः दुईवटा स्थान छनौट गरेकामा पोर्चुगलको स्वागत



लिस्बन ।
पोर्चुगाली नेताहरुले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले पोर्चुगलका दुई स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेकामा त्यसको स्वागत गरेका छन् ।

युनेस्कोले माफ्रा राजदरबार र ब्रागास्थित बोम जेसुसलाई विश्व सम्पदा सूचीमा राखेको घोषणा गरेको थियो । अजरबैजानको बाकुमा सञ्चालन भइरहेको युनेस्कोको ४३औं सभाका अवसरमा उक्त घोषणा गरिएको थियो । जुन ३० मा शुरु भएको सभा यही जुलाई १० सम्म चल्नेछ ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सौसाले जारी गर्नुभएको वक्तव्यमा पोर्जुगाली नागरिकहरुका लागि यो अति नै खुशीको क्षण भएको बताउनुभएको छ ।

“यो निर्णयसँगै विश्व सम्पदा समितिले दुई वटा पोर्चुगाली सांस्कृतिक सम्पत्तिलाई विश्व सम्पदा सूचीमा राखेको छ । यो सँगै विश्व सम्पदा सूचीमा सूचीकृत पोर्चुगलका सम्पदाको संख्या १७ पुगेको छ । यो स्थानीय पोर्चुगालीको मात्र होइन मानवको जीवन्त इतिहासको संरक्षण हो,” उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले पनि ट्वीट गर्दै युनेस्कोको निर्णयको स्वागत गर्नुभएको छ ।

युनेस्को विश्व सम्पदा सूचीमा हाल १६७ मुलुकका एक हजार ९२ स्थान सूचीकृत छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्