पानी पार्न मोरङमा भ्यागुताको विवाह



सरोज यादव, विराटनगर । मध्य असार बितिसक्दासमेत वर्षा नभएपछि वर्षा यतिबेला किसानहरु चिन्तित छन् । पानी नपरेपछि फुर्सदिला बनेका मोरङका किसानले वर्षा होस् भन्ने कामनासहित भ्यागुताको विहे गरेका छन् ।

मोरङ रंगेलीका किसानहरुले चिसाङ खोलाको किनारमा रहेको संसारी माईस्थान मन्दिरमा विधिवत रुपमा भाले भ्यागुता र पोथी भ्यागुताको विवाह गरेका हुन् । वैवाहिक कार्यक्रम नै बनाएर भ्यागुताको विहे गरेको स्थानीय किसानले बताएका छन् । भ्यागुताको विहे गरेपछि पानी पर्छ भन्ने विश्वासका आधारमा भाले र पाथी भ्यागुताको विधिवत रुपमा विहे गरिएको स्थानीय किसान रमेश यादवले बताउनुभयो ।

मन्दिरका पुजारीले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फबाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रृगारका सामान लगाएर वेहुलिझै सिगारिएको थियो । भ्यागुताको विवाह गर्दा वर्षा हुने जनविश्वास रहिआएकाले किसानहरु सामूहिक रुपमा भेला भई विवाह सम्पन्न गरेका हुन । रंगेली नगरपालिकाका ७ का रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठलेले वेहुला र वेहुली पक्षको भुमिका निर्वाह गर्नु भएको थियो ।

मण्डलले कृषिप्रधान मुलुुकमा पानी नपरेका कारण किसान निराश भएकाले केही उपाय नलागेकाले वर्षा गराउन सकिन्छ भनेर भ्यागुुतोको विवाह गरेको बताउनुुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले वर्षा गराउन विगतमा पनि इनारको विवाह, भ्यागुुताको विवाह गर्ने चलन रहेकाले पनि आफुुहरुले यस्तो वैवाहिक कार्यक्रम राखेको प्रष्ट पार्नुुभयो । कार्यक्रममा रंगेली, सुनवर्सी नगरपालिका तथा धनपालथान गाउँपालिकाका किसानको सहभागिता थियो ।

समयमा वर्षा नभएका कारण मोरङमा हालसम्म करिब २० प्रतिशतमात्र धान रोपाई भएको छ । अघिल्लो वर्ष मोरङमा यो अवधिमा ४० प्रतिशतभन्दा वढि रोपाई भएको थियो । यता १ नं. प्रदेशका प्रदेशसभा सदस्य एव लेखा समिति संयोजक शिवनारायण सिंह गनगाईले नहर र कुलो नपुगेका कृषकको समस्यालाई मध्यनगर गरेर कृषकहरुलाई सिचाईको सुविधा पुर्याउन आफूले पहल गरिरहेको बताउनुभयो ।

निरन्तर वर्षा हुने असार महिनामा वर्षा नभएपछि वर्षा हुने आशमा भ्यागुताको विवाह गरेको रगेलीका किसान ईश्वर पोखरेलले बताउनुभयो । असार तेस्रो साता बितिसक्दा पनि पानी नपरेपछि बाध्य भएर जनविश्वासमा आधारित भ्यागुताको विहे गर्नु परेको किसानहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्