राजसंस्थासहितको गोलमेच सम्मेलन हुनुपर्दछ



अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा एउटा फरक धारको राजनीति गर्ने पाटीको रुपमा चिनिन्छ । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकमा मात्रै २५ सिट ल्याउन सफल भएको राप्रपाले २०६४ सालमा सम्पन्न भएको निर्वाचनमा भने एक सिटभन्दा अरु ल्याउन सकेन ।

हालै सो पार्टीले मुक्तिनाथदेखि गोरखासम्मको जागरण यात्रा पनि सम्पन्न गरेको जनाएको छ । नेपाल समाचारपत्रका पर्सा संवाददाता कृष्णउदास खनालले राप्रपाले हाल सञ्चालन गरिरहेको राजनीतिक गतिविधिका विषयमा केन्द्रित रहेर सो पार्टीका केन्द्रीय अध्यक्ष कमल थापासँग गर्नुभएको कुराकानी 

अहिले राप्रपाले के गरिरहेको छ, अध्यक्षज्यू ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापनासहित विभिन्न २२ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएका थियो र हामीले ती माग पूरा नभए हामी आन्दोलनमा जान्छौं भनेका थियौं, पहिलो चरणको आन्दोलन पनि हामीले गरिसकेका छौं । त्यसपछि सरकारले ती मागको सम्बोधन गर्नका लागि वार्तामा बोलाएको छ र अहिले हामी सरकारसँगको वार्तामा छौं । केही समय हामी सरकारसँगको वार्तामा रहन्छौं र यदि हाम्रो माग पूरा भएन भने दोस्रो चरणको आन्दोलनमा जानुको विकल्प हुनेछैन । दोस्रो चरणको आन्दोलनको तयारी गरिरहका छौं ।

यहाँहरुको माग भनेको के हो, यो आम नागरिकलाई बताइदिनुस् न ?
यसमा हामीले विभिन्न २२ बटा माग समावेश गरेका छौं । पहिलो नम्बरमा धर्म निरपेक्षको खारेजीको माग गर्दै हिन्दुराज्य स्थापनाको माग गरेका छौं र दोस्रो नम्बरमा राजसंस्थासहितको लोकतन्त्र कायम गर्नका लागि सर्वपक्षीय गोलमेच सम्मेलन कायम गरियोस् भन्ने छ । त्यसै गरी तेस्रो नम्बरमा संघीयता कार्यान्यनको सवालमा देखा परेको जटिलतालाई दृष्टिगत गर्दै संघीयता बारे जनताको जनमत गर्न राष्ट्रिय जनमत संंग्रह गरियोस् भन्ने छ ।

यो मूल सैद्धान्तिक माग हो भने यसका अलवा राष्ट्रिय सरोकारका मागहरु जस्तै भारतसँगको १९५० को सन्धिलाई विस्थापित गरी नयाँ सन्धि गरियोस् । अतिक्रमित सीमाहरु फिर्ता गरियोस् भन्ने छ । यसका साथै अहिले भ्रष्टचार महारोगको रुपमा देखा परेको छ । २०४७ सालपछि चरम भ्रष्टाचार मौलाएको छ । उच्च तहमा रहेका कर्मचारी, नेता सबैको सम्पत्ति छानविनका लागि यसका लागि एक उच्चस्तरीय छानविन समिति बनाइयोस् । यसरी नै एनसेल कर छली प्रकरण, नेपाल वायु सेवा निमगमको वाइडबढी काण्ड, ३८ किलो सुनकाण्ड, सार्वजनिक जग्गा व्यक्तिको नाउँमा ल्याउने भूमाफियालाई कारबाही गरियोस् भन्ने माग छ । गरिबी र बेरोजगार अन्त्यका लागि पहल गरियोस् र गौ रक्षाका लागि प्रत्येक गाउँपालिका र नपामा एउटा गौशाला निर्माण गरियोस् भन्ने आम जनसरोकारका माग रहेका छन् ।

तपाईं आफैं पटकपटक सरकारमा सहभागी हुनुभयो तर यी कुरा तपाईंले किन उठाउनुभएन ?
पहिलो कुरा त हामीहरुको सरकारममा सहभागिता सांकेतिक रुपमा मात्रै रहँदै आयो । हामीले सरकारको नेतृत्व गरेको होइन तर सरकारमा सहभागी मात्रै भएको हो । केही मन्त्रालयको जिम्मेवारी मात्रै लिएका हौं । यद्यपि हामी सरकारमा सहभागी भएका चाहिँ हौ । त्यसकारण त्यो जिम्मेवारीबाट पन्छिन त मिल्दैन । त्यति बेला पनि हामीले केही कुरा उठाएका हौं र केही पूरा पनि भएका हुन् र अहिले सडकमा छौं सडकबाट सरकारलाई दबाब दिइरहका छौं ।

दोस्रो चरणको आन्दोलन कहिलेदखि गर्दै हुनुहुन्छ ?
यो सरकारमा भर पर्ने कुरा हो । सरकारसँग केही चरणको वार्ता भएको छ । अब चाँडै नै अर्को चरणको वार्ता हुने विश्वासमा हामी छौं । हाम्रो सबै माग सरकरले एकैपटक पूरा गर्छ भन्ने हामीलाई लाग्दैन तर जनसरोकारसँग जोडिएका माग पूरा हुनुपर्दछ भन्ने हाम्रो माग हो । यदि यी माग पूरा नभए हामी संघर्षमा जान्छौं । मलाई लाग्छ, यो बिषयमा केही दिनमा निर्णय हुन्छ ।

यहाँहरुले हालै मुक्तिनाथदेखि गोरखासम्मको जागरण अभियान चलाउनुभयो, यसकोे उद्देश्य के थियो ?
हामीले सरकारसमक्ष पेस गरेको मागको विषयमा जनतालाई जानकारी गराउने र सरकारलाई सशक्त दबाब दिने हाम्रो कार्यक्रमको उद्देश्य हो ।

सरकारलाई दबाब प¥यो त यो अभियानले ?
सरकारलाई कत्तिको दबाब प¥यो यो त म यसै भन्न सक्दिनँ । तर, आम जनमासनमा भने अत्यन्तै सकारात्मक प्रभाव परेको छ । खास गरी नेपाललाई हिन्दुराष्ट्र बनाउन, बेरोजगारी समस्या समाधान गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा जनतामा राम्रो प्रभाव परेको मैले पाएको छु । हामी जहाँ जाँदा पनि जनताले सद्भाव, समर्थन र एक्यबद्धता जनाएको पाएका छौं ।

अध्यक्ष ज्यू,यहाँले र्दुइवटा कुरा उठाउनुभएको छ,खासगरी हिन्दुराज्य र राजसंस्थाको कुरा उठाउनुभएको छ । अहिले मुलुकमा गणतन्त्र छ,गणतन्त्रमा यो माग संभव होला र ?
हेर्नुस्,मुलुक अहिले संघीय गणतन्त्रमा रहेको कुरा मलाई राम्रैसँग थाहा छ । नेपालमा बेरोजगारी समस्या समाधान गर्न सक्यो भने, शान्ति सुरक्षा दिन सक्यो भने, जनताको मुखमा हाँसो र उज्यालो ल्याउन सकेको खण्डमा हाम्रो माग यसै पनि ओझेल परेर जानेछ । तर, हेर्नुस् विगत १३ वर्षको अवधिमा नेपालमा समस्या छ ।

हिन्दुराज्य र राजसंस्थालाई पाखा लगाएको करिब १३ वर्ष भयो तर जनतको मुहारमा हाँसो आउन सकेको छैन । हाम्रो एजेन्डा अहिले नै पूरा हुने अवस्था नभए पनि नेपालको राष्ट्रिय राजनीतिमा हाम्रो एजेन्डा एउटा सशक्त विकल्पका रुपमा छ र यो पहिलाभन्दा अहिले अझ बढेको छ भन्ने लाग्छ हामीलाई । नेपालको सनातन धर्महरु हिन्दु, बुद्ध र किरातलाई अझै सशक्त बनाउनुपर्छ भन्ने लागेको छ र यसमा राम्रो जनमत पनि खडा भएको छ ।

राजतन्त्रको तुलनामा त गणतन्त्रमा विकास बढी भएको छ नि होइन र ?
जहाँसम्म विकासको कुरा छ, त्यो त मलाई लाग्छ अहिले हामीले सन्तुष्ट हुने ठाउँ छैन । बाटोघाटो बनेका छन्, पुल बनेका छन् तर समग्रमा देशको अर्थमन्त्रको धरातल निकै कमजोर छ । नेपालको अर्थतन्त्र भनेको हामीले विदेशमा पठाएको छाराछोरीको रकमबाट चलिरहेको छ । अहिले पनि देशको कुल ग्राहस्थ उत्पादन झन्डै ४० प्रतिशत विदेशमा रहेर काम गरिरहेका रगत पसिना बगाएका नेपालीबाट चलिरहेको छ ।

भोलि कुनै मुलुकमा आर्थिक मन्दी आयो र रोजगारीको अवसर बन्द भयो भने त्यसको सिधार असर नेपालको अर्थ जगत्मा पर्दछ । त्यस कारण हाम्रो अर्थ जगत्को जग बलियो छैन । विकास र आर्थिक समृद्धिको कुरा छ, अहिलेको सरकारले त्यता ध्यान दिएको छैन । हुन त राजा आउनेबित्तिकै जादुको छडी जसरी परिवर्तन हुन्छ भन्ने मेरो भनाइ पनि होइन । हिजो एकदमै राम्रो थियो भन्ने पनि होइन । राजसंस्थासहितको लोकतन्त्र हुनुपर्छ भन्नुको मतलव नेपालमा अभिभावको अवस्था रहेन भन्ने पनि हो । हामीलाई कहिलेकाहीं चिन्ता लाग्छ, मुलुक अभिभावकविहीन जस्तो बनेको छ । राष्ट्रियता खतरामा परेको छ । मुलुकलाई अभिभाकत्व प्रदान गर्नका लागि पनि राजसंस्था आवश्यक छ भन्ने हाम्रो भनाइ हो ।

राष्ट्रपति संस्था त छ नि अभिभावकका रुपमा ?
पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीसँग व्यक्तिगत रुपमा मेरो केही भनाइ छैन । तर, यो पार्टीको टिकटबाट बनेका कारण सिद्धान्ततः राजसंस्था र राष्ट्रपति के आवश्यक यो बहस होइन । मूल कुरा देशको भूगोल, जनताको चाहनाअनुसार गर्नुपर्दछ । कतिपय धनी देशमा राजसंस्थासहितको प्रजातन्त्र छ भने कतिपय देशमा गणतन्त्र पनि राम्रो छ । तर, नेपालको सवालमा लोकतन्त्रमा राजसंस्था रहन सक्छ । नेपालको एकीकरणमा राजसंस्थाको महत्वपूर्ण भूमिका छ । त्यसैले कम्तीमा अभिभावको रुपमा सेरेमोनियल हिसाबले राजसंस्था रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

अनि नारायणहिटी दरबार हत्याकण्डका विषयमा त तपाईंले खासै बोलेको सुनिँदैन नि ?
हामीले धेरै पटक यो कुरा उठाएका छौं । जसले यो विषयमा कुरा गरेका छन् । जसले आशंका गरेका छन् । उनीहरुले यो कुराको अनुसन्धान गर्नुपर्दछ भन्ने लाग्दछ ।

अन्त्यमा, अब हुने निर्वाचनमा तपाईं फेरि मकवानपुरबाट नै निर्वाचन लड्ने सोचमा हुनुहुन्छ कि ?
मकवानपुरका जनताबाट मैले अन्त्यन्तै न्यायो माया, ममता र स्नेह पाएको छु । आज म जुन अवस्थामा छु, जुन व्यक्तित्व मैले पाएको छु त्यो मकवानपुरकै जनताको स्नेहबाट पाएको छु । मैले पटक पटक जनताको साथ पाएर पनि चुनाव हारेको छु । जनताको सद्भाव रहँदारहँदै पनि चुनाव अनुकूल भएको छैन । मैले अझै हरेश खाएको छैन । मेरो अभियान भनेको देशमा राष्ट्रवादी शक्ति बनाउने मेरो लक्ष्य रहेको छ । कांग्रेस र कम्युनिस्टको विकल्पको पार्टीका रुपमा उभ्याउने मेरो लक्ष्य रहेको छ । मेरो अभियान यसैमा रहनेछ । आगामी चुनावमा उठ्ने, नउठ्ने कुरा त पछि पार्टीले निर्णय लिनेछ ।

प्रतिक्रिया दिनुहोस्