पाकिस्तानी क्रिकेटर शोएब मलिकले लिए सन्यास



काठमाडौं । पाकिस्तानका क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

आफ्नो २० वर्षे वन डे करियरलाई विश्राम दिँदै मलिकले सन्यासको घोषणा गरेका छन् । क्रिकेट विश्वकपमा बंग्लादेशसँगको खेलपछि उनले सन्यासको घोषण गर्दै उनले भनेका छन्, ‘वर्ल्ड कपपछि वन डे करियरबाट सन्यास लिन्छु भनेर मैले पहिले नै भनेको थिएँ, आज म यहाँ यसको घोषणा गर्दछु । मेरा फ्यानहरुलाई धन्यवाद जसले मलाई समर्थन गरे । म सबैलाई माया गर्छु ।’

शोएब मलिकले सन् १९९९ अक्टुबरमा वेष्टइन्डिजविरुद्धको खेलबाट वन डे करियर सुरुवात गरेका थिए । उनले पाकिस्तानका लागि कुल २८७ खेल खेले । नौ शतक र ४४ अर्धशतकका साथ उनले ७ हजार ५ सय ३४ रन बनाए । उनले १५८ विकेट पनि लिए ।

शोएब मलिक पाकिस्तानको टेस्ट र टी-२० टिमको सदस्य पनि रहे । उनले कुल ३५ टेस्ट म्याच खेले भने तीन शतक र ८ अर्धशतकका साथ कुल १ हजार ८९८ रन बनाए । १११ टी(२० म्याचमा उनले सात अर्धशतकका साथ २ हजार २६३ रन बनाए ।

शोएब मलिकले अन्तिम वन डे जारी विश्व कपमा भारतविरुद्ध १६ जुन खेलेका थिए । यो म्याचमा उनी पहिलो बलमै शून्य रनमा आउट भएका थिए । त्यो खेलमा पाकिस्तान ८९ रनले पराजित भयो ।

भारतविरुद्धको खेलमा पराजित भएपछि ३७ वर्षीय मलिक आलोचकको निशानामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्