नयाँ कलेजमा ‘नयाँ मिडिया’ छ ?



Group of young people using digital tablet and smart phone outdoors.

कपिल काफ्ले,
माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) को परिणाम सार्वजनिक हुने क्रमसँगै बदलिने शैक्षिक गतिविधिमा न्यु मिडियाको हात कति छ ? २१औं शदाब्दीको आगमनसँगै छाएको इन्टरनेटमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थी कसरी पौडिरहेका छन् ? के उनीहरूलाई विद्यार्थी बनाउन चाहने कलेजहरूले नयाँ मिडियालाई जुन सघनताका साथ सदुपयोग गर्न सक्थे, गरेका छन् ? यी प्रश्नको जवाफ खोज्नु यस आलेखको उद्देश्य रहेको छ।

एप्लाइड मेनेजमेन्ट एन्ड इन्टरपे्रनरसिप नामको जर्नलमा प्रकाशित सोसल मिडियाको प्रभावसम्बन्धी आलेखमा यसका कारण व्यापार–व्यवसायमा पर्ने प्रभावको व्याख्या गरिएको छ। जर्नलका अनुसार नयाँ मिडियालाई जसले जति बढी प्रयोग गर्छ सफलता उसकै हातमा आउँछ। सञ्चारमा नयाँ सूचना प्रविधिको प्रयोगको प्रतिशत जसरी बढिरहेको छ, उसको सफलता–अफलता पनि त्यसकै वरिपरि घुमेको छ।

आज विश्वमा व्यवसायको जुन तीव्र गतिले विकास भएको छ, त्यसमा सूचना प्रविधिअर्थात् आइटी नेटवर्कको भूमिका आधारभूत बन्न पुगेको छ। किनभने सूचना प्रविधिको प्रयोग गर्न जान्नेहरूकै व्यवसायले सफलताले शिखर छोएको छ।

नयाँ मिडिया आज विज्ञापन गर्ने नयाँ माध्यम बनेको छ। समाजसेवाका लागि पनि सामाजिक सञ्जालको प्रयोग भएको छ। स्मार्टबोर्डको प्रयोग गरेर कतिपय कलेज तथा स्कुलले क्लासको पढाइ चलाएका छन्, यसबाट विद्यार्थीले पुरानो कक्षालाई फर्केर हेर्न मिल्ने भएको छ।

तर, स्मार्टबोर्डलाई शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्ने र खास गरी यसको पूर्ण सदुपयोग गर्ने शैक्षिक संस्था भने निकै थोरै छन्। अधिकांश निजी क्षेत्रकै नाम चलेका कलेजहरूमा पनि वेबसाइट अपडेट भएको पाइन्न, कतिको त वेबसाइट नै छैन।

जब कि राम्रो वेबसाइट र त्यसमा निरन्तर र नियमित अपडेट गर्ने अनि त्यसलाई फेसबुक–ट्विटर जस्ता सामाजिक सञ्जालमा लिङ्क गर्ने दक्ष जनशक्तिमा लगानी गरेका कलेजहरूले प्रारम्भिक विषयको प्रवद्र्धनका लागि मूलधारका सञ्चारमाध्यमसम्म पनि आउनुपर्दैन। हो, विशेष कार्यक्रम र योजना छ र व्यापक प्रचारमा जानुछ भने यसको विकल्प रहन्न। तर, यसरी गरिने विज्ञापनमा पनि वेबसाइटको लिङ्क अब अनिवार्य भइसकेको छ।

सोसल नेटवर्किङ नबुझीकन नयाँ मिडियाका विषयमा प्रस्ट हुन सकिन्न। मेरियम वेब्सटर डिक्सनरीका अनुसार विद्युतीय सञ्चारको त्यस्तो स्वरूप जसमा अनलाइनका माध्यमबाट सन्देश, विचार, सूचना आदान–प्रदान गर्न सकिन्छ, यसलाई सोसल नेटवर्किङ भनिन्छ। यस्तो मिडिया व्यक्तिगत, सामूहिक र संस्थागतरूपमा सञ्चालन गर्न सकिन्छ। खास गरी रोजगारी, व्यापार–व्यवसायको विकासका लागि यसको प्रयोग निकै उपयोगी सावित हुन्छ।

इन्टरनेटका कारण सञ्चार गर्ने कार्य निकै सहज भएको छ। वस्तुतः आजको युगमा जति पहिला सञ्चार सहज कहिल्यै भएको थिएन। आज जुन स्तरको सहजता प्राप्त भएको छ, यसको अनुमानसम्म पनि ५० वर्षअघि थिएन। इन्टरनेटको प्रारम्भ १९६० को दशकबाट भयो, तर सर्वसाधारणको पहुँचमा यो आइपुग्न १९९१ सम्म कुर्नुपर्यो। अनलाइनमा रहेका कम्प्युटरबीच एकबाट अर्कोमा सन्देशको आदान–प्रदान गरेर इमेल पठाउने कार्य शुरू भएपछि सञ्चारको दुनियामा क्रान्तिकारी परिवर्तन आयो।

धेरै सोसल नेटवर्किङ साइटहरू १९९० को दशकमै खोलिए– सिक्स डिग्रिज, ब्लाकप्लानेट, एसियन एभिन्यु र मुभअन यसै समयका उपलब्धि हुन्। एक्काइसौं शदाब्दीको पहिलो दशकमा सोसल मिडियाले विशिष्टिकृत स्वरूप लिन शुरू गर्यो, विशेष रुचिका समूहहरू बन्नथाले र एक–आपसमा पेसा र सीपको आदान–प्रदानको वातावरण बन्यो। यसै समयदेखि शिक्षा, संगीत, चलचित्र र अन्य रुचिका विषयमा अन्तरक्रिया बढाउने गरी सोसल मिडियाको प्रयोग हुन थाल्यो।

यसै समयमा विकिपिडियाले आफ्नो यात्रा शुरू गरेर छिटै उचाइ हासिल गरेको हो। माइस्पेस, लिङ्क्डइन जस्ता धेरै सामाजिक सेवाले आफ्नो बजार बनाए। सन् २००४ मा जन्मिएको फेसबुक, अर्को वर्ष आएको याहु, युट्युबआदिले आज विश्वव्यापी बजार बनाइसकेका छन्। यी आदिको सदुपयोग अधिकाधिक गर्नु हाम्रा लागि चुनौती र अवसर दुवै हो।

युट्युब खोलेर बढाउनुस्, ज्ञानका लागि गुगल खोज गर्नुहोस्, दूर शिक्षा विधिको प्रयोग गर्दै घरमै बसेर शैक्षिक स्तर बढाउनुस्– आज यो सबै सम्भव छ, पहिला यसको कल्पनासम्म कसैले गर्ने अवस्था थिएन। अभिभावकसँग सोधेर र गुरुहरूलाई उनीहरूको अवस्था बुझेर र सन्दर्भ मिलाएर प्रश्न गरेपछि मात्र जानकारी पाउने अवस्था आज छैन।

यौन शिक्षादेखि आध्यात्मिक ज्ञानसम्मका लागि इन्टरनेट माध्यम बनेर आएको छ जसको मार्ग हुँदै इन्जिनहरूलाई काम लगाउन सकिन्छ। उसले तत्काल सिंगो पुस्तकालय, विशाल चलचित्र उद्योग र कला संग्रहालय सामुन्यमा प्रकट गराइदिन्छ। तर, जति सम्भावना छ, त्यसको अनुपादमा हाम्रा विद्यालय र कलेजहरूले निकै थोरै मात्र यसको सदुपयोग गरेका छन्।

यसो हुनुमा प्रमुख दुई कारण छन्– एउटा भिजनको कमी र अर्को गोश्वारा हुलाककै जमानाका क्षिक्षक। पेन्सन पाकिसक्यो र कपाल पनि फुलिसक्यो, तर नयाँ मिडियामा ज्ञान फुरेको छैन। सायद उनीहरूले इन्टरनेट नामको मुक्तिनाथको दर्शन नगरीकनै चोला बदल्ने प्रण गरेका छन्।

यस्तो मानसिकताका व्यक्ति शैक्षिक संस्थामा रहेसम्म एसर्ईईका विद्यार्थीलाई निराश पार्ने आफ्नै विद्यालय, परिवेश र गुरूप्रति निराश बनाउने वातावरण मात्र तयार हुनेछ। परिणामतः यसले नयाँ पुस्तालाई आफ्नै मुलुकप्रति उदासीन बनाउँछ।

नयाँ पुस्ताको रुचि नयाँ मिडियामा छ भन्ने सत्य नबुझ्ने विद्यालयले विद्यार्थी पाउन सक्तैन, पाउनु पनि हुन्न। समयको माग नबुझ्ने कलेज कसरी नयाँ पुस्ता वा देशका कर्णधारको मार्गनिर्देशक हुन सक्छ ?

प्रतिक्रिया दिनुहोस्