कलेज छनोट गर्दा आइलाग्ने १० चुनौती



ओमशंकर श्रेष्ठ,
माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेपछि कलेज छान्नु निकै कठिन काम हुन आउँछ। कलेज छनोट गर्ने कार्यले जीवनको पेसा–व्यवसाय–पहिचानको दिशा नै बदलिने भएकाले यसलाई सामान्यरूपमा लिनु पनि हुन्न। यहाँ कलेज छनोट गर्दा आउने १० चुनौतीलाई सूत्रबद्ध गरिएको छ ः

१) घरदेखि कलेज कति टाढा छ भन्ने अर्थ हँुदैन। यस्तो बेला कलेजसम्म पुग्ने यातायातको साधन छ वा छैन र आफ्नो बजेटले भ्याउँछ वा भ्याउँदैन भन्नेबारे ध्यान दिनुपर्छ। दूरीभन्दा आफ्नो कलेज रहेको स्थानको महत्वमाथि ध्यान दिनुपर्छ। धेरै समय त्यहाँ बिताउनुपर्ने भएकाले त्यहाँको वातावरणले तपार्इंलाई पक्कै प्रभावित पार्दछ। तर, दूरी जति नजिक भयो उति फाइदा हुन्छ। यसले पढाइका लागि समय जोगिन्छ। कलेजवरपर आधुनिक सुविधाहरू भएको खण्डमा खालि पिरियडमा समयको सदुपयोग गर्न सकिन्छ। साथै कुनै कलेजले जमानामा आफूले गरेको सफलता र उपलब्धिलाई विज्ञापनका रूपमा भजाएर खाने तर वास्तवमै वर्तमान स्थितिमा त्यहाँको गुणस्तर नभएको पनि हुन सक्ने कुरामा अभिभावक सचेत हुनुपर्दछ।

२) आफू जान लागेको कलेजले वर्षमा कति वटा खेलकुद प्रतियोगिता जित्ने गरेको छ भन्ने भन्दा त्यहाँका विद्यार्थीको खेल प्रस्तुति र क्षमता कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ। खेलकुदलाई भन्दा पढाइमा मात्र बढी केन्द्रित हुने कलेजको अचेल कुनै महत्व छैन। खेलकुद कलेजको अपरिहार्य विशेषता एवं गहना बनिसकेको छ।

३) कलेज महँगो वा सस्तोभन्दा पनि त्यस कलेजप्रतिको आकर्षण महत्वपूर्ण हुन्छ। त्यहाँबाट आफूले अपेक्षित शिक्षा र ज्ञान हासिल गर्न सक्ने सम्भावना के–कति छ भन्नेबारे बुझ्नु जरुरी छ। यसबारे पैसा लगानी गर्ने अभिभावकले पनि कलेज रोज्नुभन्दा पहिल्यै राम्ररी ध्यान दिनु जरुरी छ। किनभने महंँगो कलेज रोजेर
चाहेजस्तो प्रतिफल पाउन सकिएन भने पश्चाताप गर्नुबाहेक अरू विकल्प हुँदैन।

४) कलेजको अलुम्नी कति लोकप्रिय र स्तरयुक्त छ भन्ने भन्दा सो कलेज भविष्यमा त्यहाँका विद्यार्थीलाई इन्टर्नसिप र रोजगारका अवसरहरू दिलाउन पति सक्षम छ भन्ने कुरामा बढी ध्यान दिइनुपर्छ। यसका लागि त्यहाँका पूर्वविद्यार्थी र अभिभावकहरूसँग विचार विमर्श गर्नुपर्दछ। त्यसै गरी त्यहा पढेका विद्यार्थी समाजमा कति हदसम्म सफल र सम्मानित छ भन्ने पनि बुझ्नु पर्दछ।

५) समय समयमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिरहने भन्दा तपाईंलाई मनपर्ने भौतिक पूर्वाधारहरू जस्तै स्विमिंग पुल, म्युजिक रुम, स्नुकर, डान्स रुम आदिको व्यवस्था गरिएको छ वा छैन भन्ने बुझ्नु पर्दछ। कहिलेकाहीं आफ्ना साथीसँग घरमा झैं फिल्म हेर्न वा मज्जाले सुत्न हुने खालको डोर्म रुम छ वा छैन बुझ्नु पर्दछ। यसको अलावा अचेल केही कलेजले शैक्षिक भ्रमण वा कोर्स सकिएपछि पनि स्पेसल कक्षा सञ्चालनको नाममा अनावश्यकरूपमा चर्को शुल्क उठाएर अभिभावकलाई हैरान पार्न सक्ने भएकाले यसतर्फ पनि ध्यान दिनु जरुरी छ। कुनै–कुनै कलेज सञ्चालकदेखि लिएर पढाउने र कर्मचारीसमेत अध्यापनमाभन्दा विभिन्न राजनीतिक क्रियाकलापमा विशेष झुकाव राख्ने भएकाले त्यस्ता कलेजमा पढाउँदा आफ्ना छोराछोरी के उपलब्धि हासिल गर्लान् त भन्ने पनि अभिभावकले सोच्नु पर्दछ।

६) आफूले छानेका केही कलेजबारे जान्न स्थलगत भ्रमण गर्नु पर्दछ। त्यसपछि आफ्नो छनोटमा परेका कलेजहरूलाई पनि प्राथमिकताको आधारमा वरीयता क्रममा राख्नु पर्दछ। यस क्रममा त्यहाँका प्रिन्सिपल, व्यवस्थापन पक्ष र उक्त कलेजप्रतिको छरछिमेकीको धारणा पनि बुझ्नु पर्दछ। आफूले छानेको कलेजको मूल उद्देश्य नाफा आर्जन गर्न‘ु मात्र हो कि सेवा पनि हो भन्ने बुझनु पर्दछ। साथै कलेज परिसरमा राजनीतिक चलखेल हुने गरेको छ वा छैन् भन्ने पनि बुझ्नु जरुरी छ। कुनै कलेजमा सस्ता रिटायर्ड भइसकेका र खुबी नभएका शिक्षक परिचालन गरेर कलेजले आर्थिक फाइदा लिने गरिरहेको हुन सक्छ। यसतर्फ पनि अभिभावकले विशेष ध्यान दिनुपर्छ।

७) अध्ययन र अध्यापन नै कलेजको सबैभन्दा ठूलो उद्देश्य र उपलब्धि हुने भएकाले त्यहाँका सम्पूर्ण विभागका शिक्षक शिक्षिकाको शैक्षिक योग्यता, अनुभव र तिनीहरू आफूलाई दिइएको सुविधा र तलबप्रति सन्टुष्ट छ वा छैन भन्नेबारे बुझ्नु जरुरी छ। किनभने शिक्षक तथा शिक्षिको व्यवस्थापनसँगको सन्तुष्टिका परिणाम नै त्यहाँको गुणस्तरीय अध्यापन हुनेछ। व्यवस्थापन सफल रहे मात्र कुनै पनि संस्था राम्ररी चल्दछ भन्ने यथार्थता बिर्सिनु हुन्न।

८) अध्ययनको सिलसिलामा विद्यार्थीले धेरै समय कलेजमा बिताउनुपर्ने हुनाले त्यहाँको क्यान्टिनको गुणस्तर र कलेजको वातावरणको सर–सफाइमा पनि ध्यान दिइनुपर्दछ। त्यसै गरी कडा अनुशासन र शिक्षा दिने नाममा त्यो कलेजमा डीआई भनाउँदाहरूबाट अमानवीय मानसिक र शारीरिक सजाय दिइने गरेको छ वा स्वतन्त्रताको नाममा विद्यार्थीलाई निकै छाडा छोदिने गरिएको छ भन्ने राम्ररी अध्ययन गर्नुपर्ने हुन्छ।

९) वर्तमान वैज्ञानिक युगको आवश्यकताअनुरूप योग्य एवं दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पठनपाठन हुने गरेको, नैतिकवान, विवेकशील, अध्यात्मप्रति आस्थावान र सुसंस्कृति र व्यवहारिक ज्ञान दिइने गरिएको छ वा छैन भन्ने पनि जान्न जरुरी छ। अझ समाज र समाज सेवाप्रति बफादार र जिम्मेवार हुने ढंगले पढाइने कलेज त अब्बल छनोट सावित हुनेछ। साथै ती कलेजमा कुन हदसम्म व्यावहारिक र समायनुकूल शिक्ष प्रदान गरिन्छ भन्ने पनि बुझ्नु जरुरी छ।

१०) त्यहाँ पढ्ने विद्यार्थीको मात्र नभई त्यहाँका कर्मचारी एवं शिक्षक शिक्षिकाको नैतिक आचरणप्रति पनि कलेज छनोट गर्नुअघि अभिभावक र विद्यार्थी दुवैले विशेष ध्यान दिनुपर्दछ। हामीले कहिलेकाहीं कलेजहरूमा यौन व्यभिचारी कार्य हुने गरेको खबर पनि सुन्ने गरेका छौं। यौन शोषणका घटनाका कारण आत्महत्याको परिणामसमेत निस्कन सक्छ। प्रायशः यस्ता अवैध घटनालाई कलेज प्रशासनले गोप्य नै राख्ने गरेको कारण त्यहाँका पूर्वविद्यार्थी वा चिनेजानेका कर्मचारीमार्फत अभिाभावकले आफ्ना बालबालिका भर्ना गर्नुअघि जानकारी हासिल गुर्नपर्दछ। साथै, कलेज लागूपदार्थ र हिंसामुक्त छ वा छैन भन्ने पनि जान्नु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्