खेलमा सेलेब्रिटी पढाइमा पनि उस्तै गति



फिरोज राजोपाध्याय,

खेलाडी देशका गहना हुन्। खेलाडीकै प्रदर्शनले देशको मान, सम्मान र इज्जत सम्मानित हुन्छ भने त्यहाँ देशका नागरिकले समेत खेलाडीकै उच्च प्रदर्शनले गर्वका साथ शीर उचाल्न पाउँछन्। यसैले पनि खेलाडीलाई देशले हेर्नुपर्ने आवश्यकता छ। उनीहरूका लागि खेल्नुका साथै पढाइ पनि महत्वपूर्ण हुन्छ। यदि पढाइ नै छाडेर खेल्न मात्रै लागे पनि भविष्य सुनिश्चित देखिँदैन। कतिपय खेलाडीका लागि दुवै विधामा एकनाससँग लग्ने क्षमता पनि हुँदैन। कतिपय खेलाडीका लागि यो सम्भव पनि हुन्छ। तर, भन्नैपर्दा दुई नाउमा खुट्टा राख्नु त्यत्तिकै हानिकारक पनि हुन्छ।

नेपालकै सन्दर्भमा भन्नुपर्दा नेपाली खेलाडीको पढाइ साइड लागिरहेको छ। खेल्नेमै व्यस्त हुँदा कतिपय खेलाडीले बीचैमा पढाइ छाड्ने र फुर्सद हुँदा फेरि पढाइमा लाग्ने गर्छन्। यसको मतलब उनीहरूले ढुक्कका साथ पढ्न पाउँदैनन्। परीक्षा हुन्छ, त्यहीबेला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानुपर्ने हुन्छ। यस्तो प्रायजसो खेलाडीमाथि भइरहेको छ। यसै विषयमा यहाँ केही खेलाडीको पढाइबारे प्रस्तुत गरिएको छ।

नविता श्रेष्ठ नेपाली टेबलटेनिसतर्फ शीर्ष महिला खेलाडी हुनुहुन्छ। नविताले एमबीए त सिध्याउनुभयो तर यसका लागि धेरै वर्ष लागेको उहाँले बताउनुभयो। उहाँले नेपाल सरकारले समेत खेलाडीको मर्म नबुझेको बताउनुभयो। ‘खेल र पढाइ दुवै सँगसँगै लग्ने धेरै कठिन कुरा हो। स्कुलमा त सरहरूले सपोर्ट गर्नुभयो। तर, एसएलसी (आजभोलि एसईई), प्लस टु र ब्याचलरमा पुग्दा त्यो सपोर्ट पाउँदैन। यसका लागि नेपाल सरकारले नै खेलाडीका लागि छुट्टै मोटिभेटिभ हुने, इन्करेज हुने नियम ल्याइदिनुपर्छ। अनि मात्रै नेपाली खेलाडीले ढुक्कका साथ पढ्न पाउनेछन्’, नविताले भन्नुभयो– ‘मेरो कतिपय बोर्ड परीक्षामा नै अन्तर्राष्ट्रिय खेल परेको छ। २÷३ घण्टा मात्रै प्रशिक्षण लिएर खेल्दा पक्कै पनि मेडल ल्याउन सकिँदैन। कडा मेहनत गर्दा पढाइमा डिस्टर्ब भएको थियो।

मैले पढ्ने ग्याब भएर पनि एमबीए भने सकाएकी छु। एमबीए पढिरहँदा पनि तीनपटक त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएँ। जसले गर्दा मैले परीक्षासमेत गुमाउनुपरेको थियो। शिक्षा आवश्यक छ खेलाडीको लागि तर, त्यहीअनुसार नेपाल सरकारले खेलाडीका लागि भनेर कार्यक्रम ल्याइदिएमा खेलाडी पनि पढाइमा अब्बल हुन सक्छन्।’

यसै गरी फुटबलर अनन्त तामाङले समेत खेलले गर्दा पढाइमा असर परेको बताउनुभयो। अनन्त हाल म्यानेजमेन्ट विषय लिएर ललितपुरको पिनाकल कलेजमा भर्ना हुनुभएको छ। ब्याचलरमा भर्ना हुन उहाँले लगभग ३ वर्ष कुर्नुपरेको थियो। एसएलसी सकाएर प्लस टु पनि सकाउँदा खेल्न बाहिर जाने गरेपछि उहाँको पढाइ छुटेको थियो।

अनन्तले पढाइ अति आवश्यक भएको भन्दै बताउनुभयो– ‘खेलाडी भए पनि पढाइ आवश्यक छ हाम्रा लागि। खेलमा ध्यान केन्द्रित गरुन्जेल पढाइ गोल हुने नेपाल सरकारले पनि यसमा यति वास्ता गरेको देखिँदैन। हामीले खेल्ने भनेको बढीमा १० वर्ष हो। यसपछि के त ? प्रशिक्षक हुन पनि पढाइ चाहियो। अन्य काम गर्न पनि पढाइ चाहियो।

यस्तै ब्याडमिन्टनका खेलाडी दीपेश धामीले पढाइ र खेल सँगै लानु निकै कठिन भएको बताउनुभयो। दीपेशले पछिल्ला समयमा ब्याडमिन्टन प्रतियोगितामा निकै राम्रो खेलिरहनुभएको छ। हाल उहाँ ब्याचलरको विद्यार्थी हुनुहुन्छ। उहाँले सोसियल वर्कर विषय लिएर नासामा पढिरहनुभएको छ।

दीपेशचाहिँ भाग्यमानी खेलाडी हुनुहुन्छ। बाहिर खेल्न जाँदा बोर्डको परीक्षा नपरेको उहाँ बताउनुहुन्छ।
उहाँले भन्नुभयो– ‘म बाहिर गएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा बोर्डको परीक्षा परेको छैन। म अहिले २२ वर्षको भएँ। धेरै खेल्न सकिँदैन। खेल्दा वा प्रशिक्षण लिएर आउँदा थाकेको हुन्छ। यसपछि पढ्ने कहिले ? सम्भव नै छैन, खेलेर पढाइ गर्ने भन्ने।

बाहिर खेल्न जाँदा बोर्डको परीक्षा परेको त छैन। तर, खेल्दा कलेजको परीक्षा छुट्दा भने त्योचाहिँ टिचरले मिलाइदिनुहुन्छ। यसमा फेरि परीक्षा दिन पाउँछ तर बोर्डको परीक्षामा भने त्यस्तो मौका पाउँदैन। यो छुट्यो कि छुट्यो अर्को वर्ष कुर्नुपर्ने हुन्छ। मैले ब्याचलरमा जोइन हुन पनि करिब २ वर्षजति कुर्नुपरेको थियो। प्लस टु सकाएपछि पनि ब्याचलरमा भर्ना हुन समय नै निकाल्न सकिएन। म राष्ट्रिय च्याम्पियन पनि बनें, पढाइ पनि भइरहेको छ, यसमा मलाई खुसी नै छ।’

हालकै उदाहरण दिँदै दीपेशले बताउनुभयो– ‘अहिले म १३औं सागका लागि प्रशिक्षणमा छु। तयारी तीव्ररूपमा भइरहेको छ। पदक त ल्याउने नै हो भन्ने लक्ष्यमा छु। तर, यो प्रशिक्षणले गर्दा मेरो पढाइमा असर परिरहेको छ। पढाइ गर्दा खेलमा असर हुने, खेल्दा पढाइमा असर हुने, यो चलिरहन्छ हरेक खेलाडीको करिअरमा।’

यसै गरी हङकङमा भएको जुनियर लेभलको अन्तर्राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा स्वर्ण जितेका अजितकुमार यादव हाल पिनाकल कलेजमा ब्याचलर लेभलमा म्यानेजमेन्ट विषय लिएर पढिरहनुभएको छ। एपीएफ स्कुलमा १० कक्षासम्म पढ्दा पढाइमा असर नभएको तर यसपछि भने पढाइमा निकै असर परेको अजितले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘स्कुल लेभलमा राम्रै पढाइ भयो। तर, प्लस टु सकाएर ब्याचलर पढ्न भने गाह्रो भइरहेको छ। कलेजले त धेरै सर्पोट गरेको छ तापनि बोर्डको परीक्षा छुटेमा अर्को वर्ष कुर्नुपर्ने हुन्छ। तर, मेरो त्यस्तो अवस्थाबाट गुज्रन परेन। भन्नैपर्दा हामी खेलाडीलाई पढ्ने भनेको समय नै हुँदैन।

प्रतिक्रिया दिनुहोस्