कुले दाइसँगै सन्नी र सुमीको रमाइलो



आगामी कात्तिक २२ गते रिलिजमा ल्याउने लक्ष्य राखिएको फिल्म सरौतोको पहिलो गीत कुले दाइ राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा राजनराज शिवाकोटीको शब्द रचना, संगीत र स्वर रहेको छ।

उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छिन् भने यसको भिडियोमा अभिनेता सन्नी सिंह र अभिनेतृ सुमी मोक्तानलाई फिचरिङ गरिएको छ।

गीतको भिडियोमा सन्नी र सुमी दुलाहादुलाहीको साथीका रूपमा देखिएका छन्। पराकर्म पीजेबी राणा र सम्पदा दाहाल दुलाहादुलही बनेका छन्। छायांकन क्षेत्रमा नाम बनाएपछि निर्देशनमा हात हालेका हरी हुमागाईंको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्मको गीतबाट सुमी निकै आशावादी छिन्। यसै फिल्ममार्फत कोरियोग्राफीमा डेब्यु पाएकी निलिशा शाक्य पनि आशावादी छिन्।

‘यो गीतलाई इम्याजिनेसनका रूपमा प्रयोग गरेका छौं। गीतलाई अडियोअनुसार न्याय गर्ने प्रयास गरेका छौं। फिल्म रिभेन्ज स्टोरीमा छ। म्युजिक भिडियो, एड, फिल्म छायांकनसँगै केही म्युजिक भिडियो निर्देशनको अनुभव लिएर मैले निर्देशनमा पाइला टेकेको छु’, निर्देशक हुमागाईंले भने– ‘फिल्ममा मैले एउटा म्यासेज दिने कोशिस पनि गरेको छु। तर, फिल्म पूर्णतया कमर्सियल हुनेछ।’
अभिनेतृ सुमी मोक्तानले लोकलयको गीतमा रमाइलो महसुस भएको बताइन्।

‘यस लोकलयको गीतमा पहिलोपटक डान्स गर्दा रमाइलो भयो। तीन वर्षअगाडिसम्म पनि लागेको थिएन कि म हिरोइन बन्छु। त्यसमा पनि एक्सन फिल्मको हिरोइन। तर, मैले आफूलाई तयार गर्न निकै मेहनत गरेकी छु’, उनको भनाइ थियो– ‘यसमा दर्शकले कमर्सियल फिल्ममा पाउने सबै कुरा पाउनुहुनेछ भने सोसल म्यासेज पनि छ।’

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले नेपाली फिल्मले नेपाली सुन्दरतालाई विश्वसामु लग्न सक्ने तर्क गरे। ‘हाम्रो प्रमोसन हामी आफैंले पनि गर्नुपर्छ। त्यो फिल्मको माध्यमले सम्भव छ’, उनको सल्लाह थियो– ‘फिल्ममा नेपालका प्राकृतिक सौन्दर्यतालाई समेट्नुस्।’

वीराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स् एन्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माणाधीन फिल्ममा सन्नी र सुमीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरूणा कार्की, सुवाङम शाह, लियो ट्यांक, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङलगायतले अभिनय गरेका छन् भने राघव कृष्ण गौतमको लेखन, राजनराज शिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत, राजनराज, पुष्पन र कमलसँगै मिलन नेवार र श्रेया सोताङको स्वर, शंकर महर्जनको एक्सन, उत्तम हुमागाईंको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्