ब्राजिलसँग हारको कारण रेफ्री



लन्डन, (एजेन्सी)
कोपा अमेरिकाअन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलसँग हारेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले रेफ्रीले साथ नदिएपछि हारेको कारण प्रस्तुत गरेका छन् ।

अर्जेन्टिना २–० गोलले हारेको थियो । गेब्रियल जिससले १९औं मिनेटमा फर्मिनोको लो क्रसमा गोल गरेका थिए । त्यस्तै फर्मिनोले ७१औं मिनेटमा गोल गरेपछि घरेलु टोली ब्राजिलको जित पक्का भएको थियो । यो नतिजाले ब्राजिललाई कोपा अमेरिकाको फाइनलमा पु¥यायो भने अर्जेन्टिनालाई प्रतियोगिताबाट बाहिरिन बाध्य तुल्यायो । ब्राजिल सन् २००५ देखि अर्जेन्टिनासँग प्रमुख प्रतियोगितामा हारेको छैन ।

त्यसो त खेलमा सर्जियो अग्वेरो र मेसीको प्रहार पोलमा ठोक्किनु पनि हारको कारण बनेको थियो । मेसीले कतिपय निर्णय आफ्नो टोलीविरुद्ध दिएको बताए । उनले रेफ्री रोडी जाम्ब्रानोले पेनाल्टी प्रहारको निर्णय नदिएको पनि आरोप लगाए । उनले भने—ब्राजिल हामी भन्दा राम्रो थिएन । उनीहरुले छिटै गोल गरेका थिए । दुई पेनाल्टी दिएन । जसमा निकोलास र अग्वेरोमाथिको फाउल स्पष्ट पेनाल्टी थिए । उनी (रेफ्री) उनीहरुको पक्षमा थिए ।

मेसीले बार्सिलोनाका लागि २९ ट्रफी जितेका छन् । तर अर्जेन्टिनाका लागि अझै उनी उपाधिबाट विमुख भइरहेका छन् । २००८ को ओलम्पिक गोल्ड मेडललाई छाड्ने हो भने उनले राष्ट्रका लागि प्रमुख उपाधि दिलाएका छैनन् । शायद अर्को कोपा अमेरिकामा उनलाई भाग्य साथ हुन सक्छ । २०२० को कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्