समूहगत भोज र स्वास्थ्य समस्या



नेपाली समाजमा न्वारान, व्रतबन्ध, विवाह, जन्मोत्सव, चौरासी पूजा तथा विभिन्न समुदायका चाडपर्वमा सामूहिक भोजभतेर आयोजना गर्ने परम्परा छ । आफन्त, साथीभाइ, इष्टमित्र, छिमेकीहरुलाई सुख–दुःखमा सहभागी गराएर सामूहिक भोज खाने चलन आफैँमा नराम्रो होइन । तर पछिल्लो समय अनावश्यक शक्ति प्रदर्शन गर्न सामान्य कार्यक्रममा पनि पार्टीभोज गर्ने प्रवृत्ति बढेको छ । यो भने राम्रो संकेत होइन ।

पछिल्लो समय अनावश्यक तडकभडकका साथ भोजभतेर लगाउने परम्परा परिवर्तन गर्नुपर्ने आवाज उठ्ने गरेको छ । तर प्रशासनले यस्तो प्रवृत्ति न्यूनीकरण गर्न भने सकिरहेको छैन । मानिसले आ–आफ्नो गच्छेअनुसार भोजभतेरको आयोजना गर्न सक्लान्, तर कहिलेकाहीँ यस्तो भोजभतेर अभिशाप पनि बन्न बेर लाग्दैन । केही दिनअघि यसै दैनिकमा ‘बिहे भोज खाँदा ६० बढी बिरामी’ परेको समाचार छापियो । भरतपुरका विवेक आचार्यको बिहेमा भोज खाएका ४ सयमध्ये ६० जना बिरामी परेर विभिन्न अस्पतालमा उपचार गराउन बाध्य भए । भरतपुर–४ स्थित स्वाद सदन पार्टी प्यालेसमा भोज खानेमध्ये कटहरचोककी सदीक्षा घिमिरेको चितवन मेडिकल कलेजको आईसीयुमा र अन्य दुईको नारायणी सामुदायिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको समाचार सार्वजनिक भएको छ ।

नेपाली समाज भोजभतेरमा रमाइरहँदा आफूले खाएको भोज स्वास्थ्यका दृष्टिले कति लाभदायक छ भन्नेतर्फ पनि उत्तिकै चनाखो बन्नुपर्ने अवस्था आएको छ । यसै पनि अधिकांश होटल तथा पार्टी प्यालेसहरु खाद्य सुरक्षा र मानव स्वास्थ्यप्रति गम्भीर भएको पाइँदैन । बजारमा विभिन्न रसायनयुक्त पदार्थ, विषादीयुक्त तरकारी तथा म्याद गुज्रेका खाद्यपदार्थको बिगबिगी छ । पछिल्लो समय पानीसमेत शुद्ध सेवन गर्न नपाइने स्थिति छ ।

मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने उपभोग्य सामग्रीको आयात तथा बेचबिखन गर्नुहुँदैन भन्ने चेतना भए पनि व्यापारका नाममा यस्ता सामग्रीको बेचबिखन हुँदै आएको छ । प्रभावकारी अनुगमन हुन सकेको भने पाइँदैन । बजार अनुगमन कर्मकाण्डीजस्तो बनेको छ । उपभोक्ता अधिकारका विषयमा सरोकारवाला निकाय नै गम्भीर छैनन् । बजारमा मानव स्वास्थ्यलाई हानि गर्ने पेयपदार्थ, खाद्यवस्तु, विभिन्न परिकार तथा खानाको बिक्री वितरण भइरहे पनि राज्य बेखबर छ ।

विभिन्न अस्पतालमा बिरामीको चाप हेर्दा नै हामी कति अस्वस्थ जीवनशैली बाँचिरहेका छौँ र जानेर वा नजानेर हामीले रोग निम्त्याइरहेका छौँ भन्ने प्रस्ट हुन्छ । भरतपुरमा बिहेभोज खाएका ६० जना बिरामीलाई पेट दुख्ने, रिँगटा लाग्ने, टाउको दुख्ने, छाती पोल्ने, ज्वरो आउने, झाडापखाला लाग्ने र बान्ता हुने समस्या देखिनु संयोग मान्न सकिँदैन । यो मानव स्वास्थ्यमाथिको लापरबाहीको पराकाष्ठा हो ।

भोज खाएर गाउँले नै बिरामी हुने घटना भरतपुरको मात्रै होइन । केही समयअघि कविलासमा पनि बिहेको भोज खाँदा ३२ जना स्थानीय बिरामी भएका थिए । यस्तै मनहरीमा बिहेभोज खाँदा ४० जना झाडापखालाबाट पीडित भए । हेटौँडाको लामसुरेमा विवाहको भोज खाँदा गाउँका ३० जना बिरामी परे । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ मा बिहेको भोज खाँदा झाडापखालाको महामारी नै फैलियो । जसमा ५० जना गम्भीररुपमा बिरामी परे । यस्तै, कुश्मा नगरपालिका ७ का हेम शर्माको विवाह वार्षिकोत्सवको भोज खाँदा २४ जना एकैसाथ बिरामी परे ।

यी घटना केही दृष्टान्त मात्रै हुन् । सामूहिक भोज खाएर बिरामी हुनुको एकमात्र कारण ‘फुड पोइजन’ नै हो । मीठो स्वाद र विविध परिकार पस्किने होटल तथा पार्टी प्यालेसहरुले मन्द विष खुवाएर सर्वसाधारणमाथि अपराध गरिरहे पनि यस प्रकारका लापरबाही गर्नेविरुद्ध कडा कारबाही हुन नसक्नु दुःखको कुरा हो । प्रशासनले यस्ता घटनाको सूक्ष्म अनुसन्धान गरी उपभोक्ताको स्वास्थ्यमाथि लापरबाही गर्नेविरुद्ध कानुनी कारबाही गर्नु आवश्यक देखिएको छ ।
– कुलदीप भट्टराई, हाल: चितवन ।

किसानले सम्मान कहिले पाऊलान् ?
किसानहरु यति बेला धान रोप्न व्यस्त छन् । सरकारले असार १५ गतेलाई धान दिवस घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ यो दिवस मनाएको छ । देशभर विभिन्न संघसंस्थाले तामझामका साथ यो दिवस मनाएका छन् । असारे १५ लाई पर्यटन प्रवद्र्धन गर्ने पर्वको रुपमा पनि मनाइएको छ । गण्डकी प्रदेशको कुरा गर्ने हो भने करिब ७४ प्रतिशत जनता कृषिमा आश्रित रहेका छन् ।

उनीहरुको मुख्य खाद्यान्न भनेकै धान बाली हो । गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुन्छ । यस प्रदेशमा वार्षिक ४ लाख ६५ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको तथ्यांक छ । गण्डकी सरकारले आर्थिक वर्ष २०७७÷०७८ सम्ममा ५ लाख ७७ हजार १ सय १९ मेट्रिक टन धान उत्पादन गर्ने प्रक्षेपण गरेको छ । धानको उत्पादन आगामी आर्थिक वर्ष ०७५÷७६ मा ५ लाख २३ हजार ४ सय ६४ र आव ०७६÷७७ मा ५ लाख ४९ हजार ६ सय ३७ मा बढोत्तरी गर्ने सरकारी प्रक्षेपण गरिएको छ ।

तर यो प्रक्षेपणअनुसारको काम हुनेमा स्वयं सरकारी अधिकारीहरु पनि विश्वस्त छैनन् । कृषिलाई आधुनिकीकरण, उन्नत बीउको प्रयोग, मलको उपलब्धता तथा सिंचाइको सुविधा बिना यो लक्ष्य हासिल हुन सक्दैन । नेपालमा लक्ष्य निर्धारण गर्ने तर त्यो कहिल्यै पूरा नहुने पुरानो रोग रहेको छ । यो रोगको निदान नखोजेसम्म लक्ष्य जति उच्च लिए पनि सफलता हासिल गर्न सकिँदैन ।

२०७२÷०७३ मा एक हेक्टर खेतमा धान लगाउँदा ७१ हजार १ सय ३२ रुपियाँ खर्च भएको थियो भने त्यसबाट ८० हजार ७ सय २३ रुपियाँ आम्दानी भएको तथ्यांक सार्वजनिक भएको थियो । नेपालमा कृषिको लागत बढ्दै गएको छ । कृषिमा लागत बढ्दा जग्गा बाँझो राख्ने अनि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति पनि बढेर गएको छ । लागत बढ्दा उत्पादनले प्रतिस्पर्धी क्षमता गुमाउँछ । प्रतिस्पर्धी क्षमता गुमाउँदा किसानहरु मर्कामा पर्छन् । उनीहरु पेसाबाटै पलायन हुन्छन् ।

नेपालको कृषि प्रणाली अहिले पनि निर्वाहमुखी र परम्परागत रहेको छ । जबसम्म कृषिलाई आधुनिकीकरण गर्न सकिँदैन, तबसम्म कृषिमा आकर्षण हैन पलायन दर बढ्दै जान्छ । विगतका अनुभवले पनि यही कुरा देखाएका छन् ।

अर्कोतर्फ कुनै बेला नेपाल खाद्यान्नमा आत्मनिर्भर थियो । तर अहिले आएर चामलदेखि मकैसम्म हामी विदेशबाट निर्यात गर्न बाध्य छौँ । भएका जग्गाहरु बाँझो राख्ने प्रवृत्ति बढेर गएको छ । सरकारले आयात प्रतिस्थापना गर्ने तथा जग्गा बाँझो राख्न नपाइने नीति अंगिकार गर्ने घोषणा गरे पनि यो कार्यान्वयमा आउन सकेको छैन । जबसम्म लागतअनुसारको प्रतिफल पाइँदैन, तबसम्म जग्गा बाँझो राख्ने प्रवृत्तिमा सुधार आउँदैन । किसानहरुलाई अनुदान दिने, कृषिलाई सम्मानित पेसा बनाउनेतर्फ ध्यान दिनु पनि उत्तिकै जरुरी छ ।

सरकार यति बेला रेमिट्यान्स मात्र भित्र्याउने ध्याउन्नमा छ । कुरामा देशभित्रै रोजगारी सृजनाको घोषणा हुन्छ तर अमुक देशले नेपाली कामदार लैजाने भयो भन्ने कुरा गर्वका साथ प्रचार गरिन्छ । यो द्वैधचरित्रको अन्त्य नभएसम्म र कृषिलाई सम्मानित पेसा नबनाएसम्म देश कृषिप्रधान भए पनि खाद्यान्न आयात रोकिँदैन ।
– भोजराज न्यौपाने पोखरा ।

प्रतिक्रिया दिनुहोस्