धुर्कोट गाउँपालिका मासुमा आत्मानिर्भर



अनिल खत्री, गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका मासुमा उत्पादन आत्मानिर्भर गाउँपालिका घोषणा भएको छ । गाउँपालिका भित्र ७ वटै वडाका कृषकहरु मासु उत्पादनमा व्यवसायिक रुपमै लागेपछि गाउँपालिका मासु उत्पादनमा आत्मानिर्भर गाउँपालिका घोषणा बनेको हो ।

प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक कार्यक्रमका बिच धुर्कोट गाउँपालिकालाई मासु आत्मा निर्भर गाउँपालिका घोषणा गर्नुभयो । आफुहरु जनप्रतिनिधी भएको २ वर्षदेखि गरिएको प्रयासले धुर्कोटलाई खसी बोका र कुखुरा पालनमा कृषकहरुलाई प्रोत्साहित गरेर मासुमा आत्मा निर्भर गराउन सफल भएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताउनु भयो ।

किसानका लागि उन्न बिउ बिजन (केयुबिके) को आर्थिक सहयोग मार्फत जनविकास केन्द्र गुल्मीले बाख्रा पालन कार्यक्रम गत २ वर्षदेखि सञ्चालन गरेपछि मासु उत्पादनमा आत्मा निर्भर भएको हो । धुर्कोट गाउँपालिका पशु शाखा स्वस्थ्य प्रमुख श्यामबहादुर कार्कीका अनुसार धुर्कोटमा ३० हजार ९ सय ८७ जनसंख्या रहेको छ ।

जस अनुसार प्रति महिनामा प्रति व्यक्ति १५ दशमलव ४८ केजी मासु उत्पादन हुन्छ । एक जना व्यक्तिलाई १ दशमलव २९ केजी मासिक मासुको आबश्यक पर्ने गर्दछ । राष्ट्रिय मापदन्ड अनुसार प्रतिव्यक्ति वार्षिक १४ केजी मासुको आबश्यक पर्दछ ।
त्यसका आधारमा प्रतिव्यक्ति १ किलो ४८ ग्राम मासु धुर्कोटबाट बाहिर निर्यात हुने गरेको छ । यस कारणले धुर्कोट मासुमा आत्मा निर्भर गाउँपालिका घोषणा भएको हो ।

धुर्कोट गाउँपालिका भित्र वार्षिक ४ सय ३३ मेट्रिक टन मासु खपत हुन्छ भने ४५ मेट्रिक टन निर्यात हुने गरेको छ । गाउँपालिकामा खपत हुने बाहेक वढि भएको मासु सदरमुकाम तम्घास र प्रदेश राजधानी बुटवलमा निर्यात हुने गरेको छ ।

निर्यात गरिएको खसी बोकाको मासुबाट वर्षिक १ करोड ३३ लाख आम्दानी हुने गरेको गाउँपालिकाले जनाएको छ । वस्तु गाउँकी मिना भण्डारीले बाख्रा पालन गरेर आम्दानी राम्रो हुने गरेपछि बिदेशमा भएका श्रीमानलाई घरमा झिकाउनु भएको छ ।

मासु उत्पादन घोषण सभामा प्रर्दशनका लागि ६३ वटा खसी बोका ल्याइएको थियो । प्रर्दशनमा राखिएका मध्ये एकैदिन १८ सय किलो खसी बोकाको मासु बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्