भैंसीका पाडापाडी हुर्काउनेलाई ५ सय भत्ता, बच्चाबच्ची हुर्काउनेलाई कति ?



दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको छ ।

स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढंगबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको हो ।

गाउँपालिका भित्र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने सबै घरमा अध्यक्षले कोशेली बोकेर जाने गरि कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । महाशिला गाउँपालिकाका ६ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ्ग सेन्टर स्थापना गरिएका छन ।

‘हरेक महिलाहरु स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउने काम भएका कारण जिरो होम डेलीभरीको अबस्था छ’ , अध्यक्ष पौडेलले भन्नुभयो ‘अब घरमा सुत्केरी गराउने मानसिकता नै नबसोस भनेर प्रोत्साहनको कार्यक्रम ल्याएका हौ’
गाउँपालिकाले अध्यक्ष सुत्केरी कार्यक्रमका क्रममा एक जनालाई २ हजार रुपैंया बराबरको ध्यु र कुखुरा दिने भएको छ । केही बर्ष अघि सम्म घरमै सुत्केरी हुने र स्वास्थ्यकर्मीलाई समेत घरमै बोलाउने चलन रहेको थियो ।

गाउँपालिकामा जनप्रतिनिधी आउनुपुर्ब लुंखु प्राथमिक स्वास्थ्यकेन्द्र र होस्राङ्गदी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ्ग सेन्टर रहेका थिए । जनप्रतिनिधी आएपछि थप ४ वटा वडामा गाउँपालिकाले नै बर्थिङ्ग सेन्टर स्थापना गरेको छ ।

गाउँपालिकाले दिएको जानकारी अनुसार सरदर ८० जना सुत्केरी हुने गरेकोमा सबै स्वास्थ्य संस्थामा नै पुगेका छन । गाउँकै स्वास्थ्य चौकीमा यो सुबिधा भएका कारण पनि घरमा सुत्केरी गराउने चलन हटेको हो ।

महाशिला गाउँपालिकाले स्वास्थ्य संस्थामा जन्मेको बर्थ सर्टिफिकेट र नियमित रुपमा गर्भ जाँच गरेको सिफारिस नभए सम्म बालबालिकाको जन्मदर्ता समेत नगर्ने निर्णय पनि गरेको छ । जन्मदर्ता गर्नका लागि स्वास्थ्य संस्थाको बर्थ सर्टिफिकेट र सिफारिस लिने ब्यबस्था गर्दा घरमा सुत्केरी हुने चलन पुरै हटेर जाने गाउँपालिकाका प्रबत्ता जीवन उच्चै ठकुरीले बताउनुभयो ।

भैसीलाई पनि सुत्केरी भत्ता !

महाशिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न ‘भैसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । भैसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई ५ सय रुपैंया भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्थानिय जातका लिमे र पाराकोटे जातका भैसीका पाडापाडी काटेर खानेलाई १ हजार जरिवाना तिराउने निर्णय गत बर्ष देखि नै कार्यान्वयनमा छ ।

‘प्रोत्साहन भत्ता समेत तिराउन थालेपछि पाडापाडी संरक्षण हुन्छन’ अध्यक्ष पौडेलले भन्नुभयो ‘हाम्रो पालिका दुध र मासुमा आत्मनिर्भर बनाउनपनि पाडापाडी संरक्षण गर्न जरुरी थियो’ महाशिला गाउँपालिकाले यस अघि एक घर एक रोजगार, रक्सी नियन्त्रण, बाँदर नियन्त्रण अभियान सञ्चालन गरेका कारण देशभर चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्