एक्सन अवतारमा नम्रताको रोमान्स



नायिका नम्रता श्रेष्ठको एक्सन अवतार भएको फिल्म जाइराको रोमान्टिक गीतले सार्वजनिक भएको एक साता नपुग्दै युट्युब च्यानलमा झन्डै साढे ३ लाख भ्युज पाएको छ।

आगामी भाद्र ६ गते अल नेपाल रिलिज हुने फिल्म जाइराको आँखैले बोल्छ बोलको रोमान्टिक गीत गत साता सार्वजनिक भएको थियो।

एक्सन लभस्टोरी जनरामा बनेको फिल्मको यो रोमान्टिक गीत सन्तोष लामाले गाएका छन् भने कल्याण सिंहको संगीत र रवि मल्लको शब्द रचना रहेको छ।

गीतको भिडियोमा नायिका नम्रता र अनुपविक्रम शाहीको रोमान्स फिचरिङ गरिएको छ। गीत सार्वजनिक कार्यक्रममा नम्रता र अनुपले स्टेजमै नृत्यसमेत प्रस्तुत गरेर देखाएका थिए। कोरियोग्राफर गोविन्द शाहीले चार दिन लगाएर दुई जनालाई स्टेजका लागि नृत्य सिकाएका थिए। सार्वजनिक गीतले फिल्मभित्र देखिने अनुप र नम्रताको प्रेमभाव बोलेको छ।

पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी नायिका नम्रताले यस फिल्ममा मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन्। फिल्मका लागि मार्सल आर्ट सिक्न उनले ८ महिना तालिम लिएकी थिइन् भने कपालसमेत मुण्डन गरेर नयाँ लुक्स बनाएकी थिइन्।

फिल्म आशुतोष राज श्रेष्ठको डेब्यु निर्देशनमा निर्माण भइरहेको छ। नम्रता र अनुपसँगै प्रमोद अग्रहरि, रेमणदास श्रेष्ठ, नवकलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले अभिनय गरेको फिल्ममा प्रसन्न गोपाली कार्यकारी निर्माता रहेका छन् भने कटामरी फिल्म्स्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिले यसलाई निर्माण गरेको हो।

कल्याण सिंह, डीजे राजु र टम्ब्लिविडको संगीत रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, राउल मोक्तान र मेघवार चेम्जोङको कोरियोग्राफी, लोकेश बज्राचार्यले सम्पादन र बाबु श्रेष्ठको डीओपी रहेको छ। नम्रताले फिल्म बदलाको कथामा बनेको बताएकी छिन्। उनले यो फिल्मबाट दर्शकले नयाँ स्वाद पाउने अपेक्षा गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्