कोरीद्वारा भेनस स्तब्ध



लन्डन, (एजेन्सी)
विम्बल्डन टेनिसअन्तर्गत महिला एकलतर्फको खेलमा अमेरिकी खेलाडी कोरी गउफले पाँच पटककी च्याम्पियन भेनस विलियम्सलाई पहिलो चरणमा स्तब्ध बनाएकी छन् ।

आफूभन्दा २४ वर्ष कान्छी खेलाडीसँग भेनस २–० कै सेटमा पराजित भइन् । ३९ वर्षीया भेनसलाई १५ वर्षीया कोरीले ६–४ र ६–४ को सेटमा हराइन् ।
कोरी विश्व वरियतामा ३ सय १३ औं स्थानमा छिन् । उनी जन्मनुभन्दा पहिले नै अमेरिकी भेनसले चार वटा ग्राण्डस्लाम उपाधि जितेकी थिइन् । खेल जितेपछि कोरी रोएकी थिइन् । उनले आफ्नी प्रेरणाकी स्रोतलाई हराउँछु भन्ने कल्पनासम्म नगरेको प्रतिक्रिया दिइन् ।

यस्तै दोस्रो वरियताकी जापानी खेलाडी नाओमी ओशाका पनि पहिलो चरणमै पराजित भएकी छन् । उनी काजकिस्तानकी युलिया पुटिन्सेभासँग २–० कै सेटमा पराजित भइन् । ओशाका पुटिन्तेभासँग ७–६ र ६–२ ले पराजित भएकी हुन् ।

यसैबीच विम्बल्डन टेनिसको पुरुषतर्फ शीर्ष वरियताका नोभाक जोकोभिचले विजयी सुरुवात गरेका छन् । साविक विजेता जोकोभिचले सेन्टर कोर्टमा भएको पहिलो चरणको खेलमा फिलिप कोह्ल्साएबरलाई पराजित गरेका हुन् । ३२ वर्षका सर्बियन जोकोभिचले जर्मन फिलिपलाई ६–३, ७–५ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । दोस्रो चरणमा उनले अमेरिकाका डेनिस कुड्लासँग प्रतिस्पर्धा गर्ने छन् । डेनिसले ट्युनिसियाका कालेक जाजिरीलाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएका हुन् ।

यस्तै पुरुष एकलतर्फकै अर्को खेलमा छैटौँ बरियताका एलेक्जेन्डर स्वेरेव र सातौँ बरियताका स्टेफानोसा ट्सिपास पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका छन् । २२ वर्षका जर्मन स्वेरेवलाई जिरी वेसिली तथा २० वर्षका ग्रिक स्टेफानोसलाई थोमस फाबिएनोले पराजित गरेका हुन् । यस्तै चौथो वरियताका केभिन एन्डर्सन र स्टानिसलास वावरिन्कासहितका खेलाडीले अघिल्लो चरणमा स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्