युकेश र सावित्रा उत्कृष्ट वर्ष खेलाडी



नेपाल समाचारपत्र, काठमाडौं
पल्सर स्पोर्टस् अवार्ड २०७५ अन्तर्गत पाराग्लाइडिङका युकेश गुरुङ पुरुषतर्फ र फुटबलकी सावित्रा भण्डारी महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी भएका छन् ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको विधामा मनोनयनमा परेका क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पार्दै युकेश उत्कृष्ट हुन सफल भए । युकेशले गत भदौमा इन्डोनेसियामा सम्पन्न १८औं एशियाली खेलकुदमा पाराग्लाइडिङमा रजत पदक जित्दै नेपालको प्रतिष्ठा राखेका थिए । उनको टोलीले रजत पदक जित्दा युकेशको भुमिका महत्वपूर्ण रहेको थियो ।

यसैगरी महिलाविधामा सावित्राले जुडोकी मनिता श्रेष्ठ प्रधान, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी निमा गुरुङ र भलिबलकी सरस्वती चौधरीलाई पछार्दै उत्कृष्ट बनेकी हुन् । सावित्राले २०७५ सालमा नेपाललाई ओलम्पिक छनोटको दोस्रो चरणमा पु¥याउन सहयोग गरेकी थिइन् । त्यस्तै भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई फाइनलसम्म पु¥याइन भने विराटनगरमा भएको पाँचौ महिला साफ च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पु¥याउने उनले योगदान गरिन् ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकमा पाराग्लाइडिङका योगेश भट्टराई घोषित भए । प्रशिक्षकको मनोनयनमा एथ्लेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा, महिला फुटबलका हरि खड्का र महिला भलिबलका ज्ञानेन्द्र विष्ट परेका थिए । प्रज्ञा भवनमा भएको उक्त भव्य अवार्ड समारोहमा दृष्टिविहीन महिला क्रिकेटर मनकेसी चौधरी पारा एथ्लेटिलट अवार्डले सम्मानित भइन् ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दलाई स्पेशल अवार्डबाट सम्मान गरियो । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजित स्पोर्टस अवार्डमा यो विधा यस पटकदेखि राखिएको हो । यसैगरी अर्को नयाँ अवार्ड एशियाका उत्कृष्ट खेल पत्रकारलाई दिइने अवार्डमा भने पाकिस्तानका खेल पत्रकार अमजद अजीज मकिलाई प्रदान गरियो । एआईपीएस एसियाका महासचिव समेत रहेका मलिक पाकिस्तान स्पोर्टस राइटर्स एसोसिएसनका अध्यक्ष समेत हुन् । अन्यमा वर्षको उत्कृष्ट टिम अवार्ड पाराग्लाइडिङ टिमलाई दिइयो भने युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजीत कुमार यादवलाई दिइयो ।

रोकाया सम्मानित
एथ्लेटिक्सका पूर्व धावक तथा प्रशिक्षक हरिबहादुर रोकायालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । रोकायाले अवार्ड प्राप्त गरेपछि राज्यले खेलाडीको लागि पनि केही गरिदिने आग्रह गर्नुभयो । रोकायाले भन्नुभयो—राज्यले खेलाडीको लागि अक्षयकोष खडा गरिदिएमा खेलाडी विरामी परेमा पनि त्यसैबाट उपचार हुनेछ ।

पिपुल्स च्वाइस अवार्डमा रेश्मा पहिलो
स्पोर्टस् अवार्डअन्तर्गतको लोकप्रिय विधा पिपुल्स च्वाइस अवार्डमा महिला भलिबलकी रेशमा भण्डारी पहिलो भइन् । फेसबुक र एसएमएसको मतदानको आधारमा भएको उक्त अवार्डमा रेशमाले करिब ३२ प्रतिशत मत प्राप्त गरिन् । त्यस्तै फुटबलकी सावित्रा २९ प्रतिशतको मतसहित दोस्रो भइन् । अन्यमा बडी बिल्डर महेश्वर महर्जनले १५ प्रतिशत, ब्याडमिन्टनका प्रिन्स दाहालले १३ प्रतिशत र क्रिकेटका सोमपाल कामीले ८ प्रतिशत मत प्राप्त गरे ।

तस्वीरः उजोल डंगोल

 

 

प्रतिक्रिया दिनुहोस्