संस्कृति मासिएमा अस्तित्व रहन्न



संस्कृति मासिए सभ्यता मासिन्छ, सभ्यता मासिए संस्कार मासिन्छ । सांस्कृतिक सम्पदा कुनै एकपुस्ताको योगदानले मात्र निर्मित भएको हैन । सम्पदा निर्माणमा संस्कार र कयौँ पुस्ताको लगानी जोडिएको हुन्छ । सम्पदाहरु पुस्ताको चिनो पनि हुन् । यी चिनोहरुको संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व हो । चन्द्रशमशेरले सिंहदरबार बनाए ।

भीमसेन थापाले धरहरा बनाइदिए । मल्ल र लिच्छवि कालमा निर्मित भौतिक संरचनाहरुले काठमाडौंको तत्कालीन वैभवता मात्रै झल्काउँदैन, वर्तमान पुस्तालाई सम्पदाहरुको महत्व पनि सिकाउँछ । कुनै कालखण्डमा एकै व्यक्तिले बनाएका संरचनाहरु पनि कालान्तरमा सभ्यतासँग जोडिन पुग्छन् । दर्शनीय र पुरातात्विक महत्वका भइदिन्छन् ।

पोखराको इतिहास खासै लामो छैन । औलोको डर हुने पोखरामा धेरै ढिला मानव बस्तीको विकास भयो । काँठतिर बस्नेहरु बिस्तारै पोखरा झर्न थाले । बैदामे तालको किनारा, विन्ध्यवासिनी क्षेत्र र अन्य केही पानी सहज उपलब्ध हुने ठाउँमा बस्तीहरु बसे । कालान्तरमा भक्तपुरबाट व्यापार गर्ने क्रममा पोखरामा नेवारहरु भित्रिए । नेवारहरुले विन्ध्यवासिनी तलको क्षेत्रमा आफ्नो व्यवसाय थाले । त्यहीँ घर बनाए अनि आफूले सँगै ल्याएको आस्थासँग जोडिएका जात्रा र पर्वहरु चलाउन थाले । धार्मिक आस्थासँग जोडिएको संस्कृति अहिले पनि जीवन्त छ ।

यसै गरी उनीहरुले तत्कालीन पोखराको मुख्य बजार मानिने क्षेत्रमा त्यो बेला प्राप्त हुने निर्माण सामग्री प्रयोग गर्दै कलात्मक र सुन्दर घरहरु बनाए । आर्थिक रुपले सम्पन्न भएका उनीहरुले बनाएका घरहरुले पोखराको सुन्दरतामा थप टेवा दियो । विदेशीहरुको लागि पोखरामा बनेका ती घरहरु दर्शनीय स्थल बन्न पुगे । तर, समय सधैँ एकैनाश हुँदैन । पोखराको बजार क्षेत्र विस्तार भयो । बजार विस्तारसँगै त्यहाँको व्यापार कम हुन थाल्यो । हिजो अचाक्ली चहलपहल हुने क्षेत्र सुनसान हुने अवस्थामा पुग्यो । विकाससँगै निर्माण क्षेत्रमा नयाँ प्रविधि भित्रियो ।

ढुंगा, माटोका घरको सट्टा सिमेन्टबाट ढलान भएका घरहरु बन्न थाले । नयाँले सबैलाई तान्छ । पोखराको पुरानो बजारका रैथानेहरु पनि नयाँ प्रविधितिर तानिए । उनीहरुले आफ्ना पुराना घरहरुलाई नयाँ स्वरुप दिए । हिजो ढुंगाले छाइएका र इँटाले बनेका सुन्दर घरहरुको बस्ती बिस्तारै मासिँदै गयो । अहिले सो क्षेत्रमा रहेका करिब ५० वटा घरले मात्र हिजोको वैभव सम्झाउने काम गरेका छन् । बाँकी रहेका घर अहिले पनि हिजोको पोखराको पर्याय बनेका छन् । त्यही बाटो भएर हिँड्ने पर्यटकहरुको आकर्षणको केन्द्र बनिरहेका छन् ।

हिजो बजार थियो, घर थिए, पुराना र सुन्दर संरचनाहरु थिए । त्यसको विशिष्ट महत्व पनि थियो । तर, महत्व बुझ्ने कोही भएन । महत्व बुझ्नुपर्ने निकायले त्यसको संरक्षण र त्यसबाट लिन सकिने लाभबारे हिसाबकिताब नै गरेन । जब सम्पदा नासियो बल्ल ती घरहरुको महत्व थाहा भयो । पर्यटकहरुलाई त्यही बाटो डुलाएर, त्यही घर देखाएर उनीहरुको बसाइ लम्ब्याउन सकिन्छ भन्ने तत्वबोध कसैसँग भएन । पुराना घरहरु आम्दानीको स्रोत बन्छन्, घरले नै पोखराको सुन्दरता थप्छन् भन्ने ज्ञान हुनुपर्ने महानगर त्यसको महत्वप्रति बेखबर र उदासीन देखियो । परिमाणतः सम्पदा मासियो । कलात्मकता नासियो र एक कालखण्डको वैभव इतिहास बन्ने अवस्थामा पुग्यो ।

अहिले बल्ल अलिकति चेत खुलेजस्तो भएको छ । पोखरा महानगरले पुरानो शैलीमा घर बनाउनेहरुलाई राजस्वमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पुरानो शैली भनेको कस्तो हो भन्ने मापडण्ड नभए पनि पुराना मौलिक संरचनाहरुको महत्वबोध भने भएको छ । यो खुशीको कुरा हो । तर यतिले मात्रै केही हुनेवाला छैन । महानगरले घोषणासँगै यस्ता संरचना निर्माणमा प्रोत्साहन दिने नीति अख्तियार गरेको छैन । अब राजस्व छुटले मात्रै पुराना शैलीका घर बन्छन् भन्ने छैन । त्यसैले महानगरले पुरानो शैलीका घर बनाउनेहरुलाई अनुदानको व्यवस्था गर्नुपर्छ ।

निश्चित वर्षसम्म कर छुट दिइनुपर्छ । भत्किएकाहरु त भत्किइसके । अब बाँकी रहेकाहरुलाई कसरी संरक्षण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने भएको छ । बाँकी रहेका घरहरुलाई संरक्षण गर्न र पुरानै शैलीमा सुरक्षित बनाउन पुनर्निर्माण गर्न सघाउनुपर्ने भएको छ । बन्दीपुरमा पुराना शैलीका घरहरुलाई आधुनिकीकरण गरिएको छ । ती घरहरु पर्यटकीय दृष्टिले आर्थिक लाभ दिने भएका छन् । पोखरा महानगरले पनि बन्दीपुरबाट सिको गर्नुपर्छ ।
अर्कोतर्फ देशैभर पुराना भत्काउने र नयाँ बनाउने चलन चलेको छ । नयाँ बनाउनु अन्यथा हैन तर आफ्नो मौलिकपन जोगाउन के गर्न सकिन्छ भन्नेबारे राष्ट्रिय नीति नै बनाउनुपर्ने भएको छ । मौलिकताले परिचय स्थापित गराउँछ । मौलिकता बेचेर समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने सत्यलाई अब सबैले मनन गर्नै पर्ने भएको छ ।
– राजेश पाण्डे, काठमाडौं ।

वर्षायाममा निम्तिने खतराप्रति सावधान !
असार ५ गतेदेखि नेपालमा सामान्यरुपमा मनसुन प्रवेश गरेको छ । हरेक साल मनसुन अर्थात् वर्षायाममा तराईवासीले बाढीको सामना गर्नुपर्छ । त्यो नियति यो वर्ष पनि पुरानै पारामा दोहोरिने देखिन्छ । हिउँदमा शान्त बग्ने साना खोलाहरु वर्षाको बाढीसँगै विनाशकारी बन्ने गर्छन् । वर्षायाममा बाढी र पहिरोको समस्याले स्थानीयवासीलाई पिरोल्ने गर्दछ । गतवर्ष पनि बाढी–पहिरोका कारण सयौँ नागरिकले ज्यान गुमाउनुपरेको थियो । प्राकृतिक प्रकोपलाई रोक्न कसैले सक्दैन । तसर्थ, प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगाउन राज्यले सावधानी अपनाउनुपर्छ । विगतमा जस्तो ठूलो मानवीय क्षति पुनः नदोहोरिएका भन्न सकिन्न ।

तसर्थ, राज्यले प्राकृतिक प्रकोपबाट निम्तिन सक्ने क्षति कम गर्न आवश्यक पूर्वतयारी गर्नुपर्छ । आगामी दिनमा बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपबाट नागरिकलाई सुरक्षित बनाउन राज्यले विशेष ध्यान दिन आवश्यक छ । प्राकृतिक प्रकोपकोे प्रभाव रोक्ने दीर्घकालीन उपाय अपनाउन राज्य गम्भीर हुन जरुरी छ ।
– भरोसा सुनार, पोखरा

प्रतिक्रिया दिनुहोस्