सरकारको चौतर्फी आलोचना



चौतर्फी आलोचनाको सिकार बनेको सरकार आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको आलोचना खेप्न बाध्य हुन थालेको छ । सरकारको काम गर्ने शैलीले जनतामात्र वाक्कदिक्क भएका छैनन्, पार्टीका नेता तथा कार्यकर्तासमेत आजित भएका छन् । विपक्षीको आलोचनाको सिकार भएको सरकार आफ्नैबाट समेत आलोचनाको सिकार हुन थालेपछि सरकारको लोकप्रियतामा ह्रास आउने क्रमले तीव्रता पाएको छ । झन्डै तीन दशकको उतारचढावपछि नेपाली जनताले नेकपालाई स्पष्ट बहुमत दिएको भए पनि सरकारको काम गर्ने शैलीले जनतामा आक्रोश पैदा गरिदिएको छ ।

प्रधानमन्त्री केपी ओलीले चुनावताका व्यक्त गरेका अभिव्यक्तिलाई अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताले झलझली सम्झन थालेका छन् । सरकारले गरेका कामले जनताबाट वाहवाही पाउनुपर्नेमा जनताको अपेक्षाभन्दा बाहिर गएर सरकारले काम गर्न थालेपछि जनताको निरासका पोकाबाहेक केही देखिँदैन । जनताको नजरमा गिरेको वर्तमान सरकार आफ्नै पार्टीका नेता र कार्यकर्ताको नजरबाट पनि क्रमशः गिर्न थालेको छ ।

जनताको प्रतिनिधित्व गरेर संघीय संसद्मा पुगेका सांसदहरुले समेत सरकारको खुलेआम तीव्र आलोचना गर्नुले सरकार कुन स्थानमा रहेको छ भन्ने प्रस्ट हुन्छ । जनअपेक्षालाई सम्बोधन नगर्ने हो भने सरकारको नेतृत्व गरिरहनुभएका पार्टी अध्यक्ष केपी ओलीले सरकारबाट फिर्ता हुनुपर्ने भनी सांसदहरुले चेतावनी दिनुले सरकार कति अलोकप्रिय हुँदै गएको छ भन्ने स्पष्ट हुन्छ ।
हरेक भाषणमा गुलियो र नौलो कुरा गरेर जनतालाई कति दिन ढाँट्न सकिन्छ भन्दै सत्ता पक्षका संसदहरुले नै सरकारका नेतृत्वकर्तालाई पटक–पटक प्रश्न गर्दा पनि उनीहरुले समेत चित्त बुझ्दो जवाफ पाउन सकेका छैनन् भने जनताले सरकारबाट कस्तो उत्तर पाऊलान् ? यो सोचनीय विषय भएको छ ।

नयाँ–नयाँ नारा ल्याउने तर नाराअनुसारको काम नगर्ने सरकारलाई काम गर्नबाट कसले रोकेको छ ? अहिलेसम्म कसैले पनि बुझ्न सकेका छैनन् । सरकारमा रहनेहरुलाई सल्लाह दिने सल्लाहकार र सल्लाह लिने सरकार प्रमुखले बेलैमा नसोच्ने हो भने अहिलेको यो सरकारमाथि अझ चौतर्फी आक्रमण नहोला भन्न सकिन्न ।

हरेक विषयमा प्रधानमन्त्री आफंैले सबै कुरा गर्न पनि सक्दैनन् । उनले सल्लाहकारको सहायता लिने हो तर प्रधानमन्त्रीका अहिलेका सल्लाहकार नै आफैं प्रधानमन्त्री भएका कारण सरकार अप्ठेरोमा पर्ने गरेको चर्चा बजारमा सुनिन्छ तर काममा बाधा गर्ने सल्लाहकारलाई च्यापेर हिँड्नुपर्ने बाध्यता अहिलेको सरकारलाई किन प¥यो ? कसैले पनि भेउ पाउन सकेका छैनन् । अलोकप्रियताको सिँढी चढ्ने क्रममा रहेको अहिलेको सरकारले आफूलाई बेलैमा सच्याउने काम गरेन भने यो सरकार अल्पायुमै नजाला भन्न सकिन्न । यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्