अदम्य साहस र समन्वयकारी क्षमताका नायक

सन्दर्भः गिरिजाप्रसाद कोइरालाको जन्म जयन्ती



वि.सं. १९८१ असार १८ गते । निर्वासित समाज रुपान्तरणका अग्रणी प्रजातान्त्रिक योद्धा कृष्णप्रसाद कोइरालाका कान्छा छोराको रुपमा एउटा प्रजातान्त्रिक सेनापतिको जन्मदिन । प्रजातान्त्रिक नेपालको एउटा अविस्मरणीय नाम गिरिजाप्रसाद कोइराला ।

प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र विकासका लागि सदैव अविचलित नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रका लागि कुनै नेपालीले कुनै किसिमको आन्दोलन फेरि कहिल्यै गर्नु नपरोस् भनेर ८३ वर्षको उमेरमा पनि २०६२÷६३ सालको आन्दोलनमा सेनापतिको रुपमा सडक संघर्षमा होमिने गिरिजाप्रसाद कोइराला ।

प्रजातन्त्र पुनस्र्थापनापश्चात् २०४८ को आमनिर्वाचनपछि जननिर्वाचित नेपालको बारम्बार हुने प्रधानमन्त्रीका रुपमा भन्दा पनि एउटा क्रान्ति नायकका रुपमा उहाँको परिचय नेपाली जनताले पाएका हुन् । समसामयिक नेपालका सबैभन्दा ओजश्वी र अग्ला नेता गिरिजाप्रसाद कोइरालाको महाप्रस्थान भएको पनि ९ वर्ष भइसकेछ । समय बितेको पत्तै पाइएनछ ।

नेपाली राजनीतिमा उहाँको कमी अझै पनि उस्तै देखिन्छ, जुन आजभन्दा ९ वर्षअघि महसुस गरिएको थियो । बितेका ९ वर्षमा पनि उहाँको रिक्तता पूरा हुन सकेको छैन । मानिसहरू कसैको निधनपश्चात हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दा भन्ने र लेख्ने गर्छन् कि असामयिक निधन भयो, अपूरणीय क्षत हुन पुग्यो । वास्तवमा गिरिजाबाबुको निधनचाहिँ नेपाली राजनीतिमा असामयिक नै भएको रहेछ । अपूरणीय क्षति नै भएको रहेछ ।

हरिविनोद अधिकारी

एउटा गतिशील राष्ट्र र सबल राष्ट्रका स्वाभिमानी जनताका लागि राष्ट्रियता र प्रजातन्त्र भनेको अभिन्न अवयव मान्ने कोइराला । राष्ट्रियता र प्रजातन्त्रलाई एउटै सिक्काका दुई पाटा मान्ने कोइराला, चाहे पञ्चायतका विरुद्धको सशस्त्र संघर्ष होस् वा पञ्चायतको विकल्पको खोजीमा गाउँ–गाउँ जनताको राय लिन जाने एउटा सक्रिय राजनेताको रुपमा होस्, नेपालको अनुहार फेर्न र आगामी दिनमा प्रजातन्त्रको लागि कसैले पनि कहिल्यै आन्दोलन गर्नु नपरोस् भनेर आफ्नै जीवनकालमा नै प्रजातन्त्रको प्रत्याभूति दिलाउन आजीवन त्यागको प्रतिमूर्ति गिरिजाप्रसाद कोइराला ।

कुनै एउटा व्यक्तिको अनुपस्थितिले मुलुकको राजनीतिको गति नै रोकिनुपर्ने वा जानुपर्ने दिशातिर नगएर गलत दिशातिर मोडिने सम्भावना सामान्यतः भएको पाइँदैन । कतिपयको निधनले मुलुकको राजनीतिले फेरि नयाँ बाटो पहिल्याएको देखिन्थ्यो तर उहाँको निधनले नेपाली राजनीतिको गतिलाई समेत सीमित बनाएको रहेछ । उहाँलाई नेपाली राजनीतिबाट पन्छाउन तत्कालीन एनेकपा माओवादीले शुरु गरेको अभियानले आज आफ्नो नकारात्मक परिणाम देखाइरहेको छ । त्यसको माखेसाङ्लोमा सबैभन्दा बढी जेलिएको त उही नै देखिएको छ । खोलो त¥यो, लौरो बिर्सियो भन्ने अस्वस्थकर राजनीतिक खेलले पनि आजको राजनीतिक मञ्चमा गलत परिणामहरू देखिन थालेका हुन् भन्ने कुरा ढुक्कसँग भने हुन्छ । भनिन्छ, तत्कालीन एमाओवादीले गिरिजाबाबुलाई राष्ट्रपतिको आशा देखाएको थियो । यदि त्यो सत्य थियो भने गिरिजाबाबु राष्ट्रपति अनि प्रचण्ड प्रधानमन्त्री भएको समयमा नै संविधान आउँथ्यो र सफल कार्यान्वयन त्यही बेलामा नै हुन्थ्यो भन्ने अनुमान सहजै गर्न मिल्छ ।

२०३६ सालको जनमत संग्रहको प्रयोजनका लागि आममाफी पाएका धेरै नेतामध्ये गिरिजाबाबु पनि एक हुनुहुन्थ्यो । उहाँ लामो प्रवासपछि २०३७ सालको शुरुमा आममाफी पाएर मात्र नेपाल प्रवेश गर्नुभएको थियो त। र नेपाली राजनीतिमा उहाँको नाम पहिलेदेखि नै क्रान्तिकारी नेताको रुपमा चित्रित थियो । त्यसपछिका दिनहरुमा गिरिजाबाबुका काम नेपालीहरुका लागि खुला किताब जत्तिकै स्पस्ट छ ।

अहिले राजनीतिक फाँटमा एउटा कुरा बडो जोडतोडका साथ भन्ने गरिन्छ कि राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्यागी हुन सक्नुपर्छ । र, निःस्वार्थका साथ मुलुकका लागि काम गर्नुपर्छ । वास्तवमा यो उत्तरआधुनिक नेपालमा त्यसोचाहिँ गिरिजाबाबुले मात्र गर्नुभयो । मुलुकलाई शान्तिको आवश्यकता छ भन्ने महसुस गरेर नै उहाँले आफ्नो दलभन्दा माथि उठेर र हिंसात्मक सशस्त्र युद्धमा रहेको त्यस्तो दल नेकपा माओवादी जसले सबैभन्दा ठूलो शत्रु भनेर नेपाली कांग्रेसलाई मात्र घोषणा गरेको थियो । त्यसैलाई सम्झाएर, बुझाएर र राजनीतिको प्रजातान्त्रिक मूलधारमा ल्याई सत्ताको भागीदारसमेत बनाउनुभयो । यसो गरेकोमा नेपाली कांग्रेसमा अझै त्यसको विरुद्धमा ध्वनि–प्रतिध्वनि आइरहेको छ । नेपाली कांग्रेसलाई चीनको कोमिन्ताङ बनाएको भनी देश तथा विदेशमा पनि उहाँको विरोधमा नारा अझै लगाइँदै छ ।

सधँैभरि पड्कने बम, मारिने नेपालीका परिवारको चित्कार र मुलुकमा अब कहिले यो द्वन्द्व थामिएला भन्ने अन्यौलका बीचमा आफूलाई र आफ्नो दललाई महान शत्रु घोषणा गर्ने भूमिगत गुरिल्ला योद्धालाई शन्तिमार्गमा ल्याउनुभयो, लोकतन्त्रप्रतिको आस्थावान् बनाउनुभयो र लोकतान्त्रिक प्रक्रियाद्वारा लोकतन्त्रको संरक्षण गर्नका लागि बाध्य बनाउनुभयो । हामीले के कुरामा गर्व गर्नुपर्छ भने, भूमिगत गुरिल्ला युद्ध गर्नेहरू नै अहिले नेकपाको रुपमा एमालेमा समाहित भएर लोकतान्त्रिक प्रक्रियाद्वारा संसदीय मान्यता र सिद्धान्तका आधारमा सरकारमा रहेका छन् । त्यो पनि संसद्मा बहुमतको सरकारमा, प्रतिपक्षमा कांग्रेस रहेर ।

अहिलेको विश्वमा लोकतन्त्रका विरुद्धमा जानेहरूको के हाल हुन्छ भन्ने कुराका लागि नेपालको माटोमा जरो गाडेर बसेको राजतन्त्रको अवस्था नै अनुपम उदाहरण बनेको छ । प्रजातन्त्रका विरुद्धमा कम्मर कसेर लागेको राजतन्त्रलाई समाप्त गर्ने वैधानिक नायकत्व गिरिजाबाबुले गर्नुभएको थियो र राजतन्त्रपश्चात् लगत्तै कायम मुकायम राष्ट्राध्यक्षको रुपमा प्रधानमन्त्रीको हैसियतले उहाँ नै हुनुहुन्थ्यो ।

इतिहासमा त्यस्तो बेला एकपल्ट एकजनाको हातमा आउँछ भन्ने कुरा गिरिजाबाबुको त्यो साहसका लागि लागू हुन्छ, जसले जंगल कब्जा गरेको कुरा गर्थे, उनैलाई सत्तामा भागीदार बनाउने आँट गर्नुभयो र मुलुक आजको अवस्थासम्म आएको छ । नेपालमा नै गिरिजाबाबुजस्ता साहसी रणनीतिकार नेता थिए भन्ने कुरा भावी दिनमा हाम्रा सन्ततिलाई सुनाउन पाउने इतिहास आजको विश्वमा हामीसँग मात्र छ । उहाँको देहावसानपश्चात्का दिनमा शान्तिप्रक्रियाले त्यस्तो गति लिन सकेन, चाहे त्यो जुनसुकै कारणले होस् । किनभने सत्य निरुपण र मेलमिलाप आयोगले अझै पूर्णता पाउन नसकेको अवस्था छ ।

संसद् र लोकतन्त्रप्रतिको घृणात्मक आक्रोशलाई विद्रोहको स्वरुपमा बदलेर जनयुद्धको नायकत्व गरी आएको दल र त्यसका अराजक नेताहरूलाई लोकतान्त्रिक संस्कारको राजनीतिमा अभ्यस्त बनाउन समय लाग्छ । त्यही समयको खपत भएको अहिले स्पष्टै देखिन्छ । एकातिर माओवादीका कार्यकर्ता र लडाकुहरूमा दलको जन्मकालदेखि नै सम्पूर्ण खराबीको जड संसदीय व्यवस्था र लोकतन्त्र हुन् भनी संसदीय प्रणालीप्रति घृणा उत्पन्न गराइएको थियो भने अर्कोतिर लोकतन्त्रप्रतिको समर्थन गर्नै पर्ने बाध्यकारी अन्तर्राष्ट्रिय स्थिति सृजनाले उत्पन्न गरेको द्विविधाजनक अवस्थाले गर्दा पनि तत्कालीन माओवादीमा अन्यौलपूर्ण राजनीतिले अझै शान्तिकार्यको काम बाँकी रहेको हो । जसको परिणामको रुपमा अहिले पनि तत्कालीन माओबादीबाट फुटेका माओवादीहरुमा देख्न सकिन्छ, वैद्य माओवादीका रुपमा होस् अथवा विप्लव माओवादीका रुपमा होस् ।

गिरिजाबाबुले आत्मसात् गरेर नै जस्तोसुकै कठिन अवस्था भए पनि हतियारसहितका सेना भएका माओवादीलाई निहत्था जनतासँग निर्वाचनमा ल्याउनुभयो र निर्वाचनको सुन्दरतासँग आमनेसामने गराउनुभयो । वास्तवमा पहिलो संविधानसभाको निर्वाचनले सबैभन्दा क्षति नेपाली कांग्रेसलाई भएको थियो । त्यो साख निर्माण गर्ने बेलामा गिरिजाबाबुको निधन भयो । नेपाली कांग्रेसले त्यो रिक्तता पूरा गर्न अझै सकेको छैन तर नेपालमा शुरु भएको शान्तिप्रक्रियाले एउटा परिणाम लिने पक्का छ । नेपाली कांग्रेसले निर्वाचनमा सरकार बनाउने मत ल्याउन नसकेको अवस्था त छ, तर सिद्धान्तमा जितेको छ । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि त झन् नेपाली कांग्रेसमा नेतृत्वको रिक्तता छ, नेपाली कांग्रेस कुहिरोको काग भएको छ । पक्ष र विपक्षको समस्या समाधानमा एकाकारविना शान्तिप्रक्रियाले गति लिन नसक्ने स्पष्ट देखिन्छ ।

यसैलाई गिरिजाबाबुले दलभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई एउटा अन्यौलपूर्ण महाभेलमा फसेको डुंगालाई माझभेलबाट किनारामा ल्याउनुभएको थियो । आज त्यही कुरा नै स्मरणीय हुन जान्छ । भोलिका लागि अनुपम उदाहरण बन्न जान्छ । महामानव गिरिजाप्रसादको सम्झनामा हामीले कुनै दीप प्रज्ज्वलन गर्नु जरुरी छैन, कुनै स्मारक बनाउनु जरुरी छैन । प्रजातन्त्रको दियो जलाइरहनु नै पर्याप्त हुनेछ । उहाँको सम्झनामा शान्ति र स्थिरता कायम गरेर मुलुकमा सदाका लागि शान्ति स्थापना गरी राजनीतिक स्थायित्व दिनु जरुरी छ । यति गरेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सफलताको आधारशिला राख्ने भनेको नै लोकतन्त्रको संस्थागत विकास हुनु हो । यदि कोही पनि वा कुनै दलले पनि लोकतन्त्रको विरुद्धमा गएर नेपालको राजनीतिमा स्थायित्व ल्याउने सपना देखेको छ भने वा त्यस्तो धृष्टता गर्दछ भने एक्काइसौँ शताब्दीमा जनभेलले त्यस्ता व्यक्ति वा समूहलाई सदाका लागि समाप्त पार्नेछ भन्ने उदाहरण अहिलेका विश्वमा प्रजातन्त्र र सामाजिक न्यायप्रतिको जागरणले विश्वलाई दिएको छ ।

अहिले गिरिजाबाबुलाई बिर्सिने खेल नेपाली कांग्रेसभित्रै भइरहेको आभास हुन्छ । अहिलेको सबै राजनीतिक विकृतिको दोष उहाँमा खन्याएर सबै पानीमाथिको ओभानो हुन चाहेका छन् तर के बिर्सिए भने, अन्तरिम संविधान आएपछि नै मधेस आन्दोलनले उग्ररुप लिएको थियो । कोइरालाको क्रान्तिकारी अतीत, अदम्य साहस र स्वार्थरहित समन्वयकारी क्षमताले गर्दा नै पहिलो संविधानसभाको निर्वाचन सम्भव भएको थियो । त्यसपछिका दिनहरु पनि अझै उहाँका देनहरुले डोरिँदै गएका छन् । तर लाग्दै छ, मुलुक अबचाहिँ अकल्पनीय परिणामका लागि कतै डोरिँदै छ र फेरि उहाँको आवश्यकताबोध हुने गरी तुफान आउन थालेको छ । आशा गरौँ, स्वार्थभन्दा माथि उठेर समन्वय गर्ने अर्को गिरिजाप्रसाद यहाँ जन्मियोस् र द्वन्द्वरहित अनि सामाजिक न्यायतर्फको बाटोमा मुलुकलाई लिएर जाने कामको थालनी गर्न सकोस् । नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रको स्थायित्व नै गिरिजाबाबुप्रतिको श्रद्धाञ्जलि हुनेछ ।

कांग्रेसी जनले उहाँको योगदान बिर्सिऊन् या सम्झिऊन्, तर नेपालीजनले कोइरालाको त्यो गुण बिर्सिनेछैनन्, जसले जनहत्याको रापले धपधपी बलेको नेपालको राजनीतिमा मलम लगाउँदै शान्तिको सन्देश फैलाउनुभएको र ती जनहत्याका नायकहरुलाई प्रजातन्त्रमा जनताको महत्व सम्झाउँदै शान्तिको मूलधारमा ल्याएर कर्तव्याकर्तव्यको पाठ पढाउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्