स्पेनलाई युथ युरो उपाधि



लन्डन, (एजेन्सी)
युरोपियन युथ २१ फुटबल च्याम्पियनसिपको उपाधि स्पेनले जितेको छ ।
ईटालीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले २१ वर्ष मुनीको युरोपियन च्याम्पियनसिपको उपाधि जितेको हो ।

स्पेनलाई च्याम्पियन बनाउने क्रममा फाबियन रुइज पेनाले सातौँ र डानिएल ओल्मो कार्भायालले ६९औं मिनेटमा गोल गरेका थिए । जर्मनीका लागि नदिएम अमिरीले ८८औं मिनेटमा सान्त्वना गोल फर्काए ।

इासंगै स्पेनले उमेर समूहको यही प्रतियोगितामा सन् २०१७ को फाइनलमा जर्मनीसँग बेहोरेको हारको बदला समेत लिएको छ । त्यतिबेला जर्मनीले स्पेनलाई फाइनलमा १–० ले पराजित गरेको थियो । तर दुई वर्षपछि जर्मनीलाई पराजित गर्दै स्पेनले सर्वाधिक उपाधि जित्ने इटालीको कीर्तिमानसंग पनि बराबरी गरेको छ । इटाली र स्पेनले समान ५÷५ पटक युरो यू–२१ जितेका छन् ।

गत संस्करणमा उपविजेतामा चित्त बुझाएको स्पेन यू–२१ का कप्तान जेस भालेजो र डानी सेबालोसले यस पटक भने च्याम्पियन ट्रफी उचाल्ने अवसर पाए । दुवै खेलाडी स्पेनिस फुटबलका महारथी रियल मेड्रिड क्लबबाट फुटबल खेल्दै आएका छन् । स्पेनलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका फाबियन रुइज प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै प्रतियोगिताभर सर्वाधिक ७ गोल गरेका लुका वाल्समिच्टले गोल्डेन बुट प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्