भारतको पराजयमा धोनीको आलोचना



नयाँ दिल्ली, (एजेन्सी)
इंग्ल्यान्डमा जारी क्रिकेट विश्वकपमा आईतबार भएको खेलमा भारत पराजित भएको छ ।

घरेलु टोली इंग्ल्यान्डसँग ३१ रनले हार्दा सबैभन्दा बढी भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी बढी आलोचित हुनुप¥यो । इंग्ल्यान्डले ३ सय ३८ रनको विशाल लक्ष्य दिएको थियो । भारतले ब्याटिङमा हार्दिक पाण्ड्या क्रिजमा रहेसम्म जित्ने संभावनामा पनि थियो । तर हार्दिकको विकेट पतनपछि धोनी र केदार जाधबले जित्नको लागि कोसिस नै नगरेको आरोप लगाइएको छ ।

सोसियल मिडिया यूजर्सले उनीहरुले निकै सुस्त ब्याटिङ गरेको भन्दै सोसियल मिडियाको वाल विभिन्न टिप्पणीका साथ भरेका थिए । धोनीले ३१ बलमा ४ चौका र १ छक्कासहित ४२ रन जोडेका थिए । त्यसतै जाधवले १२ बलमा मात्र १३ रन बनाएका थिए ।

भारतीय टोलीका पूर्व कप्तान र कमेन्टेटर सौरभ गांगुलीले समेत धोनी र जाधवको सुस्त ब्याटिङ देखेर हैरान भएको बताए । उनले भने–जब ५ विकेट हातमा रहेको अवस्थामा पनि जित्न कोशिस गर्दैन भने यो माइन्ड सेट बाहेक अरु के हुनसक्छ ।

यसअघि अफगानिस्तानविरुद्धको खेलमा पनि धोनीको सुस्त ब्याटिङमा सचिन तेन्दुलकरले निकै आलोचना गरेका थिए । क्रिकेटमा सबैभन्दा बढी शतक प्रहार गरेका सचिन कसैको त्यसै आलोचना गर्दैनन् । तर उनको आलोचनाले पनि धोनीको ब्याटिङ विस्फोटक बन्न सकेन ।

पाकिस्तानबाट पनि आलोचना
भारतको हारले स्पोर्टसम्यानसिप उनीहरु असफल भएको पूर्व पाकिस्तानी बलर वकार युनिसले ट्वीटमा बताएका थिए । यस्तै पाकिस्तानकै पूर्व क्रिकेटर बासित अली र सिकन्दर बख्तले भारतले इंग्ल्यान्डसँग हारेर पाकिस्तानलाई प्रतियोगिताबाट बाहिर पठाउने उद्देश्य लिएको भन्दै गम्भीर आरोप लगाए ।

यो खेल जितेमा भारत सेमिफाइनलमा पुग्ने पक्का हुने थियो । तर हारले भारतले बाँकी दुई खेलमध्ये एकमा जित हासिल गर्नु पर्ने दवाव बढेको छ । उता इंग्ल्यान्डको लागि भने यो जितले सेमिफाइनलमा पुग्ने आस जिवितै रहेको छ । यद्दपि टोलीले अन्तिम खेलमा न्युजिल्यान्ड जस्तो बलियो प्रतिद्वन्द्वीलाई हराउनु आवश्यक छ । भारतको ११ अंक छ भने इंग्ल्यान्डको १० अंक रहेको छ।

भारतमाथि पहिलो जित
इंग्ल्यान्डको विश्वकप क्रिकेटमा यो भारतमाथि पहिलो जित हो । इंग्ल्यान्डले यसअघिका विश्वकपमा ७ खेलमा भारतलाई हराउन सकेको थिएन । भारतको भने जारी विश्वकपमा यो पहिलो हार हो । भारतले मंगलबार बंगलादेशसँग खेल्नेछ भने न्युजिल्यान्डसँग इंग्ल्यान्डको खेल बुधबार हुनेछ ।

रोहितको तेस्रो शतक
भारतीय ओपनर रोहित शर्माले जारी विश्वकपमा तेस्रो शतक प्रहार गरे । उनले यसअघि दक्षिण अफ्रिकाविरुद्ध १ सय २२ रन र पाकिस्तानविरुद्ध १ सय ४० रन बनाएका थिए । यो दुबै खेल भारतले जितेको थियो । तर रोहितको १ सय २ रन बनाएपनि भारतले हार बेहोर्दा उनको शतक खेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्