रङको प्रयोगबाट  व्यक्तित्व झल्किन्छ



पूर्वाधार निर्माण पूरा भएपछि त्यसलाई आकर्षक बनाउन विभिन्न रङहरूको प्रयोग गर्ने गरिन्छ। चाहे त्यो घर होस् वा अन्य पूर्वाधार रङ प्रयोग गरेपछि त्यसको आकर्षण छुट्टै हुने गरेको छ।केही हदसम्म नेपालमा घर रङ्गाउनका निम्ति परम्परागत शैली अपनाउने गरिएको छ। विशेष गरी ग्रामीण क्षेत्रमा रातो, सेतो, पहेंलो माटोको प्रयोग गरेर घरको शृंगार गर्ने गरिन्थ्यो।
घर रङ्याउने पारम्परिक रङमा रातो माटो, कमेरो, कालीमाटी तथा पहेंलो माटोलगायत पर्दछन्। पम्परागतरूपमा घर सजाउन स्रोतबाट सफा तथा शुद्ध माटोलाई ल्याएर कम्तीमा १ रात भिजाउने गरिन्छ। यसरी भिजाइएको माटो नरम, तथा लिसाइलो बन्छ। प्रयोग गर्दा भित्तामा लगाई एक दिन सुक्न दिइन्छ। राम्रोसँग सुकेको माटो घरको भित्तामा लामो समयसम्म टिक्छ।

यसरी लगाइएको माटो सफा स्रोतबाट भए स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ। पछिल्लो समयमा प्रविधिको विकाससँगै ग्रामीण क्षेत्रमा पनि आधुनिक रङको प्रयोग गर्ने गरिन्छ। नेपाली बजारमा स्वदेशी तथा विदेशी कम्पनीका विभिन्न रङ उपलब्ध छन्।

विशेष गरी एसियन, पशुपति, बर्जर, कन्साई नेरोल्याकलगायतका रङका ब्रान्ड नेपाली बजारमा उपलब्ध छन्। अनेक गुणस्तर तथा कलर भेराइटीका साथै मानव स्वास्थ्य र वातावरणका क्षेत्रमा कुन रङले कस्तो असर गर्छ भन्ने विषयमा ग्राहकलाई आफूले प्रयोग गर्ने रङको विषयमा जानकारी पाउन कठिन हुन्छ।

नेपालमा उपलब्ध रङमा बाहिर तथा भित्र दुवै भागमा प्रिमियम, इकोनोमिक र रेगुलर गरी विभिन्न प्रकारका रङ उपलब्ध छन्। भित्तामा रङ लगाउनुअघि लगाइने वालपुट्टी, प्राइमर, इमल्सन, डिस्टेम्पर आदि पनि रङकै उत्पादन हुन्।

नेपालमा उत्पादन गर्ने पेन्टले एक्स्टेरियर तथा इन्टेरियरमा स्पेसल इफेक्ट्स, उड फिनिस, इनामेल जस्ता कलर पनि उत्पादन गर्दै आएका छन्।
शहरी क्षेत्रमा घरमा रङ लगाउने कुरामा सामान्य नै मानिन्छ। तर, हिजोआज समयको रूपान्तरणसँगै रङले मानिसको स्वभाव र व्यक्तित्व पनि उजार गर्न सक्छ भन्नेतर्फ उपभोक्ता सजग भएका छन्। केही अघिसम्म करोडौंं रुपियाँ खर्च गरेर घर निर्माण गर्नेहरू पनि वर्षौंसम्म घरमा रङ नलगाई बस्थे तर अहिले घर स्टिमेटको बजेटभित्रै रङका लागि पैसा छुट्याइन्छ।
घरको लुक्स बढाउन कुन रङ प्रयोग गर्ने भन्ने विषयमा चासो दिन थालिएको छ। परिवारभित्र लामो छलफल हुने गरी विज्ञहरूको सल्लाह लिन थालिएको छ। साथसाथै इन्टेरियर डिजाइनरसमेत राख्ने गरेका छन्।
किचनमा कस्तो रङ लगाउने, लिभिङ रुममा कुन रङ लगाउने, बेडरुममा कस्तोलगायतका इन्टेरियर कलरिङ विषयमा पनि मानिसले ध्यान दिने गर्छन्। रङको गुणस्तर, यसले मानव स्वास्थ्यमा पार्ने प्रभाव र व्यक्तित्वसमेत झल्काउने भएकाले उपभोक्ता सजग रहेको यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ।
सामान्यता घरको बाहिरी रङले घरको सुन्दरताको व्याख्या गर्छ। तसर्थ, घरको रङ अरूको भन्दा फरक र सबैलाई आकर्षित गर्ने खालको हुनुपर्छ। साधारणतया घरको बाहिरी रङ मन्द खालको हुनुपर्छ। धेरै चम्किलो रङ खासै आकर्षक मानिँदैन।
त्यस्तै किचन घरको महत्वपूर्ण स्थान हो। जहाँ परिवारका सबै सदस्य प्रायः एकसाथ बस्ने गरिन्छ। नेपाली परँम्पराअनुसार किचेनमा महिला र बालबालिकाले बढी समय बिताउने गरेका छन्। त्यसैले किचनमा आँखालाई बाधा नपर्ने रङ लगाउनुपर्छ।
सकेसम्म इजी क्लिन रङ लगाउनु उपयुक्त हुन्छ किनभने किचन त्यस्तो ठाउँ हो, जहाँ पानी बढी खेलाइन्छ। भान्साका लागि पानीले पनि नबिगार्ने तथा सहजै सफा गर्न सकिने रङ फिट हुन्छ।घरको सन्दर्भमा बेडरुम पनि एउटा महत्वपूर्ण स्थानमध्ये पर्छ।
जहाँ दिनभरिको थकान मेटाउन विश्राम गरिन्छ, बेड रुमले मानिसको रात्रि जीवनमा पनि प्रत्यक्ष सरोकार राख्ने भएकाले मानिसको स्वभावअनुसार प्रयोग गर्न सकिन्छ। यस्तो ठाउँमा मन शान्त हुने खालका लाइट ब्लु, लाइट पिंक वा अफ ह्वाइट रङ लगाउन सकिन्छ। बजारमा हालसालै देखापरेको सिल्क कलर बेडरुमका लागि उपयुक्त रङ हो।
मानिसको व्यक्तित्व झल्काउने मात्रै होइन, आगन्तुकहरूलाई आफ्नो खुबी देखाउने ठाउँ लिभिङ रुम हो। घरमा प्रवेश गर्नेबित्तिकै देखापर्ने लिभिङ रुम भएको हुनाले यसको प्रभाव धेरै हुन्छ। तसर्थ, यो अन्य कोठाभन्दा आकर्षित हुनुपर्छ। पर्याप्त प्रकाश आउने कोठा भएकाले यसमा सजावट गर्नुपर्ने अन्य सामग्री राख्न सकिन्छ। सुन्दर देखाउन ब्राइट कलर लगाउनु उपयुक्त हुन्छ।
यसमा आफूलाई मन पर्ने गरी जुनसुकै उत्तम रङ छान्नु बुद्धिमानी हुन्छ। तर, भद्दा देखिने रङ भने लगाउनु हुँदैन।
सुन्दरतासँगै सुरक्षा
घर सजावटका निम्ति रङको संयोजन जति महत्वपूर्ण हुन्छ, त्यसको साथसाथै त्यसले मानव स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा पनि सचेत हुन त्यत्तिकै जरुरी छ। बजारमा अहिले विभिन्नखाले रङ आएका छन्।
राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा यसमाथि धेरै बहस भएका छन्। तथापि, सबै रङ स्वास्थ्य प्रतिकूल भने छैनन्। उपभोक्ताले घर अफिसमा सिल्कलगायतका उच्च गुणस्तरीय रङ छनोट गर्नुपर्छ। ब्रान्ड र बजारमा उसको गुणस्तरप्रतिको विश्वसनियताप्रति आम उपभोक्ता सचेत हुनैपर्छ।
रङ उत्पादक कम्पनीले रङमा लिडको मात्रा क्रमिकरूपमा घटाउँदै लगेका छन्। घर रङ्याउँदा प्रयोग गरिने इनामेलमा उच्च मात्रामा लिड रहेको र यसले मानव स्वास्थ्यमा असर गर्ने भन्दै आलोचना हुन थालेपछि कम्पनीहरूले यसमा सावधानी अपनाउन थालेका छन्।
लिडलेसमा पनि सिल्क, इमल्सन, ड्राइ ग्लसलगायतका रङको प्रयोग उपयुक्त रहेको विज्ञहरूको सुझाव छ। नेपालमा रङ उत्पादन गर्ने उद्योगले ९९ पीपीएमभन्दा बढी लिड प्रयोग गर्न पाइँदैन। मापदण्डमा रहँदै अहिलेको अवस्थामा अधिकांश कम्पनीको रङमा योभन्दा बढी लिड पाइँदैन। सस्ता, कमसल तथा बढी लिड भएको रङ प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुरालाई मध्यनजर गर्दै रङ उत्पादकले गुणस्तरीय रङ उत्पादन गर्न थालेका छन्।
केही रङमा भने ४ हजार पीपीएमसम्म लिड प्रयोग गरिएको मात्रा भेटिएको छ। यस विषयमा सर्वसाधारण सचेत हुन जरुरी छ। रङमा प्रयोग हुने लिडले सबैभन्दा धेरै असर बच्चाको बौद्धिक विकासमा पर्छ। लिडले श्वासप्रश्वासमा पनि असर गर्छ।

उच्च लिडको प्रयागले पुरुषमा उच्च रक्तचाप, नपुंसकता तथा किड्नीमा समस्या ल्याउन सक्छ। त्यस्तै महिलाको महिनावारी बिग्रने, गर्भ तुहिनेजस्ता समस्या देखिने गरेका छन्।

लिड बढी भएको रङकै कारण विश्वमा वर्षमा ६ लाख बालबालिका बौद्धिकता अपांग हुने र १ लाख ४३ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ। संसारका ६२ भन्दा बढी देशले रङको मापदण्ड पूरा गर्न सफल भए पनि नेपालमा उपलब्ध केही रङले सो मापदण्ड राख्न सकेका छैनन्। तसर्थ, घरमा लगाउन गुणस्तरीय रङ छनोट गरौं, स्वस्थ रहौं, वातावरण जोगाऔं।

साथसाथै निर्माणाधीन अवस्थामै रङ लगाउन खोज्नु उपयुक्त होइन। घर रङ्याउनुअघि आफ्नो क्षेत्र तयार छ कि छैन त्यसतर्फ केन्द्रित हुन जरुरी हुन्छ। रङ लगाइसकेपछि सुक्न पर्याप्त मात्रामा समय दिएको अवस्थामा मानव स्वास्थ्यमा नराम्रो असर पर्दैन। बिग्रिएका, मक्किएका भित्ता मर्मत गरेर मात्र कलर गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्