जताततै ‘सलामी’को चर्चा



मुलुक यति बेला ‘सलामी’ले तातेको छ । तताउने व्यक्ति धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल हुन् । उनले टेबुलमाथि चढेर सलामी खाएको तस्वीर सामाजिक सञ्जालमा आएपछि उनी आलोचनाको पात्र त बने नै, उनीजस्तै सलामीका भोकाहरुबारे पनि खोजिनीति थालियो । खेलकुद प्रतियोगिताको उद्घाटन गर्न पुगेका मेयरले टेबुलमाथि चढेर सलामी खाएका थिए ।

सलामी खाने त्यो दृश्य आफैंमा हास्यास्पद त थियो नै, शक्तिप्रतिको आशक्ति पनि झल्कन्थ्यो । तर यसरी अरुभन्दा अग्लिएर सलामी खाने पर्शुराम पहिलो व्यक्ति थिएनन् र हैनन् । यसअघि थुप्रै मै हुँ भन्नेले यही तरिकाबाट सलामी खाएका छन् । आफूलाई अरुभन्दा श्रेष्ठ हुँ भन्ने देखाएका छन् । यो उपक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि जोडिन पुगेका छन् ।

राज्यले निश्चित व्यक्तिलाई सलामी दिन्छ । सलामी पाउने हक भएकाहरुले सलामी खाँदा हुन्छ । प्रहरीले सलामी खाने व्यक्तिको निश्चित मापदण्ड बनाएको छ । तर मापदण्डमै नपरेकाहरुमा पनि सलामीको भोक जागेको छ । कोही पिर्का, कोही टेबुल त कोही केमा बसेर सलामी खाएका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेका छन् ।

यो सूचना प्रविधिको जमाना हो । सामाजिक सञ्जालमार्फत आफ्ना विचार तत्काल प्रकट गर्न पाउने स्वतन्त्रताको उपभोग गर्दै नागरिकस्तरबाट आएका आवाजहरु चर्कोरुपमा सुनिन थालेका छन् । नागरिक पत्रकारिताको अभ्याससँगै मै हुँ भन्नेहरुले देखाएको रवाफ र उनीहरुको ठाँटबारे कडा टिप्पणी तथा असन्तुष्टिका स्वरहरु गुञ्जन थालेका छन् । आफूले भोट दिएर जिताएका जनप्रतिनिधिमा देखिएको शक्तिमोहले जनता स्वयं लज्जित बनेका छन् । जनताबीचबाटै उठेकाहरुमा पनि कसरी शासक बन्ने महत्वाकांक्षा जाग्छ भन्ने उनीहरुले बुझ्न थालेका छन् । त्यसैले उनीहरु मुखरित बनेका छन् । जनता मुखरित भएको सत्ताले रुचाएको छैन । त्यसले ऊ सामाजिक सञ्जालप्रति अनुदार देखिएको छ ।

तर, जनताले बोल्न छाडेका छैनन् । उनीहरुले अहिले नेतामा देखिएको सलामीमोहप्रति कुरी–कुरी गरेका छन् ।
शक्तिको आडमा गरिने प्रपञ्चले व्यक्तिलाई कहीँ पु¥याउँदैन । जुन दिन मान्छे शक्तिहीन हुन्छ, त्यो दिनमा बल्ल उसले आफू कुन धरातलमा छु र थिएँ भन्ने थाहा पाउँछ । एउटा व्यक्तिले मात्रै विवेक पु¥यायो भने समाज रुपान्तरण हुन सक्छ । अहिले नेताहरुमा जुन शक्तिमोह देखिएको छ, त्यसले मध्ययुगीन सामन्तवादको स्मरण गराउँछ । अग्लो ठाउँमा बसेर मान्छे अग्लिने हैन, मान्छे अग्लन सोचाइ उँचो हुनुपर्छ । उँचो सोचाइ भएकाहरु यत्तिकै सलामी पाउँछन् । सत्ता र शक्तिको पछि लागेर अर्काको आँखाबाट गिर्नुभन्दा अघि आफैंले आत्मसमीक्षा गरौँ । मान्छे भएर कम्तीमा आफ्नै आँखाबाट समेत गिर्ने अवस्था नआओस् भन्नेमा सचेत हुने हो भने यस्ता विकृतिहरु आफैं नामेट भएर जान्छन् भन्ने तत्वबोध पनि गरौं ।
– सुरज कार्की, पोखरा ।

कृषि–सामग्रीको अभाव भो
मनसुन शुरु भएसँगै कृषकहरु खुशी भएका छन् । आकाशे पानीको भर पर्ने अधिकांश कृषकहरु पानी परेपछि खुशी त भएका छन् तर आवश्यक सामग्रीको अभावका कारण समस्यामा परेका छन् । खेतिपातीको मौसम भए तापनि मल, बीउलगायत आवश्यक सामग्रीहरु कृषकले सहजै पाउन सकिरहेका छैनन् । अहिले पनि देशका विभिन्न क्षेत्रमा मलको अभावका कारण कृषकहरु कृषिमा रमाउन सकिरहेका छैनन् । सरकारले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने ठाउँमा उल्टै कृषकहरुले सहजै पाउन सकिने रासायनिक मललगायत आवश्यक सामग्रीको अभाव झेल्नुपरिरहेको छ ।

सिंचाइको सुविधा नभएका कारण अधिकांश कृषकहरु आकाशे पानीको भर पर्छन् । यो समयमा उनीहरुलाई चाहिने सामग्रीको आपूर्ति गर्न सके थोरै भए पनि राहत मिल्ने थियो । तर, सधैँझैँ कृषकहरुलाई मलको अभावले पिरोल्ने गरेको छ । राज्यले कृषकको स–साना समस्यालाई समाधान गर्न पनि नसकेको अवस्थामा युवाहरुलाई कृषिमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्नु हात्तीको देखाउने दाँतजस्तो मात्र भएको छ । तसर्थ, कृषकहरुको समस्याको सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्छ । त्यसै गरी, कृषकहरुका लागि अहिलेको समय उचित भएकाले उनीहरुलाई उपकरण, बीउ, मललगायत आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित पक्षले प्राथमिकता दिनुपर्छ ।
– सुनिल ठाकुर, गैंडाकोट, नवलपरासी

सम्पदा जोगाऔं
संयुक्त राष्ट्रको विशेष संस्था युनेस्कोले काठमाडौँमा रहेका ६ सम्पदाहरुलाई विश्व सम्पदामा सूचीकृत गरे पनि संरक्षणको अभावले गर्दा खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ । विश्व सम्पदाका रुपमा युनेस्कोले सूचीकृत गरेको सम्पदा संकटमा पर्दै गएको छ । विश्व सम्पदामा सूचीकृत गर्दा सम्पदाको गुणलाई कायम गर्न नसक्दा युनेस्कोले खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो ।
विगतमा पनि उक्त संस्थाले चेतावनी दिइरहेको थियो । तर सम्पदाको संरक्षणमा राज्यले देखाएको उदासीनताले गर्दा यो अवस्था सिर्जना भएको छ । सम्पदाका गुणमा धेरै ह्रास आएका छन् । अहिले सम्पदा कसैको पनि नियन्त्रणमा नभए जस्तो देखिन्छ । सम्पदा संरक्षणका निम्ति नीति नियम बने पनि लागू नहुँदा नेपालका स्मारक तथा परम्पराहरूको संरक्षण र पुनःस्थापना हुन सकिरहेको छैन । पर्यटकलाई आकर्षित गर्न पनि विश्व सम्पदाले महत्वपूर्ण भूमिका खेलेको छ । तसर्थ, सम्पदाको संरक्षण र मापदण्ड कायम गर्न राज्य गम्भीर हुन आवश्यक छ । युनेस्कोको आगामी सेसनमा नेपालले खतराको सूचीबाट उम्कन फलदायक उपस्थिति जनाउन सक्नुपर्छ ।
– प्रतीक्षा कार्की, खोटाङ । हाल: काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्