ग्रामीण सडक: विकास कि विनाश



 

सञ्जीव पराजुली
कुनै पनि समुदाय वा समाजको चौतर्फी विकासका लागि सडकको विकास हुनु अपरिहार्य छ । सडकको महत्व सबै जनता तथा निकायले बुझेका कारण केन्द्रीय सरकार, स्थानीय निकाय र उपभोक्ता स्वयंले सडक निर्माण तथा स्तरोेन्नतिका लागि साना–ठूला गरी वार्षिक करोडाँै रुपियाँको बजेट खर्चिने गरेका छन् । तर विकासका नाममा जथाभावी निर्माण गरिएका सडकहरुले विकाससँगसँगै विनाशलाई पनि निम्त्याइरहेको देखिन्छ । विशेष गरी पहाडी क्षेत्रका ग्रामीण सडकहरुमा हुने गरेका पछिल्ला क्रमका दुर्घटनाहरु आवश्यक न्यूनतम अध्ययनविना जथाभावी निर्माण गरिएका सडकहरु हुन सक्छन् । भविष्यमा हुन सक्ने सवारी दुर्घटनाको जोखिमलाई न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने कुरा सम्बन्धित निकायको चासोको विषय हो ।

भौगोलिकरुपमा नेपालको कुल क्षेत्रफलको ८३ प्रतिशत क्षेत्रफल ओगटेका अग्ला हिमाल र पहाडहरु बन्ने पक्रिया आजभन्दा करिब साढे ५ करोड वर्षअघिदेखि शुरु भएको हो । तीव्र गतिमा आएको इन्डियन प्लेटले विशाल युरासियन (टिबेटियन) प्लेटलाई ठेल्न सकेन र युरासियन प्लेट मुनि छिर्न थाल्यो, जसको कारण पहाडहरु बन्ने प्रक्रिया शुरु भयो र निरन्तर चलिरहेको पनि छ । नेपालका पहाडहरु भौगोलिकरुपमा मात्र नभई भौगर्भिकरुपमा पनि फरक छन् ।

पहाड कस्तो प्रकृतिको छ भन्ने कुरा त्यहाँको भौगर्भिक अवस्थाले बताउँछ । भिन्न पहाडहरुको भिन्न भू–बनोट र प्रकृति हुने भएकाले सबैले आफ्नो छुट्टै अस्तित्व बोकेका हुन्छन् । प्रकृतिकरुपमा उभिएका पहाडका भिरहरु स्थिर हुन्छन् तर विभिन्न कृत्रिम तथा प्राकृतिक कारणले भिरलाई अस्थिर हुन सहयोग गर्दछन् । प्रकृतिक कारणहरुमा भारी वर्षा र भूकम्प पर्दछन् भने कृत्रिम कारणमा मानव क्रियाकलापहरु पर्दछन् । प्राकृतिकरुपमा उठेका पहाडहरुलाई विभिन्न माध्यमबाट कृत्रिम बनाउने, पानी बग्ने खोल्साखोल्सीलाई बिगार्ने, भार थप्ने, जथाभावी जमिन काट्ने र पुर्ने जस्ता कार्यले पहाडहरु अस्थिर बन्न पुग्छन्, जसले गर्दा पहिरो जाने, चट्टानहरु खस्ने, जमिन भासिने जस्ता जोखिम बढ्ने गर्छ ।

प्राकृतिकरुपमा उठेका पहाडहरुलाई विभिन्न माध्यमबाट कृत्रिम बनाउने, पानी बग्ने खोल्साखोल्सीलाई बिगार्ने, भार थप्ने, जथाभावी जमिन काट्ने र पुर्ने जस्ता कार्यले पहाडहरु अस्थिर बन्न पुग्छन्, जसले गर्दा पहिरो जाने, चट्टानहरु खस्ने, जमिन भासिने जस्ता जोखिम बढ्ने गर्छ ।

पहाडी क्षेत्रहरुको ग्रामीण सडक निर्माण गर्दा, पहाडको प्रकृति नबुझी जथाभावी पहाड काट्ने प्रवृत्तिले स्थिर पहाडहरुलाई अस्थिर बनाउँछ अनि विपद्लाई प्रेरित गर्छन् । इन्जिनियरिङ भौगर्भिक अध्ययन अनुसन्धानविना पहाडहरु जथाभावी काट्दा माथि रहेका माटोका ढिस्का र चट्टानहरु जुनसुकै बेला खसी धनजनको क्षति गर्न सक्ने सम्भावना हुन्छ । साथै ‘कट एन्ड फिल’ तरिकाबाट बाटो बनाउँदा, माटोलाई बलियो बनाउन आवश्यक मापदण्डहरुको अध्ययन नगर्ने र राम्रोसँग कम्प्याक्सन नगर्नाले सवारीको भार थाम्न नसक्ने, जमिन भासिने र सवारी भिरबाट खस्ने सम्भावना हुन्छ ।

पहाड काट्दा पहाड कस्तो प्रकृतिको माटो अथवा ढुंगाले बनेको छ भन्ने कुरा बुझी भिरको स्थिरतालाई विश्लेषण गर्न जरुरी हुन्छ । स्थिरतालाई विश्लेषण गर्न ढुङ्गामाटोको प्रकृति, वेदर अबिलिटी, घर्षण कोण, भिरले सतहसँग बनएको कोण आदिको राम्रोसँग अध्ययन गर्नुपर्ने हुन्छ । भिरको स्थिरतालाई विश्लेषण गर्न राज्यले उत्पादन गरेको इन्जिनियरिङ भूगर्भविद् र भू–प्रविधि इन्जिनियरहरुको सहयोग लिन सकिन्छ ।

पहाडी क्षेत्रका स्थानीय तहमा निर्माण गरिएका यस्ता जोखिमपूर्ण सडकको स्थिरता विश्लेषण गर्ने र स्तरोन्नति गर्ने कार्य अत्यन्त आवश्यक देखिन्छ । साथै भविष्यमा हुन सक्ने दुर्घटना र दुर्घटनाबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सडक निर्माणसम्बन्धी आवश्यक नीति नियम तर्जुमा गर्न एवम् स्थानीय प्राविधिकहरुको उपयोग गर्न सम्बन्धित निकायहरुको ध्यान जानु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्