धान सप्रियोस् !



नेपालीले असार १५ धान दिवसका रुपमा मनाए, हिलो खेले, पानी छ्यापे र यस पटकको धानबाली सप्रियोस् भनेर कामना गरे । धान दिवस एक उत्सवकै रुपमा मनाइयो । हिजो आइतबार ललितपुरको खुमलटारमा नेपाल कृषि अनुसन्धान प्रतिष्ठान बाली विज्ञान महाशाखाको आयोजनामा ललितपुरमै हिलो खेलेर र धान रोपेर यो महोत्सव मनाइयो ।

वास्तवमा नेपालको अर्थतन्त्रमा आजका मितिसम्म पनि धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । धानको उत्पादन बढ्छ वा घट्छ भन्ने विषय मनसुनमा भरपर्छ । यस पटक यसैपनि ढिला गरी मनसुन सुरु भएको छ । प्रदेश १, २ र ३ का अधिकांश भाग र प्रदेश ३ को पश्चिमी भागमा औशतभन्दा बम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको अर्थ हो, रोपाइँ कम हुने सम्भावना र धान कम फल्ने चिन्ता ।

सामान्यतः ८०–८५ प्रतिशत जमिनमा रोपाइँ भयो भने खुसी व्यक्त गरिन्छ, यद्यपि ९५ प्रतिशतभन्दा बढी जमिनमा रोपाइँ भएको उदाहरण पनि नभएको चाहिं होइन । यस वर्ष नेपालमा असार पहिलो सातादेखि मनसुन नेपाल भित्रिएको छ । त्यसभन्दा अघिको ‘प्रिमनसुन’ ले चैते धानलाई फाइदा पु¥याएको थियो । यस्तो वर्षा पर्याप्त परिमाणमा भएका कारण टारटुक्रा जमीनमा समेत सिँचाइ भएकाले केही राहतको अनुभव भने हुनेछ । धानलाई पानी चाहिएका बेला पर्याप्त वर्षा भएमा, मलखाद र कीटनाशक विषादीको अभाव हुन नदिने अवस्था आएमा धानको उत्पादन उत्साहप्रद नभएपनि निराशाजनक भने हुनेछैन । कृषि गणना २०६८ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको बताइन्छ । त्यसमा धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती हुँदैआएको छ ।

नेपालमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर रहेको बताइन्छ । कुल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ । कृषिमा लाग्ने युवाहरु मजदुरीका लागि विदेश भासिने र मुलुकमा जमिन बाँझो हुने क्रममा भने बढोत्तरी आएको छ । अर्कातिर बसोबासका कारण पनि प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरेहेको छ । २०६०–०६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धान खेती भएका्मा १५ वर्षपछि २०७४–०७५ मा १४ लाख ६९ हजार ५४५ हेक्टरमा सीमित हुन पुग्यो । नेपालीलाई लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । यीआदि सम्पूर्ण विशेषतायुक्त धान पर्व मनाइए पनि यसअनुसारको प्रसन्नता मंसिरसम्म कायम रहन्छ–रहन्न भन्न सकिन्न । कामना गरौं, धान खेती यस वर्ष राम्रो होस् ।

प्रतिक्रिया दिनुहोस्