पहिचान हराएको कर्णाली



डा. टीकाराम पोखरेल,
कर्णाली भन्नेवित्तिकै तत्कालीन कर्णाली अञ्चलका पाँच जिल्ला हुम्ला, जुम्ला, कालिकोट डोल्पा र मुगुको प्रतिबिम्ब हाम्रो दिमागमा आउँछ। तर, नेपाल संघीय संरचनामा गएसँगै अब कर्णाली भनेको विगतका पाँच जिल्ला मात्र रहेनन्।

१० वटा जिल्लालाई समेटेर बनाइएको सिंगो ६ नम्बर प्रदेश कर्णाली भयो। विगतका कर्णालीका पाँच जिल्लामा अब हिजोका गैरकर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमसमेत जोडिन पुगे। कर्णाली अब हिमाल मात्र रहेन, पहाड पनि भयो र पहाड मात्र भएन, झन्डै–झन्डै मधेस छुन आइपुग्यो। सोझो अर्थमा बुझ्दा त कर्णालीले आफ्नो आकार फैलायो। तर, सूक्ष्म अर्थमा बुझ्दा भने कर्णालीले आफ्नो पहिचान गुमायो।

विगतमा कर्णालीको प्रवशेद्वार जुम्ला थियो। तर, अब कर्णालीको प्रवेशद्वार सुर्खेत भएको छ। कर्णाली अञ्चल हुँदा सदरमुकाम जुम्ला थियो। कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतमा बस्यो। यसरी कर्णाली माथिबाट तलतिर झर्यो। यसले वास्तविक कर्णालीलाई कति फाइदा पुग्छ त्यो भविष्यले बताउला, यद्यपि अब कर्णालीको विकास हुने कुरामा केही आशंका भने जन्मेका छन्।

देश संघीयतामा गइसकेपछि अब विगतको अञ्चल संरचनाको कुरा गर्नु त्यति औचित्य त नहोला। तर, के चाहिँ बिर्सनु हुँदैन भने कर्णाली भन्नासाथ विकटताको प्रतिबिम्ब हो। विकट भनेको तिनै पाँच जिल्ला हुन्, जो पुरानो कर्णाली अञ्चलभित्र पर्दथे। विकट र विकासमा पछि पारिएका पाँच जिल्लाको वस्तुस्थिति हेरेर नै कर्णलीलाई छुट्टै स्थान दिइएको थियो। विशेष क्षेत्र घोषणा गरिएको थियो।

ठूला नेता र मन्त्री सुर्खेतमै बस्छन्। मानिसको चहलपहल सुर्खेतमै छ। सिंहदरबार पनि कर्णाली जानुपर्यो भने हुम्ला–जुम्लाको टिकट काट्दैन, सुर्खेतकै टिकट काट्छ। यी सबै देखेर कर्णाली प्रदेशको राजधानी हुनुमा सुर्खेत गर्व गरिरहेछ। उता आफ्नो पहिचान लुटिएकोमा कर्णाली भने उदासीन छ।

बजेट धेरै छुट्याइएको थियो। कर्णाली विशेष कार्यक्रमहरू बनाइएको थियो। कर्णाली विकास समिति गठन भएको थियो। तर, अब यस्ता कार्यक्रम ती विकट जिल्लामा पुग्ने कुरामा विश्वस्त हुने अवस्था छैन।

ज्ञात भएकै कुरा हो, कर्णाली प्रदेशका पाँच जिल्ला अहिले पनि विकासका दृष्टिले विकराल छन् तर कर्णाली प्रदेशका नयाँ पाँच जिल्ला विकासको दृष्टिले तुलनात्मकरूपमा विगत कर्णालीका पाँच जिल्लाभन्दा अगाडि छन्। त्यसैले एउटा बहसचाहिँ गर्नैपर्ने भएको छ कि कर्णालीमा विकसित पाँच जिल्ला थपिन पुगेका हुन् कि कर्णालीका पँँच जिल्ला विकसित जिल्लामा थपिन आएका हुन्।

जे भए पनि अब कर्णालीका लागि छुट्याइएको बजेट विगतका कर्णलीका पाँच जिल्लामा मात्र नभएर थपिएका अरू पाँच जिल्ला (जो तुलनात्मकरूपमा विकसित छन्)मा पनि बाँडिने भएको छ। भागवण्डाको नेपालमा पक्कै पनि पूर्वविकसित जिल्लाका जनप्रतिनिधिले आफ्नो जिल्लालाई कम बजेट भए नि हुन्छ, धेरै बजेट पूर्वकर्णालीतिर लैजानूस् भन्ने छैनन्। यस्तो अवस्थामा कर्णालीको प्राथमिकताको तस्वीर नै बदलिएको छ।

हिजोको कर्णालीभन्दा आजको कर्णालीका दृश्य धेरै फरक भइसकेका छन्। हिजो कर्णाली जान हिँडेका गैससले कालिकोट, मुगु, हुम्ला, डोल्पातिर पुग्नुपथ्र्यो अब त्यो दुःख गर्नुपर्दैन। सल्यान, जाजरकोट, रुकुमतिर पुगेर कर्णाली पुगें भनेर डोनरलाई प्रतिवेदन बुझाए पुग्ने भयो।

सल्यान, जाजरकोट, रुकुम जस्ता जिल्लालाई कर्णाली भन्ने वैधानिक बाटो खुलिसक्यो। कर्णालीको द्वारमा पुग्न हिजो काठमाडौंबाट नेपालगन्ज हुँदै जुम्ला पुग्नुपथ्र्यो। अब त काठमाडौंबाट सोझै सुर्खेतको एक घन्टाको उडानमा कर्णालीद्वार पुगेको दाबी गर्न पाइने भयो। काठमाडौंलाई भेट्न कर्णाली सुर्खेतमै झरेपछि काठमाडौंले कर्णाली भेट्न जुम्लासम्म किन धाउनु पर्यो ?

प्रदेश राजधानी सुर्खेत तोकिएसँगै हिजोको जुम्लाको भीडभाड सुर्खेत सरेको छ। कालिकोटमा गर्ने कार्यक्रम जाजरकोटमा गरे हुने भएको छ। मुगुको प्राथमिकतालाई अब कर्णालीको नाममा सल्यानले पनि खोस्न सक्छ। डोल्पा र हुम्ला जस्ता जिल्लाको फोटो अब सुर्खेतका भवनका भित्तामा टाँसेर हाम्रो कर्णाली भन्न सकिने भएको छ। कर्णालीले आफू तलतिर जोडिएर सुर्खेतलाई यस्तो सुविधा दिएको छ।

त्यसो त कर्णालीतिरका संसदीय क्षेत्रका प्रतिनिधि मात्र होइन स्थानीय तहका अधिकांश जनप्रतिनिधि पनि कुनै न कुनै कार्यक्रमका लागि हुन् वा नेतासँग भलाकुसारी गर्ने काम बोकेर आएका हुन् सुर्खेततिरै भेटिन्छन्। कर्णालीको राजधानी सुर्खेत सरेपछि विचरा ती गाउँमा बसुन् पनि कसरी ? आखिर नेता भेटिने राजधानीमै त हो। चाहे त्यो प्रदेश राजधानी होस् वा संघीय राजधानी।

मिनी नेताको ठूलो संख्या पनि राजधानीतिरै हुन्छ। नेपालको राजनीतिमा यसमा अचम्म मान्नुपर्ने कुरा पनि के छ र ?

ठूला होटल सुर्खेतमै छन्, ठूलो सडक सुर्खेतमै छ, भीडभाड बजार सुर्खेतमै छ, ठूला नेता र मन्त्री सुर्खेतमै बस्छन्। मानिसको चहलपहल सुर्खेतमै छ। सिंहदरबार पनि कर्णाली जानुपर्यो भने हुम्ला–जुम्लाको टिकट काट्दैन, सुर्खेतकै टिकट काट्छ। यी सबै देखेर कर्णाली प्रदेशको राजधानी हुनुमा सुर्खेत गर्व गरिरहेछ। उता आफ्नो पहिचान लुटिएकोमा कर्णाली भने उदासीन छ।

कर्णालीका नेता पनि सुर्खेत झरेछन्, विकास सुर्खेत झरेछ, जडीबुटी पनि बिक्रीका लागि सुर्खेततिरै झरेछ। व्यपार व्यवसायको थलो सुर्खेत भएपछि व्यपारी पनि कर्णालीमा बस्ने कुरा रहेन। सबै तल झरेपछि कर्णलीको अर्थतन्त्र पनि झरेछ, राम्रा स्कुल खोज्न विद्यार्थी झर्ने नै भए। घरघडेरीका लागि सुर्खेतमा बीस हात जग्गा लिनेको त झनै लर्को देखिन्छ। जग्गा पास गर्न मालपोतलाई भ्याई–नभ्याई छ। कर्मचारी काजको नाममा सुर्खेतमै झरेछन्। कर्णालीका धेरै कुरा तल झरेछन्। मात्र झर्न बाँकी रहेछ कर्णालीको भोक, कर्णालीको रोग, कर्णालीको पीडा। त्योचाहिँ माथितिरै रहेछ।

जुम्ला चहलपहलका एक साक्षी भन्छन्– ‘कर्नाली त सुर्खेततिर बसाइँ सद्दो छ।’ कालिकोटका जनता भन्छन्– ‘जैथा नेता आया पुनि हाम्मा दुःख हामीसाइत छुन्। हामी दुःखिकन संघीयता आया पुनि क्या विकास हुन्या हो ? आफ्ना भाग्य आफैंसाइत।’ हो, आधुनिक भनिएको संघीय कर्णालीको यथार्थ यही हो। अब त कर्णालीका विकासका कुरा पनि कम भएका छन्। यस्ता अनगिन्ती गुनासा कर्णालीतिर आजकल सुनिन्छन्।

जुम्लाबाट सदरमुकाम सुर्खेतमा सरेछ
कर्णाली त हिमालबाट बेंसीतिर झरेछ।
विकास पनि कर्णालीको बेंसीतिरै हुने भो
कर्णालीको यात्रा गर्न सुर्खेत छुँदा पुग्ने भो।

सुर्खेत कर्णालीको नाम भजाउँछ, तर सुर्खेतको दृष्टि कर्णालीतिर होइन सिंहदरबारतिर हुन्छ। कुरा प्रस्ट छ, नेताका दाता जनता (मतदाता) अवश्य हुन् तर विधाता (आफूभन्दा माथिका नेता) होइनन्। नेताका विधाता काठमाडौंतिर छन्। नेताका लागि दाताभन्दा विधाता ठूला हुन्।

जता ठूलो उतै प्राथमिकता प्रकृतिको नियम हो। त्यसैले नेता दातातिर भन्दा विधातातिर दृष्टि लाउँछन्। दाताका अगाडि चुनावमा झुक्छन्। बाँकी सबै समय विधाताका अगाडि झुक्छन्।

देशमा गणतन्त्र आइसक्यो। गणतन्त्र नेपालमा कर्णालीले उदासीन हुने होइन, बरु यो हिसाब राख्न सक्नुपर्छ कि सुर्खेतबाट मन्त्री कतिपटक कुमारले झैं यात्रा गर्न डोल्पा, मुगु वा कालिकोट पुगे, अनि कतिपटक गणेशले झैं सिंहदरबार परिक्रमा गर्न पुगे। काठमाडौं पुगेर कतिपटक हामी त कर्णालीबाट आएका हौं भने। सिंहदरबारका नेताले सुर्खेती नेताले भनेको कुरा सुने कि कर्णलीको पछिल्लो तस्वीर आत्मसात गरे।

कर्णालीको बदलिँदो तस्वीरका बीचमा केही यक्ष प्रश्न उब्जिएका छन्। के कर्णाली सुर्खेत सरेको हो ? अथवा कर्णाली अब सुर्खेत, जाजरकोट, रुकुम, सल्यान, दैलेखतिर पनि फैलिएको हो ? कि कालिकोटेले भनेझैं कर्णाली अब सँँच्चै हराएकै हो त ? प्रश्न ज्वलन्त बनेको छ, तर अनुत्तरित छ। यो विषय मननीय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्