मलाई महारोगी भनेर सबैले छि:छि: र दूरदूर गर्थे



अमरबहादुर तिमल्सिना
अध्यक्ष -एसोसिएसन फर आइडिया नेपाल
काभ्रे खानीखोला गाउँपालिकाका अमरबहादुर तिमल्सिनाले कुष्ठरोगका कारण जीवनमा अनेक दुख, कष्ट भोग्नुभएको छ । रोगकै कारण गाउँ, समाज र आफन्तबाटै बहिष्कृत तथा जन्मथलोबाट समेत विस्थापित हुन परेको थियो तिमल्सिनालाई । पछिल्लो समय कुष्टरोगको उपचारको नाममा इसाई धर्म प्रचार गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ । यसै विषयमा उहाँको जीवन संघर्ष, संस्थाको उद्देश्य र धर्म प्रचारको आरोपबारे नेपाल समाचारपत्रका लागि रामकृष्ण चापागाई र सुरेश तामाङले गरेको कुराकानीको सार संक्षेप ः

एसोसिएसन फर आइडिया नेपाल स्थापना गर्नुको प्रमुख उद्देश्य के हुन ?
एसोसिएसन फर आइडिया नेपालको आदर्श र नीति कुष्ठ प्रभावित व्यक्तिहरुको आत्मसम्मान र प्रगति भन्ने मूल उदेश्यको साथ यो संस्था २६ वर्ष अघि स्थापना भएको हो । सुरुमा यो संस्था सन् १९९४ मा विश्व विभिन्न देशका कुष्ठ प्रभावित व्यक्तिहरु समावेश भई, प्रतिनिधिमूलक तरिकाले ब्राजिलमा भेला भएर आफ्नो हकहित, अधिकार र सहअस्तित्वका लागि हामी आफैंले आवाज उठाउनुपर्छ भन्ने समान उद्देश्यले आइडिया इन्टरनेसनलको स्थापना भएको थियो । पछि धेरै देशमा यसको सञ्जाल विस्तार हुँदै गयो । अहिले विश्वको ३० देशमा यो संस्था स्थापना भइसकेको छ ।

तपाईं यो संस्थामा कसरी आबद्ध हुनुभयो ?
आइडिया नेपाल सम्पूर्ण कुष्ठ प्रभावित व्यक्तिहरुको लागि शितल छहारी दिने साझा चौतारी हो । म आफंै पनि एक कुष्ठ प्रभावित व्यक्ति भएकाले शितल छहारी लिनका लागि यो आईडिया नेपाल नामक चौतारीमा आवद्ध हुने निर्णय गरें । शुरुमा म यो संस्थाको आजीवन सदस्यता लिएँ त्यस पछि आइडियाको काठमाडौँ जिल्ला कार्यसमितिको सचिव भएँ । त्यसपछि केन्द्रीय महासचिव हुँदै हाल विगत ४ वर्षदेखि केन्द्रीय अध्यक्षको रुपमा जिम्मेवारी लिएर बसेको छु ।

तपाईं आफै कुष्ट प्रभावित व्यक्ति हुनुहुँदो रहेछ ? शुरुमा तपाईलाई कसरी थाहा भयो यो रोगका बारेमा अनि उपचारका लागि अस्पताल कसरी पुग्नुभयो ?
म अन्दाजी १० वर्षको थिएँ, मेरो अनुहार अनि शरीरका अन्य भागहरुमा रातो फुस्रो दाग देखा पर्यो । अनुहार एकदम फुलेर आयो अनि निकै धेरै दुख्यो । मलाई शुरुमा धामीझाँक्रीकोमा लगियो । धेरै कुखुरा बोकाको बलि चढाइयो तर रोगमा कुनै सुधार आएन झन् बढ्दै गयो । त्यस पछि बुबाले मलाई स्वास्थ्य चौकीमा लानुभयो । अनि स्वास्थ्य चौकीबाट यो रोग ठुलो हो यसको उपचार यहाँ हुदैन शहरको अस्पतालमा लानु पर्छ भन्ने सुझाव दिइयो ।

मलाई सहरमा ल्याउन सजिलो थिएन । मेरो घर काभ्रेको कर्णाली भनेर चिनिने तालढुंगा भन्ने ठाउँमा पर्छ । त्यतिबेला मोटर बाटोको सुविधा थिएन गाउँमा । मलाई भरिया लगाएर बोकेर काभ्रेको खोपासी ल्याइयो र उपचारको लागि लगियो । खोपासीको अस्पतालले मेरो रोग पत्ता लगाउन सकेन अनि शीर मेमोरियल अस्पताल बनेपामा लैजानका लागि सिफारिस ग¥यो ।

बनेपा अस्पतालले पनि मेरो रोग पत्ता लगाउन नसके पछि कान्ति बाल अस्पतालमा लैजाने सुझाव दिए । मलाई उपचारका क्रममा कान्ति बाल अस्पतालमा लगियो र त्यहाँ पनि रोग पत्ता लगाउन नसकेपछि छालासम्बन्धीको रोग भएको कारण नजिकै रहेको त्रिवि शिक्षण अस्पतालमा सिफारिस गरियो । शिक्षण अस्पतालमा कुष्ठ रोगको शंका गरियो र पाटन अस्पताल जानका लागि सिफारिस गरियो । त्यो दिन बुधवार थियो । कारण बुधबार आनन्दवन अस्पतालको क्लिनिक बस्दो रहेछ पाटन अस्पतालमा ।

मलाई बुधबारको दिन पाटन अस्पताल लगियो अनि बल्ल मेरो रोगको बारेमा पत्ता लाग्यो कि मलाई कुष्ठ रोग लागेको रहेछ भनेर । त्यति नै बेला डाक्टरले मलाई भर्ना हुनुपर्छ भन्नुभयो र भर्नाका लागि आनन्दवन अस्पताल लैजान आग्रह गरियो । यो सन् १९८९ को घटना हो । त्यति बेला मेरो उमेर १२ वर्षको थियो ।
आनन्दवन अस्पतालमा तपाई कति समय उपचारका लागि बस्नुभयो ? त्यस बेलाका केही अनुभव सुनाउन सक्नुहुन्छ ?
शुरुमा दुई महिना भर्ना भएर बसें । त्यसपछि मलाई डिस्चार्ज गरियो अनि म घर गएँ । जब म घर पुगें, छरछिमेक सबैलाई थाहा भइसकेको रहेछ मलाई कुष्ठरोग लागेको भनेर । त्यति बेला कुष्ठ रोगलाई महारोग भनिन्थ्यो । असाध्य ठुला ठुला समस्या भोग्नु पर्यो मैले । शारीरिक र मानसिक दुवै समस्या भोग्नु पर्यो । रोगको कारणले सबैले मलाई हेला गर्थे ।

मेरा नजिकका साथीहरु म संग एकाएक टाढा हुन थाले । मलाई कुष्ठ रोगको औषधि शुरु गरेपछि रियाक्सन पनि भयो । त्यो रियाक्सनको पीडा अत्यधिक हुँदो रहेछ, सम्झिदा पनि मुटु भक्कानिएर आउँछ । पटकपटक गरेर आनन्दवन अस्पतालमा लगभग ४० पटक भर्ना भएँ होला । कल्पना गर्नुहोस् ब्लेडले हाम्रो शरीर काट्दा हामीलाई कति पीडा हुन्छ, त्यति पीडामा मैले ६ वर्ष बिताएँ । यो ६ वर्षको अवधि मलाई ६० वर्ष जस्तो लाग्यो । यो बीचमा मैले धेरै पटक आत्महत्याको प्रयास गरें । तर, आनन्दवन अस्पतालका डाक्टर, नर्स अनि अरु कर्मचारीहरुको निरन्तर माया र हौसलाले गर्दा बाँच्ने इच्छा बढ्यो ।

आत्महत्याको प्रयास गर्नुभएछ, कसरी सम्हालिनुभयो त ?
गाउँमा बस्न सक्ने अवस्था थिएन । सबैले महारोगी भनेर छिछि र दुरदुर गर्थे । स्कुलमा पढ्ने वातावारण बनेन । स्कुलका सर मिसले मलाई भन्ने गर्थे अमर तिमि घरमै बस, जाँचका बेलामा मात्र स्कुल आऊ । तिमीलाई हामी पास गराउँछौं केही पर्यो भने तिम्रो घरमा नै आएर सिकाई दिन्छौं । त्यति बेला सामाजिक घृणाको बारेमा मैले बुझिनँ । सर मिसले राम्रो भन्नुभएको जस्तो लाग्थ्यो पछि मलाई थाहा भयो सामाजिक अपहेलनाका कारण उहाँहरुले मलाई त्यस्तो भन्नुभएको रहेछ । अस्पतालका डाक्टरहरुले भने मेरो समस्यालाई नजिकबाट हेर्नुभएको थियो ।

अनि पढाइलाई कसरी अघि बढाउनुभयो ?
मेरो घर पुग्नलाई दुई दिन हिँड्नुपर्ने अस्पतालका डाक्टरहरुलाई थाहा थियो । साथै, मैले गाउँमा भोग्नु परेको सामाजिक भेदभाव र अपहेलनाका बारेमा पनि जानकार हुनुहुन्थ्यो । एक दिन मलाई एक जना डाक्टरले कार्यालयमा बोलाउनु भयो र सोध्नु भयो यदि तिमिलाई काठमाडौँमा नै बसेर पढ्ने व्यवस्था भयो भने तिमि खुशी हुन्छौ ? मैले एक दमै खुशी साथ हुन्छ भनें पछि उहाँहरुले एउटा सिफारिस पत्र मेरो लागि लेखि दिनु भयो । त्यो पत्र लिएर सेन्ट जेभियर्स सामाजिक सेवा केन्द्र जावलाखेलमा फादर ग्याफ्नेलाई भेट्न गएँ र मेरो सबै अवस्था बुझेर मलाई उहांले सो केन्द्रमा राख्नुभयो ।

त्यसपछि मैले मेरो पढाई अगाडी बढाउन थाले । आनन्दवन अस्पताल नभएको भए यो संसार बाट मैले धेरै वर्ष पहिले नै बिदा लिई सक्थें होला । आज म जे छु, आनन्दवन अस्पतालकै श्रेय हो । आनन्दवन अस्पतालले मेरो उपचार मात्र गरेन दुनियाले महारोगी भनेर अपहेलना गरेको व्यक्तिलाई सामाजिक हिसाबले प्रतिष्ठित व्यक्ति बनाएको छ । एउटा अमर मात्र होइन हजारौं अमरहरु आनन्दवन अस्पतालले पुनस्थापन गरी सकेको छ । त्यसकारण म जहिले पनि भन्न सक्छु आनन्दवन अस्पताल मेरो अनि हामी सबै कुष्ठ प्रभावित व्यक्तिहरुको घर हो ।

अहिले सञ्चार माध्यमहरुमा आनन्दवन अस्पतालले विभिन्न प्रलोभनमा पारेर इसाई धर्म मान्नका लागि बिरामीलाई बाध्य बनाउने गरेको आरोप लागेको छ ? यसमा तपाइ के भन्नुहुन्छ ?
विभिन्न समाचारमध्यमबाट मैले पनि थाहा पाएको छु सुनेको छु यस बिषयमा । मलाई के लाग्छ भने यथार्थ कुरा राम्रोसँग नबुझिकन मच्चाइएको हल्ला हो यो । निःस्वार्थ भावनाले कुनै धनी, गरिब जात, धर्म, नभनेर यस अस्पतालले विगत ६ दशकदेखि सबै जात जातिका साथै सबै धर्मालम्बिलाई सेवा पुर्याउदै आइरहेको छ । अहिले आनन्दवन अस्पताल दि लेप्रोसी मिसन नेपालले खाली कुष्ठ रोगको उपचार मात्र नभएर कुष्ठप्रभावित व्यक्तिहरुको सामाजिक आर्थिक पुर्नस्थापना पनि जिल्ला जिल्लामा, गाउहरुमा गरिरहेको छ ।

साथै, शैक्षिक, जीविकोपार्जन, आर्थिक क्रियाकलापहरु संचालन गरी समग्र कुष्ठ प्रभावितको जीवनयापन लाई सहज बनाउने र समाजको मूल धारमा समावेस गराउने ठुलो अभियानमा लागेको संस्थालाई धर्म प्रचारको दोष लगाउनु आपत्तिजनक कुरा हो ।

यस प्रकारको दुखद घटनाले यस्तो पवित्र धरोहरमा घट्नु मेरा लागि मात्र होइन र यो देशमा रहेका दुई लाख कुष्ठ प्रभावित व्यक्तिहरु र उहाहरुमा आश्रित दश लाख व्यक्तिहरुको ह्रदयमा प्रत्यक्ष चोट पुगेको छ । त्यसकारण म छातीमा हात राखेर भन्छु आनन्दवन अस्पतालले जबजस्ती धर्म परिवर्तन गराउदैन । यस विषयमा सबैलाई विस्वस्त रहन म अनुरोध गर्दछु । जवर जस्ती धर्म परिवर्तन गराउने जस्तो गम्भिर कुरामा सत्यतथ्य नवुझि सञ्चारमाध्यमले समाचार बनाउदा धमिलो पानीमा माछा मार्ने समुहलाई मात्र फाइदा पुग्छ ।

आइडिया नेपालबाहेक अहिले तपाई अरु संस्थाहरुमा पनि आबद्ध हुनुहुन्छ ?
विभिन्न संघर्ष, दुख गरेर मैले काठमाडौँमा स्कुल सञ्चालन गर्दै आइरहेको छु । अमरदीप सेकेण्डरी स्कुलमा प्रिन्सिपलको रुपमा काम गर्दै छु । आइडिया नेपालको अध्यक्षको रुपमा, आइडिया इन्टरनेसनलको बोर्ड सदस्यको रुपमा पनि काम गर्दै छु ।

संसारभर कुष्ठ रोगका क्षेत्रमा काम गर्ने विभिन्न १५ वटा संस्थाहरु मिलेर इन्टरनेशनल फेडेरेशन अफ एन्टी लेप्रोसी एसोसियसन भन्ने संस्था सञ्चालित छ र म त्यो संस्थामा कुष्ठ प्रभावित व्यक्तिहरुको प्रतिनिधित्व गर्दै सल्लाहकारको रुपमा कार्यरत छु । अनि मेरो शिक्षा क्षेत्रमा पनि लगाव रहेका कारण निजी बिद्यालयको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको केन्द्रीय सदस्यको रुपमा पनि कार्यरत छु ।

तपाईं एउटा कुष्ठ प्रभावित व्यक्ति भएर पनि यति धेरै सफलता हासिल गर्नुभएको छ ? अन्य कुष्ठ प्रभावित व्यक्तिलाई के संदेश दिन चाहनुहुन्छ ?
जस्तोसुकै कठिन परिस्थिति आए पनि जीवनमा हरेस खानु हँुदैन दुःख पछि सुखको दिन अवश्य आउछ भन्ने भनाइलाई आत्मसात् गर्दै निरन्तर रुपमा पढाइलाई अगाडि बढाउँदै आएको कारण आज म यो अवस्थामा आइपुगेको छु । मैले पहिला नै भनी सकें म यो अवस्थामा आई पुग्नका लागि आनन्दवन अस्पतालको ठुलो लगानी छ ।

एउटा कुष्ठ प्रभावित व्यक्ति भएर मैले कुष्ठ प्रभावित व्यक्तिहरुको समस्याको बारेमा संयुक्त राष्ट्रसंघमा पनि आवाज उठाउने मौका पाएको छु । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिने मौका पाएको छु । आज कतैबाट यो रोगको कारण कुनै अपहेलना सहनु परेको छैन । बरु सबै बाट सम्मान र इज्जत प्राप्त गरेको छु । सम्पूर्ण कुष्ठ प्रभावित दाजुभाई तथा दिदिबहिनीहरुलाई म यो उत्साह दिन चाहन्छु । हाम्रो लागि हामी आफै सबल हुनु जरुरी छ र समाजमा हाम्रो शिर उच्च बनाउनु पर्छ । आइडिया नेपाल समस्त कुष्ठ प्रभावितहरुको आस्थाको धरोहर हो, आफ्नै घर हो, यसमा हामी सबै आबद्ध भई आफ्नो आत्मसम्मान र सह अस्तित्वको लागि एक जुट हुन आव्हान पनि गर्दछु ।

प्रतिक्रिया दिनुहोस्