कांग्रेसमा शान्ति प्रक्रिया र गणतन्त्रको लिगेसी कृष्णप्रसाद सिटौलासँग मात्र छ



गौरीप्रसाद दवाडी

पुराना नेता, नेपाली कांग्रेस

 

नेपालको पुरानो राजनीतिक दल नेपाली कांग्रेस आन्तरिक गुट–उपगुटमा विभाजित भएका कारण आफ्नो सात दशकभन्दा लामो इतिहासमा अहिले सर्वाधिक कमजोर बनेको छ । तर, पदमा रहेका नेताहरु यस तथ्यलाई स्वीकार गर्दैनन्, त्यसैले पार्टीमा लामो योगदान दिएका तर पदमा नरहेका प्रष्टवक्ता नेता खोज्दै नेपाल समाचारपत्रबाट कपिल काफ्ले र रामकृष्ण चापागाईं काठमाडौंको ढुंगेअड्डा पुगे गौरीप्रसाद दवाडीलाई भेट्न । प्रस्तुत छ, अन्तर्वार्ता

तपाईंको राजनीतिक यात्रा कहिलेदेखि शुरु भयो ?
मेरो राजनीतिक यात्रा बीपी कोइराला मेलमिलाप नीति लिएर भारतबाट नेपाल आएपछि शुरु भएको हो । २०३३ सालमा वीपी कोइराला नेपाल आएपछि कांग्रेसको राजनीतिबारे बुझ्न थालें । २०३५ सालमा वीपी पोखरा जादा प्रत्यक्ष भेट भयो, त्यसपछि अझ बढी सक्रिय भएँ र संगठनमा प्रवेश गरें । त्यो बेलाको संगठन भनेको साथीहरुसंँग भेटघाट गर्ने, राजनीतिक विमर्श गर्ने मात्र थियो ।

तपाईले पार्टीमा पहिलो जिम्मेवारी के पाउनु भयो ?
२०४५ सालसम्म कुनै जिम्मेवारी थिएन । २०४६ सालपछि काठमाडौं आएर एकाइ तहदेखि जिम्मेवारी लिएँ । एकाइपछि क्षेत्रीय सचिव भएर काम गरें । त्यसपछि काठमाडौं जिल्ला सदस्य, सचिव, उपाध्यक्ष हुदै कार्यवाहक सभापति सम्मको जिम्मेवारी समालें । पार्टीको केन्द्रीय तहको जिम्मेवारीमा भने प्रशिक्षण विभाग र शिक्षा विभागमा बसेर काम गरें ।

काठमाडौं जिल्लाको जिम्मेवारीमा रहँदा केन्द्रीय नेताहरुको सामीपमा काम गर्नुभयो होला, कस्तो अनुभव रह्यो ?
हो, काठमाडौ राजधानी पनि भएकोले यो जिल्लाको सम्बन्ध केन्द्रीय नेतासंग बढी हुन्थ्यो । म जिल्लाको जिम्मेवारीमा रहँदा आन्दोलनको बेला पनि थियो । त्यो बेला कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलासंँग आन्दोलन कसरी अघि बढाउने भन्ने बारेमा नियमित छलफल भैरहन्थ्यो । त्यतिवेला काठमाडौं जिल्लाका उपसभापति भीमसेनदास प्रधान र सभापति तीर्थराम ढंगोल प्रहरी नियन्त्रणमा रहेकोले सचिवको नाताले जिल्लाको सबै जिम्मेवारी सम्हाल्नुपर्ने मैले नै थियो ।

२०६२÷६३ सालको जनान्दोलनमा मात्रै जिम्मेवारीमा हुनुहुन्थ्यो कि त्योभन्दा पहिलाको आन्दोलनमा पनि जिम्मेवारी लिनुभएको थियो ?
पहिला म पोखरामा थिएँ । त्यतिवेला मलाई मानिसहरुलाई कन्भिन्स गरेर सत्याग्रहमा ल्याउने जिम्मेवारी थियो । म विद्यालय निरीक्षक पनि भएको नाताले गाउँगाउँसम्म पुग्थें । ०४२ सालको सत्याग्रह बमकाण्डपछि बीचमै टुङ्गियो । ०४६ सालको आन्दोलनमा म सुदूर पश्चिममा थिएँ । त्यहाँ आन्दोलनको प्रचार–प्रसार र सूचना आदान–प्रदान गर्थे । आन्दोलनको सहभागिता बढाउने, आन्दोलनकारीको मनोबल बढाउने काम गरें ।

कांग्रेस भनेको विवेग प्रयोग गर्ने जात हो, राम्रो उम्मेद्वार देखे अन्तै भोट हालिदिन्छन् ।

तपाईं लामो समयदेखि कांग्रेस राजनीतिमा हुनुहुन्छ । तर पनि नेतृत्व तहमा पुग्न सक्नु भएनछ । नेतृत्व लिन तपाईंले ईच्छा नगरेको कि नदिएको ?
२०५२ सालपछि जतिपनि निर्वाचन भए मलाई मेरो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको लागि नियमित रुपमा सिफारिस भैरहेको छ । यो पुरानो पार्टी हो । यहाँ २००७ सालदेखि राजनीति गरिरहेका नेताहरु छन् । कांग्रेसमा के छ भने सिनियर नेतालाई मान्यता दिने भन्ने प्रचलन छ । दुई–चारवटा चुनाव त्यसैगरी गयो । एकपटक हरिबोल भट्टराई उम्मेदवार हुनुभयो । अर्को पटक तीर्थराम डंगोल आउनुभयो । त्यसपछि मार्सल जुलुम शाक्य आउनुभयो । फेरि ध्यान गोविन्द रञ्जित आउनुभयो । उहाँहरु सबैजना मभन्दा सिनियर हुनुहुन्थ्यो । पछिल्लो सयम प्रदेशसभाको निर्वाचनमा भने मभन्दा जुनियरलाई उमेदवार बनाइयो । यसमा मेरो मूल्याङ्कन नभएको अनुभव भैरहेको छ ।

कांग्रेसको संगठनलाई आफ्नो क्षेत्रमा बलियो बनाउन के गर्दै हुनुहुन्छ ?
पार्टीभित्र मलाई प्रशिक्षण विज्ञ नै मान्छन् । म कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेको छु । साथै आफ्नो क्षेत्रमा मात्र नभै देशैभरि पार्टी संगठनलाई चलायमान बनाउन हरसम्भव पहल गरिरहेको छु ।

हालै कांग्रेसले देशैभरि पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको छ । कार्यकर्ताहरु कत्तिको जागरुप भए त ?
जागरण अभियानमा मलाई उदयपुर जिल्लामा खटाइएको थियो । समग्रमा यो जागरण अभियान जिल्लाका कार्यकर्ता संँगको भेटघाट मात्र भयो । वैचारिकभन्दा पनि जिल्लाको वस्तुस्थिति बुझ्ने हिसावले यो जागरण अभियान चल्यो । प्रशिक्षण, जागरण, भेटघाट कार्यक्रम सबैभन्दा तल्लो तहसम्म नचलाएसम्म यसको ओचित्य रहँदैन । जिल्ला स्तरका कार्यकर्ता तथा नेताहरुले त कांग्रेस के हो बुझेकै छन् । कांग्रेस नबुझीकन जिल्ला क्षेत्रीय तहमा आइपुग्दैनन् । युवा पुस्तालाई कांग्रेसप्रति आकर्षण गर्न र उनीहरुलाई जागृत गराउन वडा तहमै पुगेर कार्यक्रम गर्नुपर्छ ।

कांग्रेसको संगठन तल्लो तहसम्म सक्रिय छ त ?
छैन । अहिले कांग्रेस संघीय संरचनामा प्रवेश नै गरेको छैन । सात प्रदेश छ । सात सय ५३ स्थानीय तह छन् । स्थानीय तहका वडाहरु छन् । कांग्रेसको संशोधित विधान भर्खर पास त भयो तर विधान अनुसारको संरचना बनेको छैन । कांग्रेसको संघीय संरचनाअनुसार सांगठनिक संरचना निर्माण नहुँदासम्म जागरण अभियानले गति लिन सक्दैन ।

कांग्रेसले तल्लो तहसम्म कमिटी बनाउने तयारी पनि गरेको देखिदैन नि ?
कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र सबै संरचना बनाइ सक्नुपर्ने भन्ने छ । केन्द्रीय संरचना अहिलेसम्म बनिसकेको छैन । केन्द्रमै यस्तो छ, तल्लो तहको संरचना कसरी बनाउँछन् । केन्द्रीय नेतृत्वले गर्दा कांग्रेसको संरचना भताभुङ्ग भएको छ ।

कांग्रेसको सबै संरचना नबन्नुको कारण के हो ?
कांग्रेस भित्रका शीर्ष नेताहरु विधानअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि आफ्नो गुटलाई बलियो बनाउनतिर लागे । धेरै समूह भयो । यही समूहको अन्तरद्वन्द्वका कारण पार्टीको तल्लो तहसम्म संरचना बन्न सकेन । पहिला मृत्युवरण गर्ने तत्परताका साथ पार्टी प्रवेश गर्थे, अहिले सुविधाका लागि पार्टीमा लागेका छन् । केन्द्रीय नेताहरु यति सुविधाभोगी भएका छन् कि पदमा नभए केही पनि नपाएको जस्तो गर्दछन् । पार्टी बलियो भए म बलियो हुन्छु भन्ने केन्द्रीय नेताहरुको विचार नै छैन । म बलियो भएमात्र हुन्छ भन्ने ध्यान छ । अहिले कसरी पार्टी कब्जा गर्ने भन्नेतिर नेताहरु लागेकै कारण कांग्रेस कमजोर बन्दै गएको छ ।

 कांग्रेसमा, विधानले बनाएका नेता मात्र भए, नेतृत्व दिने नेता तयार भएनन् ।

कांग्रेसभित्र यस्तो मनोवृत्ति बढ्नुको कारण के हो ?
यहा मनोविज्ञानले काम गरेको छ । पहिला गणतन्त्र धारका कांग्रेस नेताहरु २०६२÷०६३ सालको आन्दोलनपछि बाहिर परेका छन् । राजाकै संस्कारमा आएका र जसरी पार्टी चलेको छ त्यसैगरी चल्नुपर्छ भन्ने नेताहरु नेतृत्वमा आए । सबैभन्दा जटिल समस्या त्यही हो । अहिले संघीयता लागु भैसक्यो । प्रदेश गठन भैसक्यो । नामै तोकेर भन्दा गणतन्त्रको विरोधी केवी गरुङ्ग थिए । संयोग यस्तो प¥यो कि उनले नै गणतन्त्रको प्रस्ताव पेश गरेर पास गर्नुप¥यो संसदमा ।

अहिले पनि उनले राजाकै वकालत गरेर हिडिरहेका छन् । गणतन्त्रको पक्षमा रहेका, माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने नेताहरु गिरिजाप्रसाद कोइरालाको अवसानपछि बाहिर परे । त्यसैले संघीयतामा छिर्ने प्रयास गरिरहेका छन् । भाषणमा पनि संघीयतामा जाने भनेर भनिरहेका छन् । तर, व्यवहारमा लागु गर्न गा¥हो मानिरहेका छन् ।

मन राजावादी, व्यवहार र सिद्धान्त गणतन्त्रबादी भएर आएको कारण यस्तो भएको हो । नत्र सबै पार्टीको भन्दा प्रगतिशील विधान कांग्रेसले बनाएको छ । तर, कार्यान्वयन गर्न बहुत गा¥हो भइरहेको छ । एउटै पार्टीमा एउटै विधान मानेर अघि बढ्नु पर्ने बेला व्यक्ति विशेषको एजेण्डामा पार्टीलाई अघि बढाउन खोजिदै छ । व्यक्तिगत स्वार्थका कारण कांग्रेस अलमलमा छ ।

सचेत सर्वसाधारणलाई कांग्रेसमा आउ भनेर कसरी कन्भिन्स गर्ने ?
आज सचेत नागरिक कम्युनिष्ट पार्टीमा लाग्न सक्तैनन् । किनकि अहिले नेपालमा कम्युनिजम स्वीकार गर्ने कम्युनिष्ट नेपालमा छँदैछैनन् । अर्थात् नेपालमा कम्युनिष्ट पार्टी छैनन् । आज सबै कम्युनिष्ट नामधारी पार्टीहरु संसदीय पार्टी हुन् । संसदीय पद्धति कांग्रेसकै विचार हो नि । साँच्चै अहिलेको संविधान लागु गर्ने हो भने कांग्रेसमा आउनुहोस्, होइन भने यो संविधान मान्दिनँ भन्नुहोस् । साच्चिकै संसदीय प्रतिस्पर्धात्मक राजनीति गर्ने हो भने त कांग्रेसबाहेक अर्को दल कुन छ र ?

तपाईंकै भनाइमा अहिले कांग्रेसको नेतृत्व सुविधाभोगी छ । यसलाई कसरी सुधार्ने होला ?
पहिला वीपीले कांग्रेसको समाजवादी अवधारणा जनतालाई प्रष्ट रुपमा वुझाउनु भएको थियो । तर, अहिले के भन्न थालियो भने कारखानाहरु सबै कांग्रेसले बेच्यो, ऊ समाजवादी पार्टी होइन । कारखाना बेच्नुसँंग समाजवादको केही तालमेल छैन । समाजवाद भनेको समाजलाई अघि बढाउने जीवन पद्धति हो । यसमा आचरण, व्यवहारको कुरा आउँछ । कार्यकर्ता भित्रको समानता, जनताभित्रको समानता, नैतिक आचरण सबै कुराहरु जीवन पद्धतिमा आउँछ । कृष्णप्रसाद भट्टराई, भीमवहादुर, बलवहादुर राई लगायतको आचरण नेतृत्वले अनुशरण गर्नुपर्ने हो ।

कांग्रेसमा तेस्रो धारको रुपमा कृष्णप्रसाद सिटौला समूह सक्रिय छ । यो धार अहिले किन बाहिर परेको हो ?
गिरिजाप्रसाद कोइरालाको मृत्युपछि गणतन्त्र र शान्तिप्रक्रियाको लिगेसी सिटौलासँंग छ । कांग्रेसभित्र शेरवहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा छ । गणतन्त्र र शान्तिप्रक्रियाको लिगेसी सिटौलासँंग भए पनि कसरी अघि बढ्ने भन्ने बारेमा न देउवाले सरसल्लाह गर्छन् न पौडेलले नै । संविधानको दफा कुन आशयले कसले लेख्यो त्यसलाई थाहा हुन्छ अझ बढी संविधानको मर्म र भावना । अरुले त आफ्नो स्वार्थअनुसार व्याख्या गर्नेहुन् । अहिले सरकारजस्तै हाम्रो पार्टी नेतृत्व पनि मूलधार बाहिर छ ।

कांग्रेसको आन्तरिक किचलोले अबको चुनावमा असर पर्दैन ?
कम्युनिष्ट र कांग्रेसमा फरक छ । कम्युनिष्ट संगठनले चल्छ । हाम्रो कांग्रेस व्यत्तित्वले चल्छ । वीपीले जुन व्यत्तित्व बनाउनुभएको थियो उहाँको व्यत्तित्वको कारण हामी कांग्रेस भएका हौं । अहिले पनि कांग्रेसभित्र विश्वप्रकाश शर्मा गगन थापा, प्रदीप पौडेलजस्ता व्यत्तित्व छन् । पार्टी चलाउन कांग्रेसमा असल मान्छेहरु धेरै छन् । ती असल मान्छेहरुलाई परिचालन गर्न सकेमा कांग्रेसको गिरेको साख फर्काउन सकिन्छ ।

कांग्रेसका विगतदेखि नै हेर्ने हो भने राम्रो भएको ठाउँमा ४०÷४२ प्रतिशत छन् भने खत्तम बिग्रियो भनेको ठाउँमा २५÷३० प्रतिशत हो । २०१७ सालदेखि नै हेर्ने हो भने संगठन विग्रियो भनेको ठाउँमा २५÷३० प्रतिशतभन्दा कम छैनन् र संगठन सारै राम्रो भयो भनेको ठाउँमा पनि ४०÷४२ प्रतिशतबाट बढेका छैन । कांग्रेस भनेको विवेग प्रयोग गर्ने जात पनि हो । हाम्रो पार्टीभित्र अन्तर्घातको कुरा धेरै आउँछ । राम्रो मान्छे उमेदवार देख्यो भने अन्तै पनि भोट हाल्दिन्छ ।

चुनावको बेला कांग्रेस हार्ने कारण चाहिं के हो ?
मनोवैज्ञानिक कारण हो । सबैभन्दा धनी नेताहरु भएपनि कम्युनिष्टले आफ्नो पार्टीलाई गरिवको पार्टी हो भन्छ । नेपालका जनता सबै गरिब हौं । उनीहरुले गरिबको पार्टी भनेर कम्युनिष्टलाई भोट दिन्छन् । दलित जनजातिहरुमा पनि त्यस्तै मनोबैज्ञानिक असर परेको छ । यिनीहरुमा पनि हाम्रो पार्टी कम्युनिष्ट हो भन्ने भ्रम छ । कांग्रेस हराउन आम जनतालाई मनोवैज्ञानिक असर पार्न कम्युनिष्टहरु एकीकृत हुन्छन् । कांग्रेसहरु भ्रमको खेती गर्न एकीकृत हुदैनन् ।

कांग्रेसले निर्वाचन हार्नुमा सही उम्मेदवार छनौट गर्न नसक्नु पनि एक हो भनिन्छ नि ?
हो । उम्मेदवार छनौटको लागि हामीले धेरै सुझाव दिन्छौ । तर, नेतृत्वले तल्लो तहको कुरा सुन्दैन । नेता भनेको दुई किसिमको हुन्छ । एउटा नेतृत्व दिने नेता, अर्को विधानले बनाएको नेता । अहिले पार्टीभित्र विधानले बनाएको नेता तयार भए । नेतृत्व दिने नेता तयार हुन सकेका छैनन् ।

निर्वाचनको समयमा टिकट दिदा आर्थिक चलखेल भएको कुरा के हो ?
हावा नचली पात हल्दिैन नि । कांग्रेसले समाजवाद छोडेको भनेको यही हो । इँटा टायल कारखाना बेचेर समाजवाद छोडेको होइन । एक साथीले अर्को साथीको मानमर्दन गर्नु, नेताले विधि विधानभन्दा पनि गुटगट स्वार्थमा निर्णय गर्नु, टिकट दिंदा पैसा खोज्नु, क्षमता योग्यताको कदर नगर्नु भनेको समाजवाद छोड्नु हो ।

वास्तवमा पैसा भएर चुनाव जित्ने र पैसा नभएर चुनाव हार्ने पनि हैन । कार्यकर्ता परिचालन कसरी गरेको छ, जनताको मा कतिको पुगेको छ र जनताको माझमा उभिएर भाषण गर्दा पत्याउँछन् कि पत्याउँदैन् भन्ने कुराले चुनाव जित–हार हुन्छ । जस्तै गोरेटो बाटो नै बनाएको छैन उसले एयरपोर्ट बनाइदिन्छु भनेर जनताले पत्याउँछन् र ? । जनतालाई मुर्ख मानेर मेरो मान्छे भनेर टिकट दिइन्छ, चुनाव हार्ने मुख्य कारण त्यही हो ।

अन्त्यमा, केन्द्रीय समितिले दोस्रो चरणको जागरण अभियानअघि विधान अनुसारको सम्पूर्ण संरचना बनाउने भनेको छ । के यो सम्भव होला ?
सम्भव नहुने भन्ने त छैन । यदि विधानअनुसार सबै संरचना बनाउने हो भने एकदिनमै सकिन पनि सक्छ । क्रियाशील सदस्यता दिएर पो भ्याइदैन । अहिलेको विधानमा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन गराउने भनिएको छ । त्यस कारण केन्द्रीय नेतृत्वले चाहेमा तुरुन्तै सबै संरचना निर्माण गर्न सकिन्छ । देशभर आम कार्यकर्ताको धारणा पनि विधान अनुसारको सबै संरचना बनाउनुपर्छ भन्ने छ ।

प्रतिक्रिया दिनुहोस्