२५ वर्षपछि फर्कियो करिश्माको खुसी



अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धरका लागि बिहीबारको दिन तनाव र खुसीको दिन सावित भयो। तनाव र खुसीको दिन एउटै कसरी भने बिहीबार एसईईको परीक्षाफल आउने भएपछि बिहानैदेखि उनलाई यसैको विषयमा चिन्तामात्र भएन, लगातार बजेको फोन उठाएर जवाफ दिँदा–दिँदा हैरान पनि भइन्। तर, डी प्लससम्म भइएला भनेर मानसिकरूपमा तयार भएर बसेकी उनी बी प्लस ल्याएपछि खुसी भइन्।

‘जसले पनि फोन गरेर सोधिरहनुभएको थियो कि रिजल्ट के भयो? मसँग यसको जवाफ नै थिएन। रिजल्ट मैले निकाल्ने हो र? तर दिनभर यही प्रश्नको सामना गरिरहनुपर्यो।’ –करिश्माले नेपाल समाचारपत्रलाई सुनाइन्। करिश्मालाई अर्को तनाव यो थियो कि परीक्षाफल प्रकाशित हुनु अघिदेखि नै उनको घरमा क्यामराको लर्को लागिसेकेको थियो। ‘मैले त पुलिसलाई कसैलाई भित्र प्रवेश गर्न नदिनुसमेत भन्नुपर्यो।’ –करिश्माले भनिन्। तर, जसै परीक्षाफल प्रकाशित भयो, उनलाई बधाई दिनेको लर्को लाग्यो। फोन उठाएर साध्य नै भएन।

‘मेहनतले रंग ल्यायो। मेरो टिचरहरूका कारण म सफल भएँ। उहाँहरूलाई कहिल्यै बिर्सने छैन। एउटा स्पेसल सेलिब्रेसन गर्ने सोचमा छु’, करिश्मा सुनाइन्– ‘अबको स्टडीका लागि अझै मेहनत गर्नुपर्छ भन्ने लागेको छ। किनभने जति लेभल बढ्दै गयो, त्यति नै कठिन हुन्छ।’ करिश्माका लागि उनले पाएको बी प्लस अर्को महत्वपूर्ण खुसी दिलाउने पक्ष हो। ‘म डी प्लससम्म भए पनि हुन्छ भन्नेमा थिएँ। तर, बी प्लस नै आउँदा झनै खुसी लाग्यो।’ –करिश्माले सुनाइन्।

उनी किन डी प्लसमै चित्त बुझाउने मनस्थितिमा पुगेकी थिइन् भने सामाजिक र वातवारण विषयको परीक्षाका समयमा उनी परीक्षा हलमा ढिलो पुगेकी थिइन्। सोसलको दुइ वटा प्रश्नको जवाफ नै दिन पाएकी थिइनन्। त्यस्तै शुरूमा अप्सनल म्याथ लिएर पढेकी उनले पछि त्यो विषय परिवर्तन गरेर पपुलेसन लिएकी थिइन्।

पढ्दापढ्दै फिल्म क्षेत्रमा प्रवेश गरेपछि करिश्मा अध्ययनबाट टाढा हन पुगेकी थिइन्। फिल्म क्षेत्रमा प्रवेश गरेको साढे २ दशकपछि अध्ययनलाई निरन्तरता दिँदै ४ वर्षसम्म त्रिवेणी पब्लिक स्कुलमा पढेर एसईई दिएकी थिइन्। उनले डिल्लीबजारस्थित विजय मेमोरियलमा एसईईको परीक्षा दिएकी थिइन्।

‘मानिसलाई सिँढी चढिसकेपछि बीचका सिँढी ग्याप गरेर ओर्लन गाह्रो पर्छ। मलाई भने त्यसरी ओर्लन गाह्रो लागेन। मानिस माथि गएपछि किन जानुपर्यो र तल भन्थे। मचाहिँ झरें र स्कुल गएर पढें। एज ग्यापले गर्दा छोरीभन्दा सानाहरूसँग ७/८ घन्टा बिताउन केही कठिन थियो। अहिले सम्झँदा रमाइलो लाग्छ’, करिश्मा भन्छिन्– ‘एक्जाम दिने बेला राम्रै गरेंजस्तो लागेको थियो। तर, रिजल्ट आउने समय भएपछि चाहिँ डर डर लाग्दो रहेछ।’

प्रतिक्रिया दिनुहोस्