आप्पासँगै कीर्तिपुर



आज शुक्रबार दुई फिल्म रिलिजमा आउने भएका छन्। बाबुछोराबीचको सम्बन्धको कथा बुनिएको आप्पा र राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा निर्माण गरिएको कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी रिलिजमा आउन लागेका हुन्। दयाहाङ राई स्टारर आप्पा अनमोल गुरुङले निर्देशन गरेका छन्। फिल्मको लेखक पनि उनै हुन्। पूर्णरूपमा मनोरञ्जनात्मक फिल्म भनिएको आप्पा अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा रुदेन सादा लेप्चाले निर्माण गरेका हुन्। फिल्मको कार्यकारी निर्माता माबो चेम्जोङ हुन्।

दयाहाङ राई, सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतले अभिनय गरेको फिल्ममा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा र संवाद, अनमोल गुरुङ र सैकात देवको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी प्रदीप खड्गीले निर्देशन गरेका छन्। साहित्यकार वासु पासाद्वारा लिखित भैरवसिंह नामक उपन्यासमा आधारित भएर निर्माण गरिएको कीर्तिपुरमा नेपालभाषाको लोकप्रिय फिल्म राजमतीकी नायिका हिसिला महर्जनले कीर्तिलक्ष्मीको शीर्ष भूमिकामा अभिनय गरेकी छिन् भने उनको पतिका रूपमा उनकै कलाकार पति मणिराज लवटले अभिनय गरेका छन्। यसबाहेक यशराज गराच, मदनदास श्रेष्ठ, विनोद श्रेष्ठ, सुशील राजोपाध्याय, सुन्दरलाल श्रेष्ठ, लक्ष्मी गिरी, मञ्जु श्रेष्ठ, सुनील भट्टराई, उदय श्रेष्ठ, शूरवीर पण्डित, सञ्जय शर्मा राजोपाध्याय, शिला साय्मी, रश्मी नापितलगायतले अभिनय गरेका छन्। फिल्ममा द्वन्द्व शंकर महर्जन र उदय श्रेष्ठ, कला निर्देशन केके मानन्धर र छायांकन नवीन जोशीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्