भारतको अपराजेय यात्रा कायमै



 

नयाँ दिल्ली, (एजेन्सी)
आईसीसी क्रिकेट विश्वकपअन्तर्गत भारतको अपराजेय यात्रा निरन्तर भएको छ ।

बिहीबार भएको खेलमा वेस्ट इन्डिजलाई १२५ रनले हराएपछि भारत हालसम्म प्रतियोगितामा अपराजेय हुने एक्लो टोली समेत बन्यो । अघिल्लो दिन पाकिस्तानसँग न्युजिल्यान्ड हारेर अपराजेय यात्रामा पूर्णविराम लागेको थियो । यो जितसँगै भारत सेमिफाइनलतिर अग्रसर भएको छ । टोलीले ६ खेलबाट ११ अंक जोडेको छ ।

वेस्ट इन्डिज ३४।२ ओभरमा १ सय ४३ रनमा अलआउट भएको थियो । टोलीका लागि सुनील अम्बरीसले सर्वाधिक ३१ रन बनाएका थिए ।
वेस्टइन्डिजको ब्याटिंग लाइनअपलाई भारतीय बलरले एकपछि अर्को गर्दै ध्वस्त बनाएका थिए । भारतीय बलर मोहमद सामीले सर्वाधिक ४ विकेट लिए भने जसप्रित बुमरह र युजवेन्द्र चहलले २(२ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेय र कुलदीप यादवले एक एक विकेट लिए ।

वेस्टइन्डिजका लागि सुनिल एमब्रिसले सर्वाधिक ३१ रन बनाए भने क्रिस गेलले ६, साइ होपले ५, निकोलस पुरनले २८, शिमोन हिटमायरले १८, जेसन होल्डरले ६, कार्लोस ब्रेथवेटले १, किमोर रोचरले १४, शेल्डन कोट्रेलले १० र ओसमान थोमसले ६ रन बनाएका थिए ।

कोहलीले सचिनको कीर्तिमान तोडे

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफ्नै राष्ट्रका लिजेन्ड सचिन तेन्दुलकरको अर्को कीर्तिमान ध्वस्त गरेका छन् ।
बिहीबार वेस्ट इन्डिजविरुद्धको खेलमा कोहलीले २० हजार रन कम खेल खेलेर पुरा गरेका हुन् । व्यक्तिगत ३७ रन बनाएपछि कोहलीले सचिनसँगै वेस्ट इन्डिजका ब्रायन लाराका कीर्तिमान छायामा पारे । उनले छिटो २० हजार रन बनाउनेक्रममा ४ सय १७ एकदिवसीय खेल खेले ।

जबकी लारा र सचिनले यति रन पार गर्न ४ सय ५३ खेल खेलेका थिए । यसै विश्वकपअन्तर्गत कोहलीले सचिनले छिटो बनाएको १० हजार रनको कीर्तिमान पनि भंग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्