साधना अब लार्ज प्रिन्टमा



नेपाल समाचारपत्र, काठमाडौं ।

कामना न्यूज पब्लिकेसन्स्बाट नियमितरुपमा प्रकाशन भइरहेको साधना हेल्थ एन्ड ब्युटी म्यागेजिन नयाँ साजसज्जा सहित प्रकाशित भएको छ । विगत २७ वर्षदेखि प्रकाशन हुँदै आएको साधनाको असार अंकदेखि विशेष साजसज्जासहित ‘लार्ज प्रिन्ट’मा प्रकाशन हुन थालेको हो ।

लार्ज प्रिन्टको यो कन्सेप्ट नेपालकै पहिलो प्रयास हो । बजार सर्वेक्षणका आधारमा साधना हेल्थ एन्ड ब्युटी म्यागेजिनका पाठक १४ वर्षका किशोर–किशोरीदेखि ८० वर्षसम्मका वरिष्ठ नागरिकसमेत हुने गरेको पाइएको छ । त्यसैले साधनालाई अझ पाठक–मैत्री बनाउने उद्देश्यले यस अंकदेखि लार्ज प्रिन्टमा प्रकाशन गर्न थालिएको पब्लिकेसन्स्ले जनाएको छ ।

‘स्वास्थ्यसम्बन्धी म्यागेजिन पढ्दा आँखामा कुनै प्रकारको दबाब नपरोस् र तनाव उत्पन्न भई टाउकोसमेत नदुखोस् भन्ने उद्देश्यले ठूलो साइजका अक्षर प्रयोग गरिएको हो’–पब्लिकेसन्स्द्दारा जारी विज्ञप्तीमा उल्लेख छ । साना फन्टको तुलनामा ठूला फन्ट भएका पाठ्य सामग्री पढ्दा आँखाको थकान कम भई पढ्न सहज हुने पब्लिकेसन्स्ले अपेक्षा गरेको छ ।

साधनालाई झन् पाठक–मैत्री बनाउने उद्देश्यले प्रयोग गरिएको ठूला फन्टका कारण पृष्ठसंख्या वृद्धि हुने भए पनि पाठकहरुको सुविधाका लागि साधनाको मूल्यमा भने परिवर्तन गरिएको छैन । हरेक महिनाको १५ गते प्रकाशन हुने साधना म्यागेजिनले सबै परिवारलाई स्वस्थ रहन मद्दत गर्ने पब्लिकेसन्सस्को विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्