विद्यालय पुनर्निर्माण द्रुत गतिमा, एकैदिन ४ विद्यालयले पाए नयाँ भवन



काठमाडौंमा । भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ । बुधवार मात्रै काठमाडौंका ४ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले बुधवार एकैदिन काठमाडौंका ४ विद्यालयलाई नवविर्मित भवन हस्तान्तरण गरेको हो ।

इकाईले बुधवार बिहान ७ बजे बलम्बु मावि बलम्बु, ८ बजे ज्ञानोदय मावि बाफल, १२ बजे जितपुर मावि, जितपुर र दिउँसो ३ बजे जनजागृति मावि कपनलाई नवनिर्मित भवन हस्तान्तरण गरेको हो ।

केहि दिन अगाडि पनि काठमाडौं इकाईले एकै दिन ४ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको थियो ।  बुधवार एक भव्य समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ज्ञानोदय माविलाई नवनिर्मित भवन हस्तान्तरण गरेका थिए । अन्य विद्यालयहरुलाई स्थानीय तहका प्रमुखहरु मार्फत भवन हस्तान्तरण गरिएको हो ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले अब साुदायिक विद्यालय सबलीकरणको महाअभियान शुरु भएको उद्घोष गरे । सरकारले २०७६–०८६ लाई सामुदायिक विद्यालयको सबलीकरण वर्षको रुपमा मनाउन लागेको स्पष्ट पार्दै मन्त्री पोखरेलले शिक्षण सिकाइमा सुधार र गुणस्तर अभिवृद्धिका लागि सवैले नयाँ तरिकाले सोच्नुपर्ने आवश्यकता औंल्याए ।

केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)का उपनिर्देशक युवराज पौडेलले नयाँ भवनमा गुणस्तरीय शिक्षा दिन विद्यालयहरुसँग आग्रह गरे ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंका प्रमुख अर्जुन रायमाझीले आफूहरुले बनाइदिएको नयाँ भवनमा विद्यार्थी भर्न र गुणस्तरीय शिक्षा दिन आग्रह गरे । नयाँ भवनमा कार्यालय नराखी विद्यार्थी मात्रै राख्न उनको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्