आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य



सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ८.५ प्रतिशतको आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य लिएको छ । विश्व बैंकलगायतका स्वतन्त्र निकायहरुले नेपालको आर्थिक वृद्धिदर बढ्ने तर ८.५ प्रतिशत नपुग्ने प्रक्षेपण गरेका छन् । लक्ष्य ठूलो लिनु अन्यथा हैन तर पछिल्ला केही आर्थिक सूचकांकहरु भने निराशाजनक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १० महिनायता प्यापार घाटा झन् चुलिँदै गएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ को पछिल्लो १० महिनामा व्यापार घाटा झन्डै ११ खर्ब पुगेको छ । यो भनेको करिब १९.७ प्रतिशतको वृद्धि हो । बितेका १० महिनामा यस कुल वस्तु निर्यात पनि १८.१ प्रतिशतले वृद्धि भई रु.७८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । निर्यात केही बढे पनि आयातको तुलनामा यो अत्यन्तै न्यून हो ।

यसै गरी राष्ट्र बैंकले यो अवधिमा विदेशी मुद्रा सञ्चिती पनि घटेको जानकारी गराएको छ । बितेको १० महिनामा करिब १० अर्ब विदेशी मुद्रा सञ्चिती घटेको छ । विदेशी मुद्रा सञ्चिति घट्नु भनेको देशलाई आवश्यक पर्दा आयात गर्न नसक्ने अवस्था सृजना हुनु हो । चालू आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको हो । बितेको १० महिनामा रेमिट्यान्स बढेर ७ खर्ब २५ अर्ब ३० करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो । रेमिट्यान्स बढ्नु राम्रो हो । नेपालको अर्थतन्त्रको अवस्था हेर्दा देश रेमिट्यान्सले मात्रै धानेको छ । विदेशिएका करिब ४० लाख नेपालीले पठाएको पैसाले देश चल्नु भनेको दुःखद अवस्था हो । जबसम्म देशभित्रै रोजगारीको अवसर सृजना हुँदैन, उत्पादकत्व बढ्दैन, तबसम्म सम्मृद्धि कोरा कल्पना र नारामै सीमित हुन्छ ।

हिजोसम्म आत्मनिर्भर भएका वस्तुहरु पनि विदेशबाट आयात हुन थालेका छन् । नेपालले अमेरिकाबाट स्याउ, मेक्सिकोबाट मकै र भारतबाट चामल आयात गर्ने अवस्था आएको छ । तरकारीदेखि मासुसम्म विदेशबाट आउन थालेपछि व्यापार घाटा नबढेर के गरोस् ?

नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकलाई तोडमोड गरेर सम्मृद्धि वा आर्थिक वृद्धिदर बढ्ने होइन । बरु अहिले सार्वजनिक भएको तथ्यांकको गहिरो विश्लेषण गर्दै देशलाई आत्मनिर्भर बनाउनेतर्फ कदम चाल्नुपर्छ । कम्तीमा आयातमा आधारित अर्थतन्त्रलाई सुधार्न के–कस्ता क्षेत्रमा लगानी आवश्यक छ भन्नेतर्फ सोच्नुपर्छ । जलस्रोतको उपयोगलाई बढावा दिनुपर्छ । गाउँमा रोजगारीको अवसर सृजना गर्नुपर्छ । कृषिमा हुने लागत घटाउँदै उत्पादकत्व बढाउनुपर्छ । किसानलाई सहुलियत दिनुपर्छ र देशबाट युवाशक्ति विदेशिने अवस्थाको अन्त्य गर्नुपर्छ । अनि मात्र आर्थिक वृद्धिको सपना पूरा हुँदै जान्छ ।
– भरोसा सुनार, काठमाडौं ।

कम उमेरमै क्यान्सरको जोखिम
६० वर्ष उमेर कटेपछि देखिने क्यान्सर रोग अहिले कलिला बालबालिकामा देखिन थालेको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दैनिक सयौँको संख्यामा क्यान्सरपीडितलाई उपचारका लागि ल्याइन्छ । भक्तपुरमा त्यस्तै अवस्था छ । ६० वर्ष कटेपछि देखिने क्यान्सर अहिले ३० वर्षयता नै देखिएको क्यान्सर रोग विशेषज्ञले जनाएका छन् । पहिले ५० कटेका महिलामा देखिने पाठेघर र स्तन क्यान्सरको समस्या अहिले २५ वर्षकै उमेरमा देखिन थालेको छ ।

नेपालमा महिलालाई सबैभन्दा बढी पाठेघर र स्तन क्यान्सरबाट पीडित बनाउने गरेको छ भने फोक्सोको क्यान्सरबाट महिला, पुरूष र बालबालिकासमेत पीडित बन्ने गरेका छन् । विज्ञहरुका अनुसार ६० प्रतिशत क्यान्सर खानपान र अस्वस्थ जीवनशैलीका कारणले हुने गरेको छ । ३० प्रतिशत क्यान्सर सुर्तीजन्य पदार्थ सेवनबाट र १० प्रतिशत क्यान्सर निष्क्रिय जीवनशैली, रहनसहनका कारणले लागेको पाइन्छ । कलिलै उमेरमा क्यान्सरको जोखिम हुनुमा विषादीयुक्त तरकारीको सेवन, जंकफुड, प्याकेटका खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नै मानिएको छ ।

क्यान्सर रोगको न्यूनीकरणका लागि अर्बुद रोग निवारण संस्थाले ३६ भन्दा बढी जिल्लामा क्यान्सर रोगको रोकथाम तथा निदानबारे सचेतना र उपचारसेवाको कार्य गर्दै आएको छ । सो संस्थाले पनि प्रायः क्यान्सरको प्रमुख जड धूमपान तथा सुर्ती सेवन र जंकफुडलाई नै मानेको छ । विभिन्न स्वास्थ्य संस्थामार्फत शिविर र सचेतनाको कार्यक्रम भए पनि हेलचेक्र्याइँका कारण क्यान्सर रोगले गाँजिरहेको छ । धूमपान र सुर्ती सेवन गर्नुहुँदैन भन्ने चेतना नभएका कोही छैनन् । तर, जानेबुझेका र पढेलेखेका मानिसहरुले समेत क्यान्सरजस्तो असाध्य रोगलाई आमन्त्रण गरिरहेका छन् ।

सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नमात्र सके पनि क्यान्सरबाट हुने मृत्युमा २२ प्रतिशत न्यूनीकरण गर्न सकिन्छ । सुर्तीजन्य पदार्थमा ४ हजारभन्दा बढी हानिकारक रसायनहरु हुन्छन्, जसले रगतमार्फत शरीरका विभिन्न भागमा क्यान्सर फैलाउँछ । नेपालका क्यान्सर अस्पतालहरुले गरेको रोगीको भर्नासम्बन्धी अध्ययनबाट पुरूषको मृत्यु फोक्सो, पेट, कलेजो, अन्न नलीको क्यान्सरबाट र महिलाको मृत्यु पाठेघर, स्तन, फोक्सो, पेटको क्यान्सरबाट हुने गरेको छ ।

नेपालमा कुल जनसंख्याको करिब १४ प्रतिशतमा क्यान्सर रोग लागेको अनुमान छ । क्यान्सरको लक्षणबारे चेतना नहुँदा पनि मृत्युदर घटाउन चुनौती थपिएको छ । सामान्यतः निको नहुने खोकी, स्तन वा शरीरका ठाउँमा नदुख्ने गिर्खा आउनु, कोठीको आकार बढ्नु र परिवर्तन हुनुजस्ता क्यान्सरका लक्षण हुन् । त्यस्तै निको नहुने घाउ, अत्यधिक रक्तस्राव, दिसापिसाब गर्ने बानीमा फेरबदल, अपच वा निल्न गाह्रोे हुनेजस्ता समस्या पनि क्यान्सरका सामान्य लक्षण हुन् । सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, सन्तुलित भोजन गर्ने, व्यायाम गर्ने र सन्तुलित मात्रामा मद्यपान गर्दा ३० प्रतिशतभन्दा बढी क्यान्सरको निदान गर्न सकिने विज्ञहरुको सुझाव छ ।

‘ह्युमन प्यापिलोमा भाइरस’ र ‘हेपाटाइटिस बी’विरूद्धकोे खोप दिन सके क्यान्सरबाट हुने २० प्रतिशत मृत्यु कम गर्न सकिन्छ । समयमै सजग बन्न सके ३३ प्रतिशत क्यान्सरबाट बच्न, ३३ प्रतिशत क्यान्सरलाई निको पार्न र ३३ प्रतिशत क्यान्सरबाट जीवन लम्ब्याउन सकिन्छ । सुरुवाती चरणमै पहिचान हुनसके अधिकांश क्यान्सरको उपचार सम्भव हुन्छ । त्यसैले, शरीरमा फरकपन आउनासाथै चिकित्सकसँग सरसल्लाह लिने बानी गर्नुपर्छ । सकभर रोग लाग्नुअगावै सचेत हुन सके क्यान्सर रोगबाट बच्न सकिन्छ ।
– दीपेश कार्की, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्