जनप्रतिनिधि ‘राजा’ बन्दै



लोकतन्त्र संस्कार बन्न सकेन । जनप्रतिनिधि विगतका राजाहरुजस्ता देखिए । महँगा गाडी चढ्ने, आम नागरिकको बाटो रोकेर सबारी चलाउने, महँगा सवारी साधनमा सयर गर्ने र सलामी खाने । जुन व्यवहारबाट वाक्कदिक्क भएर लोकतान्त्रिक परिवर्तनका लागि जनताले आन्दोलन गरे, वलिदानी दिए, आज त्यही स्वरुप दोहोरिन थाल्यो ।

संविधानतः आज मुलुकमा लोकतन्त्र मात्र छैन, समानुपातिक समावेशी लोकतन्त्र छ, खुला सरकारको अवधारणाको अनुशसरण गर्ने प्रयास भइरहेको छ । राजधानीको सिंहदरबार गाउँ–गाउँमा पुगेको छ अर्थात् गाउँपालिका र नगरपालिका सात चरणको बजेट निर्माण प्रक्रिया पूरा गर्दै आफ्नो बजेट आफै बनाउने र कार्यान्वयन गर्ने अभ्यासमा छन् । हिजोको एकात्मक शासन व्यवस्था सात सय ५३ स्थानीय तहमा बाँडिएको छ । नीतिगत रुपमा भन्नुपर्दा हामी साँच्चिकै बदलिएका र समृद्ध भएका छौं, तर व्यवहारमा भने लोकतान्त्रिक संस्कार भएन ।

निर्वाचनको क्रममा जनताको पक्षमा काम गर्ने र विकास निर्माण गर्ने प्रतिवद्धता गरेर निर्वाचित भएका जनप्रतिनिधिहरु विलासी बन्दै गएका छन् । राष्ट्रिपतिको सवारीले बारम्बार नागरिहरु दिक्क हुनेगरेका छन् । राज्यले विशिष्ट व्यक्तिको लागि सुरक्षा व्यवस्था अपनाउन त पर्छ नै तर सुरक्षाको नाममा हुने तडकभडक र सर्वसाधारण यात्रुहरुले सहज रुपमा सडकमा आवतजावत गर्न नपाउने व्यवस्था भने गलत छ । निर्वाचनको क्रममा गरेको प्रतिवद्धताहरु निर्वाचनपछि विस्तारै विर्सदै जाने जनप्रतिनिधिहरुको रोग नै हो । नागरिकको सेवा गर्छु भनेर निर्वाचित भएकाहरुमा जाग्दो भोगविलासले भने नागरिकहरुलाई लाज लाग्ने अवस्था सृजना भएको छ ।

जनप्रतिनिधिहरु उत्तरदायी हुनुको सट्टा सुविधाभोगी बन्दै गएकोप्रति नागरिहरुमा चिन्ता र आक्रोश जन्माएको छ । सामान्य सवारी साधनले नै पनि काम चल्ने अवस्थामा राज्यकोषबाट बढी सुविधाका सवारी साधन खरिद गर्ने होड नै चलेको छ । यसको उदाहरण विशेषगरी प्रदेश सरकार र स्थानीय सरकारमा देख्न सकिन्छ । विकास निर्माणमा प्रतिस्पर्धा गर्नुपर्ने जनप्रतिनिधिहरु आफ्नो सेवा सुविधामा बढी केन्द्रित भएका छन् जसको कारण नागरिकमा आशा होइन, निराशा जन्माएको छ । समय परिस्थितिअनुसार चल्नको लागि सवारी साधन आवश्यकता हो । तर आवश्यकताको नाममा जनप्रतिनिधिहरुमा सवारी साधन खरिद गर्ने होडवाजी भने गलत छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुमा सुविधाभोगी बन्ने प्रतिस्पर्धासँगै सलामी खाने प्रचलन पनि बढेको छ । राजा महाराजालेझैं सलामी लिने कामले नागरिकको शिर निहुरिएको छ । समाजलाई रुपान्तरण गर्ने, विकास निर्माणको गतिलाई अगाडि बढाउने र सहज रुपमा नागकिरहरुलाई सेवा सुविधा प्रदान गर्ने उद्देश्यको साथ निर्वाचनबाट जितेर आएका जनप्रतिनिधिहरुको सलामी खाने प्रवृत्तिको सर्वत्र विरोध भएको छ ।

देशमा शासन व्यवस्था परिवर्तन भएपनि राजनीतिक दलहरुको मानसिकतामा भने परिवर्तन आउन सकेको छैन । राजनीतिक परिवर्तनको चाहना र भावनाअनुसार राजनीतिक दलबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले आफ्नो सोच र संस्कारमा परिर्वतन ल्याउन जरुरी छ । समाजलाई रुपान्तरण गर्नको लागि स्वयं जनप्रतिनिधिहरु रुपान्तरण हुनुपर्छ । जनप्रतिनिधिहरुले नातावाद, कृपावादबाटमुक्त हुँदै विलाशिताको बाटो छोडेर देश बनाउनतिर लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्