अपहरणमा परेकी बालिकाको ३२ घण्टा पछि बुटवलको होटलबाट उद्धार



यमलाल भुसाल, बुटवल । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्वर १२ बाट सोमवार साँझ अपहरणमा परेकी ६ बर्षिय बालिकालाई ३२ घण्टा पछि बुटवलको एक होटलबाट प्रहरील उद्धार गरेको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्वर १२ का टेक बहादुर थापाकी छोरी ६ बर्षिय साबित्रीलाई अपहरण गरी बुटवल उप महानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रुपनदेहीले जनाएको छ ।

थापालाई जिल्ला पर्सा बिरगञ्ज महानगरपालिका २७ बस्ने बर्ष ३८ को जयराम दासले निज टेकबहादुर थापा घरमा नभएको र श्रीमती मन्जु थापा र नाबालिका छोरी मात्र घरमा भएको अबस्थामा जवरजस्ती अपहरण गरी लगेको भन्ने मंगलवार दिउसो ४ वजे इलाका प्रहरी कार्यालय बुटवलमा जानकारी गराईएको थियो ।

सुचना प्राप हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट पहरीनायव उपरिक्षक भिमलाल भट्टराई समेतको कमाण्डमा टोली खटी गई खोज तलास गर्दा बुधवार बिहान अंन्दाजी साढे ७ बजेको समयमा जिल्ला रुपन्देही बुटवल उप(महानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा अपहरित साबित्री थापालाई फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ ।

जयराम दासले बिगत नौ महिनादेखि पीडितको घर नजिकै रैनी खोलामा पुल बनाउने पेटी ठेगेदारको काम गर्दै आएकोमा पीडितको आमा मन्जु थापासंग चिनजान भई सम्बन्ध रहेको र निज जयराम दासले मन्जु थापालाई बिवाहको प्रस्ताब राखेकोमा निज मन्जुले नमाने पछी पीडित नाबालिका थापालाई अपहरण गरी लगेको प्रहरीले जनाएको छ ।

अपहरणकर्ता जयराम दासलाई पक्राउ गरि थप अनुसंन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले प्रेस नोट जारी गर्दै अपहरणमा परेकी बालिकाको उद्धार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्