खोटाङमा व्यवसायीक फुटबलको मुलढोका खुल्यो



रामधन राई,खोटाङ । असार–११, खोटाङमा एक सातासम्म चलेको जिल्ला लिग फुटबल प्रतियोगिता सम्पन्न भएलगत्तै शुरु भएको अर्को ‘क्वीक्स कप अन्तर माबि स्तरिय छात्र/छात्रा फुटबल प्रतियोगिता’ पनि सम्पन्न भएको छ । दिक्तेलबजारस्थित माटिकोरे खेलमैदानमा सम्पन्न यी दुवै शीर्षकको प्रतियोगिता जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गरिएको र ऐतिहासिक रुपले सम्पन्न गरिएको प्रतियोगिता थियो ।

जेठ–२ गतेदेखि ७ गतेसम्म चलेको जिल्ला लिगमा सहभागी १० समुह र त्यसकै भोलिपल्टदेखि शुरु भई १० गते सम्पन्न छात्रतर्फ ११ समुह र छात्रातर्फ ४ समुह सहभागी बन्न पाएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सम्पन्न उक्त दुवै महत्वपूर्ण प्रतियोगितामा ५२ जना छात्रा खेलाडी सहित कूल ४ सय जना खेलाडीले फुटबल खेल्ने र अनुभव बटुल्ने अवसर पाएका थिए ।
यस वर्ष अखिल नेपाल फुटबल संघ(एन्फा)को अस्थायी सदस्यता प्राप्त गरेसँगै खोटाङ जिल्ला फुटबल संघले यस्तो ऐतिहासिक आयोजना गर्ने मौका पाएको थियो । एन्फाको सदस्यता लिन निक्कै लामो मेहनत र दौडधुप गर्नु परेको ब्यवसायिक फुटबलको अभियन्ता तथा जिल्ला फुटबल संघको अध्यक्ष धु्रबबिक्रम राई बताउनुहुन्छ ।

२०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई एन्फाले यस पल्ट सदस्यता दिने निर्णय गरेको थियो । एन्फाको सदस्यता पाएसँगै जिल्लामा ब्यवसायिक फुटबल खेलको सम्भावनाको ढोका खुलेको बताईएको छ । सदस्यता प्राप्त गरेपछि आयोजना गरिएको जिल्ला लिगका बिजेता बाक्सिला फुटबल क्लबले प्रदेश स्तरीय लिगमा खेल्न पाउने अवसर पाएका छन् ।
खेलकुद बिकास समितिमा आधिकारिक दर्ता भएका फुटबल संघहरुमध्येबाट सहभागी १० समुहको प्रतिस्पर्धामा खोटाङ फुटबल एकेडेमी उपबिजेता बनेका थिए । जन्तेढुंगा गाउँपालिका र बुइपा ईलाभेन स्पोर्टस क्लब भने रेलिगेसनमा परी आउँदो बर्षको जिल्ला लिगमा खेल्नबाट बञ्चित भएका छन् ।

यता, क्वीक्स कप अन्तर माबि स्तरिय छात्रतर्फको प्रतियोगितामा माउण्ट एभरेष्ट ईङ्लिस बोर्डिङ स्कुल बिजेता र दिक्तेल ईङलिस बोर्डिङ स्कुल उपबिजेता बनेका छन् । छात्रातर्फ ज्योति माबि जालपा र जालपा मावि जालपा नै क्रमशः बिजेता तथा उपबिजेता बनेका छन् ।
एन्फाबाट प्रतियोगिता आयोजना गर्न अनुमतिका साथै केही आर्थिक सहयोग गरे पनि त्यो पर्याप्त नहुने र खेलप्रेमी महानुभाव तथा संघसंस्थाबाट संकलित सहयोग नै प्रतियोगिता सम्पन्न गर्ने मुख्य आधार भएको बताईएको छ ।

फुटबलसम्बद्द क्लब तथा संस्थाहरु, देशबिदेशमा रहेका शुभचिन्तक, स्थानीय तह लगायतका संस्थाहरुको सहयोगमा मात्र यस्ता प्रतिगोगिताहरु सम्पन्न गर्न सम्भब हुने अवस्था रहेको अध्यक्ष राईको भनाई छ । ब्यापार–ब्यवसायी, उद्यमीहरुको समेत सद्भाव र सहयोगले प्रशस्तै टेवा पु¥याएको भन्दै जिल्लामा बिकास भएको खेलप्रतिको सकरात्मक दृष्टिकोणले सकरात्मक नतिजा ल्याउने उहाँको भनाई छ ।

पछिल्लो समय स्थानीय तह कार्यान्वायनमा आएसँगै बिभिन्न स्थानमा फुटबल खेल मैदान निर्माण कार्य पनि तीब्र बनेका छन् । १० स्थानीय तह रहेको जिल्लामा सबै पालिकाको सबै जसो वडाहरुमा फुटबल खेलका लागि मैदान निर्माण कार्यलाई तीब्र पारिएको हो । पहिलेदेखि नै सञ्चालनमा रहेको खेलमैदानहरुलाई पनि बिस्तार तथा स्तरोन्नती गर्ने कार्य भईरहेको छ ।

खेल क्षेत्रका बिकासका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राई लगायत सबै जनप्रतिनिधिहरुले प्रतिबद्द रहेको जनाउँदै आएनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्