कान्ति लोकपथमा पहिरोको कहर रोकथाम कहिले ?



सुरेश तामाङ, काठमाडौं
ठमाडौंदेखि हेटौंडा जोड्ने छोटो दूरीको सडकका रूपमा कान्ति लोकपथलाई लिइन्छ। यो लोकपथ सरकारले पछिल्लो पटक वैकल्पिक मार्गका रूपमा विस्तार गरिरहेको छ। तर पहिरोका कारण भने यस सडकमा पाइलैपिच्छे जोखिम बढेको छ।

टीकाभैरवदेखि ५९ किलोमिटर लम्बाइ रहेको यस सडकबाट दुई घण्टामै हेटौंडा पुग्न सकिने भएर यस सडकलाई सरकारले विशेषरूपले हेरिरहेको छ। तर हिँउदमा यस सडकको ललितपुर खण्डको झाँक्री डाँडादेखि भट्टेडाँडा छपेलीसम्मको विभिन्न भागमा सुख्खा पहिरोका साथै वर्षाद्मा पनि पहिरो जोखिमले निकै सास्ती दिने गरेको छ। वर्षाद्को समय त पहिरो लडेर सडक अवरुद्ध बन्ने गरेको छ। प्रत्येक वर्षा यस्तै समस्याले यस सडकमा यात्रा गर्ने यात्रुहरू दिक्क भएका छन्।

पहिरो खसेर हप्तौं दिनसम्म सडक अवरुद्ध हुँदा यात्रु मात्र होइन, स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य वस्तु बजारसम्म पु¥याउन यस क्षेत्रका स्थानीयलाई ठूलो सास्ती हुँदै आएको छ। बागमती गाउँपालिका–४ प्युटार निवासी प्रकाश तामाङले पहिरोको कारण निकै दुःख रहेको बताउनुहुन्छ। ‘गाउँबाट कान्ति लोकपथ हुँदै शहर फर्किरहेका थियौं। पहिरो लडेर सडक थुनेपछि हामीले गाडीमै रात कटायौं। डर त छुट्टै थियो।’ –तामाङले भन्नुभयो।

हिँउदमा यस सडकको ललितपुर खण्डको झाँक्री डाँडादेखि भट्टेडाँडा छपेलीसम्मको विभिन्न भागमा सुख्खा पहिरोका साथै वर्षाद्मा पहिरोको जोखिमले भने निकै सास्ती दिएको छ। वर्षाद्को समय त पहिरो लडेर सडक अवरुद्ध बन्ने गरेको छ। प्रत्येक वर्षा यस्तै समस्याले यस सडकमा यात्रा गर्ने यात्रुहरू दिक्क भएका छन्।

उहाँसँगै दुईवटा यात्रुवाहक बस, बालुबा बोक्ने आधा दर्जन टिप्पर र मोटरसाइकलमा सवार सबै अलपत्रमा परेका थिए। वर्षाद्का कारण टीकाभैरव, झाँक्रीडाँडा, भालुखोला, कार्की बासलगायत आधा दर्जन स्थानमा पहिरो खसेको थियो। शुक्रबारदेखि लडेको पहिरो हटाउने काम अगाडि बढेको प्रहरी चौकी भट्टेडाँडाका प्रहरी नायब निरीक्षक लक्ष्मण थापाले बताउनुभयो।

यो सडक अहिले निर्माणाधीन अवस्थामा रहेको छ। सडक चौडा गर्ने काम पनि सकिएको छैन। जसको मार यस सडक हुँदै यात्रा गर्ने यात्रुहरूलाई परिरहेको छ। यो सडकको विस्तार कार्य सम्पन्न नभए पनि काठमाडौं हेटौंडा यात्रा गर्ने धेरै यात्रु छन्।

जिल्लाको दक्षिणी भेग बागमती गाउँपालिका, मकवानपुरलगायतको भेगबाट यो सडक हुँदै त्यहाँ उत्पादित कृषिजन्य उत्पादन दैनिक काठमाडौं ल्याउँछन्। सडक अवरुद्ध हुँदा ती उत्पादन खेर जाने अवस्था आउने गरेको बागमती गाउँपालिका–५, भट्टेडाँडाका स्थनीय शिवहरि दाहालले बताउनुभयो। ‘वर्षाद्का बेला सडकमा पहिरो खसिरहन्छ। यो उहिलेदेखिको समस्या भयो। दैनिक शहर लानुपर्ने कृषिजन्य उत्पादन बीच बाटोमै अलपत्र परेर खेर जाने अवस्था हुन्छ।’ –उहाँले गुनासो गर्नुभयो।

काठमाडौंबासीले उपभोग गर्ने तरकारी, दूधलगायतका कृषिका उत्पादनहरू जिल्लाको दक्षिणी भेगको विभिन्न स्थानबाट यही सडक हुँदै आउने गर्दछन्। वर्षाद्का बेला सडक अवरुद्ध हुने भएर यो सिजनमा कृषकलाई लाखौं रुपियाँ घाटा हुने गरेको छ। यस सडकको अधिकांश काम सम्पन्न भएको कान्ति लोकपथ सडक योजनाले जनाएको छ। सडक विस्तारको काम भइरहेको स्थानमा एक/दुई वर्षसम्म पहिरो खस्ने सामान्य भए पनि पहिरो खस्न नदिन र खसेपछि तुरुन्त हटाउन विशेष चासो राख्दै काम गरेको योजनाका इन्जिनियर अमिन्द्र खड्काले बताउनुभयो।

‘सडक कटिङ भएको एक÷दुई वर्षसम्म पहिरो खस्नु सामान्य नै हो। तर यो भनेर हामीले यसलाई बेवास्ता गर्न खोजिएको होइन। पहिरो रोकथाम र सफाइको काम पनि सँगसँगै भइरहेको छ।’ –उहाँले भन्नुभयो। पहिरो रोकथाम र खसेको पहिरो हटाउने योजनाले विज्ञसँग छलफल गरिरहेको र अबको दुई वर्षपछि पहिरो नखस्ने गरी काम गर्ने दाबी गर्दै उहाँले विज्ञसँगको सल्लाहअनुसार पहिरो रोकथाम हुने र अब स्थानीयले पहिरोको समस्या भोग्नु नपर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्