पौवाभञ्ज्याङमा पर्यटकको भीड



गणेश साम्पाङ, पाँचथर
गर्मी मौसम शुरू भएपछि पाँचथर फिदिम बजारका स्थानीयहरूको पहिलो रोजाइ हुन्छ पौवाभञ्ज्याङ बजार। मेची राजमार्गको राकेभञ्ज्याङ फिदिम खण्डमा पर्ने चिटिक्क परेको लेकाली ठाउँ हो पौवाभञ्ज्याङ बजार। समुद्री सतहदेखि ८ हजार २ सय फिटको उचाइमा रहेको रमणीय पौवाभञ्ज्याङनजिकै रहेका साधुटार, सिलौटी, सुकेपोखरीजस्ता पर्यटकीय क्षेत्रले पौवाभञ्ज्याङको महŒवलाई बढाएका छन्।

मेची अञ्चलकै उच्च स्थानको कालोपत्रे बाटो रहेको पौवाभञ्ज्याङ गर्मीबाट मुक्त हुने ठाउँमात्र होइन हिउँदमा हिउँ खेल्न जाने ठाउँसमेत भएको हुँदा पौवाभञ्ज्याङ पर्यटकीय केन्द्रका रूपमा समेत स्थापित भइरहेको छ। सदरमुकाम फिदिमदेखि २५ किलोमिटरको दूरीमा रहेको पौवाभञ्ज्याङ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र पूर्वको पशुपतिनाथ भनेर चिनिने तिम्बुपोखरीसम्मको पदमार्ग शुरू हुने बिन्दुका रूपमा पनि परिचित छ। यस्तो परिचित ठाउँको सदुपयोग गर्न सके अझ यसको महŒव बढेर जाने पौवाभञ्ज्याङका होटल व्यवसायी दाबा शेर्पा बताउनुहुन्छ।

फिदिममा गर्मी बढेपछि फुर्सद पाउनासाथ पौवाभञ्ज्याङतिर हानिनेको लर्को हुन्छ। फिदिमको गर्मी छल्न पौवातिर लाग्नेको भिड बढ्दै गइरहेको छ। शनिबार वा अन्य बिदाको बेलामा पौवाभञ्ज्याङमा नभेटिने मान्छे कमै हुन्छन्। गर्मीबाट छुटकारा पाउन र पौवाभञ्ज्याङको प्राकृतिक छटामा रमाउनेहरू धेरै भेटिन्छन्। पौवाभञ्ज्याङसँगै मिनी मुस्ताङका रूपमा गत वर्षदेखि चर्चामा आएको साधुटारको सौन्दर्यमा रमाउनेको पनि भिड पनि देख्न सकिन्छ। मिल्ने साथी हुन् या मायालु जोडी साधुटारको पोखरीमा हिमालको छायाँ प्रतिबिम्बित हुने गरी सेल्फी खिच्नेहरूको निकै घुइँचो लाग्छ। पौवाभञ्ज्याङदेखि एक किलोमिटरको दूरीमा रहेको साधुटार भर्जिन पर्यटकीय क्षेत्र रहेको भन्नुहुन्छ वरिष्ठ नृत्य निर्देशक कमल राई।

फिदिम आसपासदेखि मात्र होइन, मेची लोकमार्ग हुँदै पाथिभरा देवीको दर्शन गर्न जाने दर्शनार्थीका लागि पनि पौवाभञ्ज्याङको सौन्दर्यले केही क्षण रोक्ने गरेको छ। पौवाभञ्ज्याङबाट देखिने कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमालको दृश्य मोबाइलमा कैद गरेर मात्र उनीहरू अगाडि बढ्छन्।

पौवाभञ्ज्याङको आसपासमा साधुटार मात्र होइन साढे एक किलोमिटरको दूरीमा रहेको सुकेपोखरी अनि किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल सिलौटी पनि नजिकै रहेको छ। समाज सुधारक तथा १६आंै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको समाधिस्थल पनि सिलौटी नै भएको हुनाले निकै टाढाटाढाबाट धार्मिक भक्तजनहरू बेलाबेलामा पौवाभञ्ज्याङमा आउने गर्छन्।

फिदिमको गर्मी अनि कोलाहलबाट केही समय मुक्त र शान्त रहनका लागि पनि पौवाभञ्ज्याङमा पुग्ने गर्छन् फिदिका बासिन्दा। ‘पौवाभञ्ज्याङ आन्तरिक तथा बा≈य पर्यटकका लागि गन्तव्यस्थलका रूपमा स्थापित हुँदै छ।’ –पाँचथर उद्योग वाणिज्य संघका महासचिव नवराज घिमिरे बताउनुहुन्छ।

‘पौवाभञ्ज्याङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न फिदिम नगरपालिकाले गुरुयोजना तयार गरिरहेको छ। त्यस आधारमा अब केही समयभित्र थुप्रै संरचना बन्नेछन्। अनि भने यहाँ आन्तरिक एवं बा≈य पर्यटकको घुइँचो लाग्नेछ।’ –फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ भन्नुहुन्छ। यसअघि पौवाभञ्ज्याङमा मेची–पहाडी पर्यटन विकास तथा प्रवद्र्धन केन्द्रको सहयोगमा पर्यटन सूचना केन्द्र स्थापना भइसकेको छ। ‘गर्मी महिनामा शीतल लिन र हिउँदको समयमा हिउँ खेल्न आउने अनि फागुन–चैतमा सुकेपोखरी सिलौटी क्षेत्रमा फुलेका गुराँस हेर्न आउनेको भिड लाग्ने गरेको हुन्छ।’ –स्थानीय होटल व्यवसायी गंगा राई बताउनुहुन्छ।

सिजन सिजनमा पौवाभञ्ज्याङमा घुम्न आउने पर्यटकका कारण यहाँको व्यापार व्यवसाय निकै बढेको छ। ‘खास गरी यहाँ उत्पादन हुने स्थानीय आलु, तोङ्बा, सुकुटी यहाँ आउने अधिकांशको रोजाइमा पर्छ।’ –होटल व्यवसायी दाबा शेर्पा भन्नुहुन्छ। खास गरी हिउँदमा पानी पर्नासाथ हिउँ पर्ने हुनाले यहाँ हिउँ खेल्नका लागि फिदिम, इलाम, झापा र भारतको सिलीगुडीदेखि आउने गरेको दाबा शेर्पा बताउनुहुन्छ। ‘अरू बेलाभन्दा पनि हिउँ परेका बेलामा यहाँको व्यापार व्यवसाय बढी चल्छ।’ –उहाँ भन्नुहुन्छ।

पौवाभञ्ज्याङ अगार्निक प्राकृतिक छटाको नमुना मात्र होइन, यहाँबाट देखिने पूर्वाञ्चलका ८ वटा जिल्ला अनि सिलौटी डाँडाबाट देखिने उदाउँदो र अस्ताउँदो सूर्यको दृश्य मजाले देखिने ठाउँ पनि रहेको हुनाले यो ठाउँको महŒव अझ बढेको हो।

पौवाभञ्ज्याङ खास गरी पाँचथरकै पर्यटकीय गन्तव्यको संगमस्थल हो। सुकेपोखरी, सिलौटी र साधुटारजस्ता सुन्दरस्थलको केन्द्र पौवाभञ्ज्याङ हो। यहाँ गर्मीमा शीतलतामा रमाउन अनि आसपासका सुन्दर प्राकृतिक छटासित रमाउन, वनभोज खान, सुन्दर हिमालहरूको दृश्यावलोकन गर्नका लागि पर्यटक आउने गर्छन्। यसका साथै धार्मिक आस्थाको केन्द्र सिलौटीमा पूजा गर्न आउने फरक फरक खालका पर्यटकहरू हुने भएकाले पनि पौवाभञ्ज्याङ सबै वर्ग र सम्प्रदायका लागि अनुपमस्थल रहेको हुँदा यसको विशेष महŒव रहेको स्थानीय इथुङ माविका प्रअ असलबहादुर नेम्बाङ बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्