गुठी जग्गामा छाया सेन्टर: लगानीकर्ताको प्रभावका कारण लाचार प्रशासन



नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर्न नसकेको खुलासा भएको छ।

छाया सेन्टरमा ४३ लगानीकर्ता रहेका छन्। गुठीको जग्गा अपचलन भयो भन्ने विषयमा अदालतमा मुद्दा पनि चलिरहेको छ। स्थानीय गुठीप्रेमीहरू छाया सेन्टरले शक्तिको प्रयोग गरी प्रशासनिक मिलोमतोमा जग्गा हडपेको टिप्पणी गर्छन्।

स्थानीयबासीको माग र आन्दोलनको वास्तै नगरी सञ्चालनमा आएको छाया सेन्टरका मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाण्डेले आफ्नी श्रीमती र छोराको नाममा समेत लगानी गर्न लगाएका छन्। इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पाण्डेले श्रीमती प्रतीमा पाण्डेको नाममा १ करोड २२ लाख र छोरा सिद्धान्तबहादुर पाण्डेको नाममा १९ लाख ७२ हजार रुपियाँ लगानी गरेका छन्।

छाया सेन्टरमा ४३ लगानीकर्ता रहेका छन्। गुठीको जग्गा अपचलन भयो भन्ने विषयमा अदालतमा मुद्दा पनि चलिरहेको छ। स्थानीय गुठीप्रेमीहरू छाया सेन्टरले शक्तिको प्रयोग गरेर प्रशासनिक मिलोमतोमा जग्गा हडपेको टिप्पणी गर्छन्।

स्रोतका अनुसार संस्थापक सञ्चालक रहेका पाण्डेले आफन्तको नाममा समेत लगानी गर्न लगाएका छन्। छाया सेन्टरमा करिब आधा दर्जन इन्भेस्टमेन्ट कम्पनीले समेत लगानी गरेको खुलेको छ। यसमा राजधानी इन्भेस्टमेन्ट फन्ड प्रालिले २ करोड २४ लाख, हिमालयन इन्फास्ट्रक्चर फन्ड लिमिटेडले ३ करोड ४८ लाख, पीएमएफ इन्भेस्टमेन्ट प्रालिले ४८ लाख र स्याकार ट्रेडिङ कम्पनी प्रालिले ३ करोड ५० लाख रुपियाँ लगानी गरेको खुलेको छ।

पूर्वप्रधानसेनापति, उच्च पदस्थ कर्मचारी, राजनीतिज्ञ, बैंक सञ्चालक, उद्योगपतिलगायतले लगानी गरेको सेन्टरमा पूर्वप्रधानसेनापति प्रज्वलशमशेर जबरा र श्रीमती सिन्धु राणाले २५–२५ लाख रुपियाँ लगानी गरेको खुलेको छ। त्यस्तै पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतका छोरा रक्षक महतले ५० लाख रुपियाँ लगानी गरेको खुलेको छ। नक्सा स्वीकृत गरी निर्माण सम्पन्न दिने निकाय काठमाडौं महानगरपालिकाले गुठीको जग्गामा बनेको भवनको निर्माण सम्पन्न दिइसकेको छ। सेन्टरले स्थानीयले आन्दोलन जारी राखेको अवस्थामा सो कम्पनीले सबैलाई पेलेर प्रचारबाजी गरिरहेको छ। पाण्डे अध्यक्ष रहेको सेन्टरको प्रबन्ध निर्देशकमा महेश्वरप्रकाश श्रेष्ठ, बजरा निर्देशकमा सुमनविक्रम पाण्डे, निर्देशकमा दीपकमान शेरचन र सुहृदराज घिमिरे रहेका छन्। कम्पनीका संस्थापक सञ्चालक रहेका पाण्डेले ७ करोड ७८ लाख ३४ हजार, दीपकमान शेरचनले ४ करोड ७३ लाख, प्रबन्ध निर्देशक एवं संस्थापक सञ्चालक महेश्वरमान श्रेष्ठले ३ करोड ३० लाख लगानी गरेका छन्।

त्यसै गरी संस्थापक सिद्धान्तराज पाण्डेले ३३ लाख, योगेन्द्रबहादुर शाक्यले ९४ लाख, विकास थापाले ८३ लाख र प्रजन्य राजभण्डारीले २ करोड ५० लाख रुपियाँ लगानी गरेको खुलेको छ। सेन्टरमा संस्थापक सञ्चालक तीन र संस्थापक चार गरी सात जना रहेका छन्। करिब ५ अर्ब रुपियाँमा तयार भएर सञ्चालनमा आएको सेन्टरले सिंह सार्थ गरुड भगवान बहाल गुठीको नाममा रहेको जग्गामा १५ तले भब्य भवन निर्माण गरेको हो।

अध्यक्ष पाण्डेले आफ्नी आमा छायादेवीको नाममा गुठीको जग्गामा ‘छाया सेन्टर’ खोलेकोमा गुठी सञ्चालकले सुरुदेखि नै विरोध गरे तापनि शक्ति र स्रोतका अगाडि प्रशासन निरन्तर झुकेको छ। करिब १२ रोपनी क्षेत्रफल ओगटेको सो जग्गा हडपेर महल बनाउँदा सरकारी निकाय मौन बसेको छ। स्थानीयले भवनको जग हाल्दादेखिनै विरोध गर्दै आएका छन्। स्थानीयले भूमिव्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल, पूर्वमन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायत दर्जनौं नेतालाई भेटेर गुठीको जग्गा फिर्ता गर्न माग गर्दासमेत बेवास्ता भएको छ।

भवनको नक्सा स्वीकृत हुनुअघि अनुगमन गर्ने निकाय पुरातत्व विभागले भवनको कुनै कागजात नभएका कारण समस्या परेको बताउँदै आएको छ। भवन निर्माणका विषयमा राष्ट्रिय पहिचान संघर्ष समितिले आन्दोलन जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्