विमानस्थलमा देश–दर्शन



नेपालमा पर्यटन प्रवद्र्धनको कुरा गर्दा आवागमनका विकल्पलाई पहिलो प्राथमिकतामा राखेर हेरिन्छ । घरभित्र जति सुन्दर वस्तु भए पनि ढोकामा अवरोध छ भने भित्र कोही पस्दैनन् । सुरक्षित गन्तव्यमा मात्र पर्यटक आउँछन्, त्यसको पहिलो आधार भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । पर्यटकका लागि ढोका नै विमानस्थल हो भन्दा पनि फरक पर्दैन । त्यसो त, अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटक मात्र आउने–जाने गर्छन् भन्ने पनि होइन, स्वदेशी–विदेशी सबैका लागि बाहिर जान–आउन अन्तर्राष्ट्रिय विमानस्थल नै चाहिन्छ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक्लो छ जसले सम्पूर्ण वैदेशिक पर्यटनको बोझ बोकिरहेको छ । रौतहट र पोखरामा बन्ने भनेका यसका विकल्पहरू आजसम्म पूर्वाधारकै चरणमा छन्, योजना बन्ने र संशोधन हुने क्रममै देखिन्छन् । यस्तो बेला सबैको ध्यान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा केन्द्रित हुनु स्वाभाविकै छ । खास गरी राष्ट्रपति–प्रधानमन्त्री जस्ता उच्चपदस्थ व्यक्तिहरू विदेश जाँदा–आउँदा एक्लो अन्तर्राष्ट्रिय विमानबाट यात्रा गर्ने सर्वसाधारणले पाउने गरेको पीडाका कारण पनि यस द्वारको नाम विवादको विषय बन्ने गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अहिले समाचार बनेको छ । धावनमार्ग मर्मत हुने क्रम अघि बढिरहेका कारण यात्रु प्रभावित भएका छन्, विमान रोकिएका छन् । तर, यो काम अब एक साताभित्रै सकिने बताइएको छ । यही असार १५ गतेभित्र धावनमार्गको कालोपत्रे काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले बताएको छ । तर, नेपालमा मनसुन भित्रिसकेको छ, मौसमले साथ दिएको खण्डमा मात्र भनेकै समयमा काम सकिन सक्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल भएको पुरानो धावमार्गको कालोपत्रे फालेर नयाँ ढलाइ गर्दै छ । करिब १ हजार ५ सय मिटर पिच गर्ने काम सकिएको छ र अब यत्ति नै काम पूरा गर्न बाँकी रहेको पनि जनाइएको छ । २०३२ सालमा बनेको धावनमार्गको ४४ वर्षपछि स्तरोन्नति भएको हो । २२ घन्टा सञ्चालनमा रहेको देशको एक्लो अन्तर्राष्ट्रिय विमानस्थललाई राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरी धावनमार्ग बनाउने काम भइरहेको छ । चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलजी इन्टरनेसनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रुपियाँको लागतमा धावनमार्गको स्तरोन्नतिको काम गर्दै आएको छ ।

दैनिक ४ सय उडान अवतरण हुने विमानस्थल बन्द गरी काम थाल्न सामान्य तयारीले पूरा हुने विषय होइन । यदि जन, श्रम र समयको लगानीपछि २४सै घन्टा विमानस्थल सञ्चालन गर्न सकियो भने सबैका लागि खुसीको विषय हुनेछ । बारा जिल्लाको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अझै विवादमै देखिन्छ । तर, विमानस्थललाई मुलुक चिनाउने अन्तर्राष्ट्रिय द्वार स्वीकार गरिसकेपछि सानातिना कुरामा अल्झिनु बुद्धिमानी हुन्न ।

विमानस्थललाई नेपाल परिचयको आधार दिने, नेपाली मौलिकता झल्किने गरी सजाउने काममा सरकारको ध्यान गएको देखिन्छ, जुन सराहनीय छ । तर, यस विमानस्थलले मात्र देश दर्शन गराउन सक्तैन, वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउन हतार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्