अझै मर्मत भएन थलीखण्डको हिलो बाटो, स्थानीयले मेयरलाई हिड्न बाध्य बनाए



काठमाडौं । विगत चार वर्षदेखि विस्तारको क्रममा रहेको चावहिल साँखु अन्तर्गतको बाटो अझै सम्पन्न नभएको विरोधमा आज विहानदेखि स्थानीयले बजार तथा यातायात बन्द गरेका छन् । नगरपालिकाले पटक–पटक दिएको अल्टिमेटम पालना नगरेका कारण बाटो बन्द गर्नु परेको कागेश्वरी मनोहरा नगरपालिका वडा ४ र ५ सडक निर्माण संघर्ष समितीका अध्यक्ष मनिस सिंखडाले बताए ।

लामोसमयदेखि अस्तब्यस्थ रहेको बाटो निर्माणमा कसैले चासो नदेखाएको भन्दै थलीखण्डमा स्थानीयले विरोध जनाएका हुन् । बाटो निर्माण सुरु भएको यतिका वर्षसम्म पनि नबन्नु र वर्षाका बेला सडक निर्माण सुरु भएको काराणले स्थानीय निरास बनेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य कार्यालय रहेको थली सडकखण्डको प्रयोग शंकरापुर नगरपालिकादेखि मेलम्चीसम्मका मानिसले गर्दै आएका छन् । यो बाटोमा समस्या आएसँगै दैनिक २–३ वटा दुर्घटना भइरहेका छन् ।

सडकको यस्तो अवस्था रहेको समयमा कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले आफ्नो घर र अफिस आवतजावत गर्ने समयमा सोही मुल बाटो प्रयोग नगरी नेपाल ट्रस्टको नाममा रहेको गोकर्ण रिसोर्ट भित्रको बाटो प्रयोग गर्न थालेपछि स्थानीयले आज उनलाई बाटोमै रोकेर हिलो बाटोबाट हिड्न बाध्य बनाएका थिए ।

स्थानीय नगरपालिकाका मेयरआफै सडकमा उपस्थित भई बाटो बन्ने प्रतिवद्धता गरेका छन् । तर सर्घष समितिका अध्यक्ष सिंखडाले भने सडक मर्मतको काम सुरु नभएसम्म सडक सूचारु नगरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्