समाज विकासको मूल आधार शिक्षित युवा



भूषण दाहाल २९ वर्षे युवा हुनुहुन्छ । भविष्यलाई उज्वल बनाउन आफ्ना साथीहरु विकसित मुलुकतिर लागिरहेका बेला उहाँ भने नेपालमै रहेर शैक्षिक, भौतिक र सामाजिक विकासमा योगदान दिइरहनुभएको छ । किड्स अफ काठमाडौं नामको संस्थाको नेतृत्व गर्दै उहाँ सीमान्तकृत वर्गका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्ने कार्यका लाग्नुभएको छ ।

नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पछि उहाँ विद्यालय पुनःनिर्माण, छात्रवृत्तिका अवसरको परिचालन, डिजिटल शिक्षाको प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचानका क्षेत्रमा काम गर्दै आउनुभएको छ । प्रस्तुत छ, उहाँसँग नेपाल समाचारपत्रले गरेको छोटो कुराकानीः

किड्स अफ काठमाडौं कस्तो संस्था हो ?
किड्स अफ काठमाण्डौं गैरनाफामूलक संस्था हो जुन सिमान्तकृत वर्गका बालबालिकाहरुको लागि सन २०१० देखि कार्यरत छ । समाजको विकासको मूल आधार भनेको शिक्षित युवा हो । उचित शिक्षाको माध्यमबाट नै कुनै पनि व्यक्तिलाई समाजको विकासको लागि प्रेरित एवं उत्तरदायी बनाउन सकिन्छ भन्ने विश्वासका साथ यो संस्था अघि बढिरहेको छ ।

यसले कहाँ–कहाँ काम गर्दैछ ?
यो संस्थाले सन् २०१० मा एनवाईसीडीएस पुनःस्थापना गृहमा रहेका ४९ बालबालिकाको सहायता गरी आफ्नो कार्य सुरु गरेको थियो । त्यसपछि हामीले आफ्नो कार्य बिस्तार गर्दै विशेष आवश्यकता भएका बालबालिका, एचआइभी र एडस संक्रमित बालबाालिका र युद्धग्रस्त परिवारहरुको लागि पनि काम गर्न थाल्यौं । २०७२ वैशाखमा आएको भूकम्पले अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि नकारात्मक असर पु¥यायो । त्यसपश्चात हामीले हाम्रो ध्यान भूकम्पले क्षति पु¥याएका सरकारी विद्यालयहरुको पुनर्निर्माणमा केन्द्रित ग¥यौं ।

हालसम्म रामेछाप, सिन्धुपाल्चोक र काभ्रेमा गरी सात विद्यालयको पुनःनिर्माण गरिसकेका छौं । विद्यालय निर्माणको साथै समय सान्दर्भिक शिक्षा प्रदान गर्ने हेतुले यी विद्यालयहरुलाई निरन्तर सहयोग पु¥याउदै आएका छौं । भवन निर्माणका साथै सफा पानीको सुविधा, कम्प्युटर, इन्टरनेट, यो चलाउनको लागि आवश्यक तालिम, प्रत्येक विद्यार्थीलाई पट्याउन मिल्ने सोलार लाइटआदि प्रदान गर्दै आएका छौं । २०७४ मा सबैभन्दा योग्य छात्र–छात्राका लागि छात्रवृत्तिको कार्यक्रम पनि सुरु ग¥यौं ।

लक्ष्य प्राप्तिको लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुका साथ साझेदारी गर्दै आएका छौं । आफ्नो बजेटमा रही उचित भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्नका लागि अमेरिकी इन्जिनियरिंग कन्सलटेन्टका साथ काम ग¥यौं । विद्यालयको दिगो भविष्यको लागि हाल हामी रेम्ड अर्थ सोलुसनसंग सहकार्य गरिरहेका छौं ।

हामी स्थानीय संघ–संस्था जस्तै, स्मार्ट पानी, ओएलई नेपाल र बुक्स फर चेञ्जसँग पनि काम गरिरहेका छौं । यी संस्थाहरुले हामीलाई शुद्ध पानीको व्यवस्था गर्न आर्थिक सहायताका साथै ‘वास’ तालिम, विद्यालयको लागि आवश्यक कम्प्युटर, अफलाइन डिजिटल पुस्तकालय, सुविधासम्पन्न पुस्तकालयका साथै पुस्तकालय व्यवस्थापन तालीमको लागि आवश्यक सहयोग प्रदान गर्दै आएका छौं । त्यस्तै अन्तर्राष्ट्रिय संस्था जस्तै जाइका, ई–एडुकेसनसंग पनि सहकार्य गर्दै आएका छौं । यसले शैक्षिक सामाग्रीको अवधारणा बनाउन सहायताका साथै शिक्षकहरुको सीप विकासको लागि आवश्यक तालीम प्रदान गर्न सघाएको छ । र्दै आएका छन् । त्यस्तै फण्डासन हेयर्सको सहायता पनि प्राप्त छ ।

अहिलेसम्म कति विद्यार्थी लाभान्वित भए त ?
यो संस्था साथै अन्य विभिन्न पार्टनर संस्थाको सहायताले अहिलेसम्म सात वटा विद्यालयको निर्माण गरिसकेका छौं । हामीले ४४ वटा कक्षा कोठा, २ सय ७२ वटा टेबल, ७ वटा पुस्तकालय, ७ वटा पानी सफा गर्ने प्रविधि, २ हजार २ सय १९ वटा एम पावर लाइट, १ हजार ३ सय वटा विद्यालयलाई चाहिने सामग्री र ५० हजारा किताबको व्यवस्था गरेका छौं जसबाट करिब १ हजार ८ सय ७२ विद्यार्थी लाभान्वित भएका छन् ।

तपाईहरुले जेठ मसान्तमा राजधानीमा दुई दिने कार्यशाला आयोजना गर्नुभयो, के उपलव्धि हात लाग्यो त ?
विद्यालयमा प्रविधिमूलक शिक्षाको महत्व, त्यसको चुनौती र अवसरको बारेमा अन्तरक्रिया भयो । त्यस्तै अध्ययन–अध्यापनको लागि सूचना सञ्चार प्रविधिको भूमिकाको बारेमा छलफल ग¥यौं र कार्यक्रममा सहभागी शिक्षकहरुको लागि कक्षाकोठामा भिडियो व्याख्यानको प्रयोग कसरी गर्ने भन्ने बारेमा तालीम पनि प्रदान ग¥यौं ।

विशेषज्ञहरुद्वारा हाम्रो देशको शिक्षा प्रणाली, शैक्षिक पहुँच, शिक्षाको गुणस्तर र शैक्षिक समस्या समाधानका लागि सूचना, सञ्चार प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्नेजस्ता अहिलेको जल्दोबल्दो प्रश्नहरुको व्यावहारिक जवाफ प्रदान गरियो । शिक्षकहरुको उपलब्धता र प्रेरणाको सन्दर्भमा र कसरी विभिन्न तत्वहरुले उनीहरको शिक्षण प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ भन्ने बारेमा विभिन्न मतहरु प्रस्तुत गरिएको थियो ।

यसले शिक्षकलगायतका सरोकारवालालाई मार्गदर्शन गर्ने कार्यमा महत्वपूर्ण उपलव्धि हासिल गरेको हाम्रो प्रारम्भिक अनुमान छ । विस्तारमा अनुगमनपछि मात्र कार्यशालाको पूर्ण उपलव्धि भन्नसकिनेछ ।

प्रतिक्रिया दिनुहोस्